कोरोनाले सीमावारिका नेपाली बजारलाई फाइदा, पारि जाने ग्राहक रोकिए

लोकखबर
२२ आश्विन २०७७, बिहीबार १४:४३

मकवानपुर । कोरोनाका कारण यतिबेला सीमावर्ती नेपाली क्षेत्रका बजारमा बिक्री बढेको छ । व्यवसाय पनि चाडबाड नजिकिएसँगै बढेको व्यवसायीहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीका कारण प्रदेश १ का भारतीय सीमावर्ती बजारनजिकका सीमा सिल छन् । यसको प्रत्यक्ष फाइदा भने स्वदेशी बजारमा परेको छ । ठूलो संख्यामा नेपाली पुग्‍ने र अधिक खरिददारी हुने जोगबनी बजारसम्म पुग्‍न कठिन भएपछि अहिले सीमावारिका बजारमा चहल-पहल बढेको हो ।

लकडाउनका कारण लामो समय बन्द रहेका नेपालतर्फको बजार र पसल खुलिसकेका छन् । यातायात पनि नियमित भएका छन् । नेपाली बजारमा बिस्तारै दसैंको चहलपहलसमेत बढेको छ । व्यापारीका अनुसार भारतीय सीमा बन्द भएका कारण सर्वसाधारण स्वदेशी बजारमा किनमेल गर्न आउने थालेका छन् । विगतमा जोगबनी बजारमा जानेहरू अहिले स्वदेशी बजारमै किनमेल गर्न थालेका छन् । विराटनगरमा पनि दसैंको किनमेल गर्ने मानिसको भिड देखिन थालेको छ ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगरमा व्यापार बिस्तारै बढ्ने अवस्था आएको बताए । सीमा सिल भएकाले वारि नै किनमेल गर्न आउने मानिस दैनिक बढ्न थालेको उनले सुनाए । पहिले जोगबनीसम्म पुगेर दसैं-तिहारको‌ किनमेल गर्नेहरु यतै अडिन थालेको व्यापारीहरूले बताएका छन् । जोगबनीमा नेपाली ग्राहकले दैनिक ४ करोड रुपैयाँसम्मको किनमेल गर्ने गरेको अनुमान लगाइन्थ्यो ।

जलजला मोडका व्यापारी जबार साह स्वदेशी बजारमा चहलपहलसँगै व्यापार पनि बढ्न थालेको बताउँछन्। लकडाउन र लामो निषेधाज्ञाका कारण समस्यामा परेका व्यापारीलाई केही राहत पुगेको साहले सुनाए । विराटनगरमा साल्ट ट्रेडिङ कर्पोरेसन र केही पसलले ग्राहक आकर्षित गर्न सुपथ मूल्यसहितका योजना ल्याएका छन् । सुपरमार्केट र मलहरुमा पनि चहलपहल देखिन थालेको छ ।

विराटनगरमा लताकपडा र उपभोग्य वस्तु किनमेल गर्न ग्रामीण भेकबाट मानिस आउन थालेका छन् । भारत बिहारको जोगबनी र पश्चिम बंगालको पानीटंकी तथा सिलीगुडीसम्म नेपालीहरु दसैं किनमेल गर्न जाने गर्छन् ।

मोरङ व्यापार सङ्‍घका अध्यक्ष प्रकाश मुन्दडा अहिले स्वदेशी बजारलाई पहिलेकै अवस्थामा ल्याउन सहयोग पुग्‍ने वातावरण आएको बताउँछन् । सरकारले व्यवसायीलाई हित हुनेगरी काम गर्न मुन्दडाले सुझाव दिएका छन् । सस्तोमा किनमेल गर्न पाउने आशमा भारतीय बजार जाने ग्राहक सीमावर्ती नेपालीले बजारमै किनमेल गर्दा लकडाउनले पुगेको व्यापार घाटा कम गर्न सहयोग पुग्‍ने व्यापारी बताउँछन् ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*