बागमती प्रदेश प्रमुख शर्मा सिमान्त समुदायमा, सुरीबस्ती पुगेर बुझे सुरेलका सवाल ! 

लोकखबर
२० फाल्गुन २०८०, आईतवार १९:२६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशका सिमान्त समुदायको उत्थानको अभियानमा छन् । प्रमुख शर्माले प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगी उनीहरुको सवालबारेमा जानकारी हासिल गर्दै आएका छन् । केही दिन अघि शर्मा दोलखाको गौरी शंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित सुरी बस्ती पुगे । गौरीशंकर गाउँपालिका कार्यालयले प्रदेश प्रमुख शर्मालाई सिमान्त समुदाय सुरेलसंग अन्तरक्रिया गर्ने व्यवस्था मिलायो । देशकै एकमात्र सुरेल समुदायको बसोबास रहेको सुरीमा पुग्दा सुरेलहरुले प्रदेश प्रमुख शर्मालाई चिसो मौसममा न्यायो स्वागतमात्र गरेनन् आफ्ना यावत् सवालबारे अवगत गराए ।

सुरेल जाती उत्थान समाजका अध्यक्ष विकास सुरेलले प्रदेश प्रमुख आफ्नो सवालबारे चासो राख्दै घरदैलोमै आइपुगेकोमा खुशी व्यक्त गरे । ‘हाम्रा विषयबारे चासो लिँदै यहीँसम्म प्रदेश प्रमुख आउनु खुशीको कुरा हो । हाम्रा समस्या, गुनासा र सवालबारे आगामी दिनमा आवश्यक सहयोग पाइन्छ भन्ने आशा छ ।’ उनले भने । सुरेल समुदाय विभिन्न कठिनाई झेल्दै जीवनयापन गरिरहेको उनले सुनाए । ‘शिक्षा, स्वास्थ्य, राजगारीजस्ता कुरामा हामी पछाडी परेका छौं ।’विकासले भने,‘हाम्रो भाषा तथा संस्कृति लोप हुने अवस्थामा गइरहेका छन्, सरकारले यसतर्फ सोचोस् भन्ने चाहान्छौं ।’ उनले आफ्नो समुदायलाई राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने तर उचित संरक्षणका लागि ध्यान नदिने गरेको गुनासो पोखे । ‘राजनीतिक कारण नै हामी सुरेलहरुलाई आपसमा विभिन्न कित्तामा विभाजन गर्न खोजिएको छ ।’ उनको धारणा छ, ‘तर चुनावमा भोट हाल्ने विषय र सिङ्गो समुदाय उत्थानको विषय फरक हो भन्ने कुरा हामी सबैले बुझ्नु पनि पर्दछ ।’ बागमती प्रदेश सरकारले आगामी दिनमा ल्याउने नीति तथा कार्यक्रममा सुरेल समुदायको उत्थानका लागि आवश्यक कार्यक्रम समेट्न सहजीकरण गरिदिनका लागि प्रदेश प्रमुख शर्मालाई उनले आग्रह गरे ।

सुरेल समुदायका अर्का अगुवा विनोद सुरेलले आफूहरुलाई दिर्घकालीन फाइदा पुग्ने खालका कार्यक्रम आवश्यक भएको बताए । ‘विभिन्न प्रकारका तालिम त महिनामा पन्ध्र दिनजसो यो समुदायमा हुने गरेको छ तर दुःखको कुरा तालिमका लागि तालिमजस्तो मात्र भइरहेको छ ।’ उनले भने, ‘व्यवसायिक रुपमा अघि बढ्ने खालका शीपमुलक तालिमको हामीलाई खाँचो छ ।’ आफूहरुको मुख्य पेशा कृषि भएपनि बाँस तथा कपडाजन्य उत्पादनका शीपमार्फत आत्मनिर्भर बन्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘हामीहरुको शीपको प्रयोगका लागि एउटा उद्योग नै स्थापना गरिए आर्थिक रुपमा प्रगति हुने थियो ।’ उनले भने,‘यसो गर्न सकिए हामीहरुमा स्वरोजगारीको अवस्था सिर्जना हुने थियो भने सुरेल ब्रान्डकै रुपमा हामीले गरेका उत्पादनको पहिचान पनि ।’

सुरेल समुदायका बालबालिका शिक्षाको अवसरबाट बञ्चित नहोउन् भन्न स्कुल तथा उच्च शिक्षाका लागि विशेष सहयोगका कार्यक्रमहरु आफ्नो समुदायमा ल्याउनका लागि प्रदेशको अभिभावक प्रदेश प्रमुख शर्मालाई विनोदले भने ।

