प्रहरी हवल्दार र जवानलाई ऋणको बोझ, ३७ प्रतिशतको हुँदैन बचत

लोकखबर
२० कार्तिक २०७७, बिहीबार १२:०२

मकवानपुर । प्रहरी हवल्दार र जवानलाई ऋणको बोझ रहेको पाइएको छ । सेवा प्रवेश गरेपछि उनीहरुमा ऋणको बोझ रहेको पाइएको हो । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

सर्वेक्षणमा सहभागी प्रहरी हवल्दार र जवानहरुले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको पाइएको छ । जसमा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत महिला प्रहरी कर्मचारीले अन्य प्रदेशको तुलनामा बचत गर्ने गरेको उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, “समग्रमा ३७ प्रतिशत सहभागीले कुनै किसिमको बचत नहुने गरेको र अधिकांशले जागिरको सुरुवाती समयमा न्यून बचत हुने गरेको बताएका थिए । प्रदेशगत रुपमा विश्लेषण गर्दा प्रदेश १ का ७० प्रतिशत सहभागीहरुले बचत गर्ने गरेको पाइएको छ ।”

आफ्नो जागिरबाहेक अन्य पारिवारिक आयस्रोत भएका २३ प्रतिशत रहेको पाइएको थियो । जसमा वागमती प्रदेशमा २७ प्रतिशत र प्रहरी प्रधान कार्यालयमा २६ प्रतिशत सहभागी छन् । पारिवारिक अन्य आयमा कृषि ४१ प्रतिशत रहेको पाइएको छ । सहभागीहरुमध्ये ६४ प्रतिशतलाई सेवा प्रवेशपश्‍चात ऋण लागेको र उक्त ऋण घर निर्माण तथा जग्गा खरिदका लागि लागेको पाइएको छ । प्रदेशगत रुपमा विश्लेषण गर्दा प्रदेश २ मा कार्यरत सहभागीहरुमध्ये अधिकतमले घर निर्माण तथा जग्गा खरिदका लागि ऋण लिएको पाइएको छ । सर्वेक्षणमा सहभागीहरुले तलब, रासन, भत्ता आदि समयानुकूल वृद्धि हुनुपर्ने, सबै क्षेत्रमा समानुपातिक सेवा प्रदान गर्दै भविष्यको सुनिश्चित गरी समयानुकूल सेवा सुविधामा वृद्धि गर्दै लैजानुपर्ने र परिवारको न्यूनतम आवश्यकता परिपूर्तिको जिम्मा विभाग वा सरकारले लिनुपर्ने माग गरेका थिए ।

यस्तै सर्वेक्षणका क्रममा सहभागीहरुलाई हालसम्म कार्यरत रहँदा के कुराले असन्तुष्ट हुनुभयो भन्ने सन्दर्भमा २६ दशमलव ८७ प्रतिशत सहभागीहरुले कार्य वातावरण नराम्रो भएकाले असन्तुष्ट रहेको बताएका थिए । यस्तै बिदामा असुविधा (२०.७२ प्रतिशत ), अव्यवस्थित ड्युटी प्रणाली(१३.७९ प्रतिशत), भेदभाव (१२.३४ प्रतिशत), घरपरिवारबाट टाढा रहनुपर्ने अवस्था (१०.८९ प्रतिशत), कार्यालयको भौतिक पूर्वाधार राम्रो नभएको (६.७ प्रतिशत), गुनासोको सम्बोधन नभएको (४.५ प्रतिशत), कामको मूल्याङ्‍कनको अभाव (२.१५ प्रतिशत), सरुवा र बढुवामा असन्तुष्टि )२ प्रतिशत) आदि कारणले असन्तुष्ट भएको बताए ।

नराम्रो कार्य वातावरणअन्तर्गत कार्य सम्पादनमा अनावश्यक दबाब, द्वन्द्वको अवस्था, दुर्गम क्षेत्र, भाषागत समस्या, अतिरिक्त क्रियाकलापको प्रबन्ध नभएको, बाह्‍य दबाब, अत्यधिक ड्युटी, यातायातको असुविधा भएको उनीहरुले उल्लेख गरेका छन् ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*