वैज्ञानिक वनका काठ फुकुवा गर्न फेकोफनको माग

लोकखबर
१७ माघ २०७७, शनिबार ००:४४

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत् काटिएका काठको बिक्री वितरण र ओसारपसार तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।

‘विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अन्तर्गत् सामुदायिक वनमा कटान गरी बिक्री वितरण हुन बाँकी रहेका काठको ओसारपसारको निर्णय तत्काल गरियोस्’, फेकोफनकी अध्यक्ष भारती पाठकले सञ्चारकर्मीसित भनिन्, ‘सालको काठ दाउरा बिक्री वितरणमा लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेकामा सरकारलाई हार्दिक धन्यवाद दिन्छु ।’ वैज्ञानिक वन कार्यक्रमअन्तर्गत् काटिएका लाखौं सीएफटी काठ ९ महिनादेखि जंगल र घाटगद्दीमा अलपत्र परेको छ ।

मन्त्रिपरिषद्को माघ ११ गतेको बैठकले वैज्ञानिक वनबाहेक सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन र साझेदारी वनमा कटान भई घाटगद्दीमा रहेका र वन क्षेत्रमा विभिन्न अवस्थामा रहेको काठ, दाउरोको बिक्री वितरण र ओसारपसार भने फुकुवा गर्ने निर्णय गरेको थियो ।

फेकोफनले सामुदायिक वनलाई असफल गराउन २०७१ सालदेखि कार्यविधिमार्फत सञ्चालनमा ल्याइएको वैज्ञानिक वन कार्यक्रम खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेको छ । तराईका ७ सय ६१ सामुदायिक वन र साझेदारी वनमा सरकारले वैज्ञानिक वन कार्यक्रम लागू गरेको थियो । स्वदेशमै काठको उपत्पादन बढाउने उद्देश्यले सरकारले वैज्ञानिक वन कार्यक्रम अघि बढाएको थियो । फेकोफनले भने वैज्ञानिक वनका नाममा सामुदायिक वनमा सरकारी र बाह्य पक्षबाट हस्तक्षेप गरी रुख काटिएकाले उक्त कार्यक्रम उपभोक्ताको हितमा नभएको दाबी गरेको छ ।

वैज्ञानिक वनको कार्यविधि खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र सहसचिवहरु तथा वन प्राविधिकहरु भने सकारात्मक छैनन् । सचिव ओलीललगायतले परिमार्जन गरेर भए पनि उक्त कार्यक्रमलाई सूचारु गर्नुपर्ने पक्षमा वकालत गरिरहेका थिए ।

मन्त्रालयको रुची नभए पनि अहिलेका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले वैज्ञानिक वन कार्यक्रमप्रति विगतदेखि नै विपक्षमा खडा भएका थिए । केही दिनअघिको पत्रकार सम्मेलनमा मन्त्री आलेले वैज्ञानिक वनका नाममा ८० वर्षको चक्र बनाएर हरिया र धेरै रुख काटिएकाले आफूले खारेजको प्रस्ताव लगेको बताएका थिए ।

सरकारले गत जेठ १५ देखि देशभरको काठ ओसारपसार, बिक्री वितरण र ढुवानीमा रोक लगाएको थियो । काठ रोक्दा ८० अर्ब रुपैयाँ लगानी भएको काष्ठ व्यवसाय चौपट भएको वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) का अध्यक्ष श्याम ढकाल बताउँछन् । इकान्तिपुरबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*