तिज गीतमा ५ करोड लगानी, आम्दानी शून्य

मकवानपुर । तिजका गीतमा यो वर्ष अहिलेसम्म करिब पाँच करोड रुपैयाँ लगानी भइसकेको छ । करिब दुई सय गीत रेकर्ड तथा छायांकन हुँदा पाँच करोडभन्दा धेरै लगानी भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अहिलेम्म तिजका करिब डेढ सय गीत बजारमा आइसकेका र ५० भन्दा धेरै गीत छायांकनमा रहेको जनाएको छ ।
“युट्युबमा राख्न मात्रै सस्तो भिडियो बनाउँछुभन्दा पनि डेढदेखि दुई लाख रुपैयाँ लाग्छ । तर यति लगानीमा बनेको भिडियो राम्रो हुँदैन,” राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी भन्छन्, “डेढदेखि दुई लाख लगानीमा कमै मात्रै भिडियो बन्छन् ।” तीनरचार लाख रुपैयाँ लगानीमा भिडियो बन्ने गरेको उनको भनाइ छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप–महासचिव शंकर बीसी पनि हालसम्म डेढ सयभन्दा धेरै तिजका गीत सार्वजनिक भइसकेको र अझै केही आउने क्रममा रहेकाले ठूलो लगानी हुनै बाँकी रहेको बताउँछन् । तिज आउन अझै लामै समय रहेकाले गीत रेकर्डिङ गर्नेको संख्या पनि ठूलो रहेको शंकर बताउँछन् ।
यो वर्ष शंकरले तिज गीतका ३२ वटा भिडियो निर्देशन गरिसकेका छन् । “तिज गीतका ३२ वटा भिडियो निर्देशन गरिसकेँ । आज पनि दुईवटा भिडियो निर्देशन गर्दै छु,” उनी भन्छन्, “तिजका २० वटा गीतका भिडियोमा अभिनय गरिसकेँ ।”
राम्रो गीत तथा भिडियो निर्माण गर्न चार÷पाँचलाख रुपैयाँ लाग्ने गायिका सुनीता दुलाल बताउँछिन् । उनले दुई दिनअगाडि सार्वजनिक गरेको गीत ‘बेसी मेलैमा।।।’ मा प्रोमोसनसहित करिब चार लाखभन्दा धेरै लागेको बताइन् ।
“बजारमा रुचाइएका कलाकार र आवाज राख्ने र गीत, संगीत र रेकर्डिङमा कम्प्रमाइज नगरी काम गर्ने हो भने ठूलै लगानी हुन्छ,” सुनीता भन्छिन्, “मैले भिडियोमा नायक दिलीप रायमाझी र नायिका नम्रता सापकोटालाई लिएर भिडियो तयार पार्दा करिब झन्डै पाँच लाख रुपैयाँ खर्च भयो ।”
गीत र भिडियोमा मोटो रकम लगानी भइरहे पनि प्रतिफल भने शून्य प्रायः रहेको प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझी बताउँछन् । “मेला–महोत्सव र सांगीतिक कार्यक्रम कोरोनाका कारण ठप्प भएको अवस्थामा गीतको लगानी उठ्ने सम्भावना छैन,” पूर्वअध्यक्ष दुर्गा भन्छन्, “खल्तीबाट पैसा झिकेर लगानी गर्ने तर त्यसको रिटर्न्स आउँदैन । तर पनि अर्कोले निकाल्यो मैलेचाहिँ किन ननिकाल्ने भन्ने देखासिकी गर्ने मात्रै हो ।” सके स्पोन्सर खोज्ने नसके आफैं भए पनि लगानी गरेर डुबाउने काम भइरहेको उनको भनाइ छ ।
गुगल एडसमेत घटेको अवस्थामा पछिल्लो समय युट्युबबाट समेत निकै कम पैसा आइरहेको एग्रिगटेर कम्पनीहरू बताउँछन् ।
तिजका गीतमा लगानी आत्मरति मात्रै भएको प्रतिष्ठानका अध्यक्ष रमेशको भनाइ छ । “करोडको नजिक भ्युज पुगेका गीतले मात्रै हो लगानीको केही प्रतिशत कमाउने । लाखौं भ्युज जाने गीतै कम हुन्छन्,” उनी भन्छन्, “यस्तो अवस्थामा पनि यति धेरै गीतमा लगानी गर्नु आत्मरति मात्रै हो ।”
कोरोनाको जोखिमका कारण सरकारले छायांकन गर्न अनुमति नदिए पनि प्रशासनसँग अनुमित लिएर कलाकारहरूले सुटिङ गरिरहेका छन् ।बाह्रखरी डटकमबाट