सुरेल समुदायका अर्का अगुवा रमेश सुरेलले आफूहरुको समुदायमा आवश्यक मात्रामा रोजगारी र आर्थिक समृद्घिका अवसरहरु सरकारले किन नल्याएको भन्दै प्रश्न गरे । ‘यसअघि हामीहरुको समुदायका लागि लक्षित गरी कार्यक्रमहरु किन नल्याएको ? ’ उनले प्रश्न थियो । पुख्र्यौली पेशासंग जोडिएर आएको कपडा बनाउने शीप आफूहरुमा रहेको भन्दै उनले यसबाट लाभ लिनसक्ने खालका कार्यक्रमहरु चाहिएको बताए । ‘स्थानीय, प्रदेश तथा संघीय सरकार जसले भएपनि हाम्रो पुख्र्यौली पेशा तथा शीपसंग जोडिएका कामहरुमा सहयोग गर्नुपर्‍यो ।’ उनले भने ।
सुरेल समुदायका अगुवाबाट उनीहरुका आवश्यकता तथा चाहना सुनेका प्रदेश प्रमुख शर्माले सिङ्गो समुदाय उत्थानमा शिक्षाको अत्यन्त महत्वपूर्ण भूमिका हुने भन्दै यसमा ध्यान दिन सुझाव दिए । यो समुदायको विकासमा आवश्यक कार्यक्रमका लागि सरकारका प्रतिनिधीसंग सहजीकरणको भूमिका आफूले खेल्ने प्रदेश प्रमुख शर्माले बताए । लामो समयदेखिको सुरेल जातिको शीप, कला, कौशल तथा परम्परालाई संगसंगै लिएर अघि जानका लागि प्रमुख शर्माले सुरेल समुदायलाई आग्रह पनि गरे । विशेषगरी शिक्षा समाज उत्थानको महत्वपूर्ण कडी भएकाले यस समुदायका बालबालिकालाई पढाउने-लेखाउने कार्यमा ध्यान दिन उनले सुझाए ।

सुरेल जातीका विषयमा सोधिखोजीका लागि सुरी पुगेका प्रदेश प्रमुख शर्मालाई सुरेल समुदायका अगुवाहरुले लिखित रुपमै उनीहरुका विभिन्न सवाल बुझाए । यस समुदायबाट प्राप्त सवालबारे आवश्यक कार्यका लागि आफ्नो तर्फबाट गर्न सकिने भूमिका निर्वाह गर्न तत्पर रहने प्रतिबद्धता जनाए ।

प्रदेश प्रमुखसंग सुरेल समुदायसंग अन्तरक्रियाका लागि समन्वय गराउने गौरीशंकर गाउँपालिकाका अध्यक्ष विकास कार्कीले लापोन्मुख सिमान्त सुरेल जातीलाई समुन्नत र शिक्षित समुदायका रुपमा विकास गराउन आफ्नो तर्फबाट कुनै कसर कमी नराख्ने बताए । यो जाती दोलखाको सुन्दरताका रुपमा रहेकाले यसलाई संरक्षण गर्नु काम स्थानीय सरकार हुनुको नाताले आफ्नो भएको उनको भनाई छ । गाउँपालिकाका तर्फबाट सुरेल समुदायका बालबालिकाको पढाईका लागि उचित सहयोग गरिएको उनले बताए । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्मा ३१८ जना सुरेल जातिको जनसङ्ख्या रहेको उल्लेखित भएको पाइएपनि २२५ जनाले मासिक चार हजार रुपैंयाका दरले सामाजिक सुरक्षा भक्ता पाइरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

सुरेल भाषा, संस्कृति संरक्षणमा लागिपरेका अयिभन्ता स्थानीय पत्रकार तथा लेखक मधुसुदन आचार्य यो जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोसी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति भएको पाइएको बताउँछन् । दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै सुरेल भनिएको भन्ने अध्ययनहरुबाट भेटिएको उनको भनाई छ । समाजमा अत्यन्त अपमान खेपेकाले उनीहरुले विगतमा थर परिवर्तन गरी सुनुवार राखेको आचार्यले सुनाए । विगतमा सुनुवार भएकालाई सुरेल जातिमा कायम गराउँन आफूले मुद्धा लडेको अनुभव समेत उनीसंग छ ।

सुरेल जातिको उत्पति ५०० वर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुख्र्यौली भएका बासे र बीरबल नाम गरेका दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलाको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यहीँ नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको अध्ययनमा भेटिएका छन् । यस सम्बन्धमा जब जिरेल जातिको उत्पत्ती भयो, जिरीमा बस्न थाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने किम्बदन्ती पनि पाइन्छ।

प्रदेश प्रमुख शर्मा सुरेल जातिका विषयमा उनीहरुका वास्तविकताबारे गहिरोसंग जानकारी हासिल हुने भएकाले स्थलगत अर्थात् समुदायमै पुगेर अन्तरक्रिया गरेको बताउँछन् । बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा आएदेखि नै प्रदेशभित्र रहेका सिमान्त समुदायलाई राज्यको मूल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा विभिन्न अभियानमार्फत आफू लागिरहेको उनको भनाई छ ।

प्रदेश प्रमुख शर्माले यसअघि मकवानपुरको मनहरी, हाडीखोलास्थित अति लोपोन्मुख वनकरिया समुदायमा पुगी अन्तरक्रिया गर्दै उनीहरुका अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रिय निकुञ्जको क्षेत्रमा बसोबास गर्दै आइरहेका उनीहरुलाई सुरक्षित आवास बनाउन तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले दश-दश लाख रुपैंया उलपब्ध गराउने निर्णय गरेपनि जग्गा उपलब्ध हुन नसक्दा कार्यान्वयन भने भएको छैन ।

सिमान्त समुदायका सवालबारे अध्ययन गर्ने अभियान अन्तर्गत प्रदेश प्रमुख शर्मा अब सिन्धुलीस्थित हायू जातिको समुदायमा पुग्ने कार्यक्रम रहेको बताउँछन् । बागमती प्रदेशका लोपोन्मुख वनकरिया, सुरेल तथा हायू जातिका समुदायको उत्थानमा सघाउ पुर्‍याउन आवश्यक कार्यक्रम निर्माण गर्न आफ्नो तर्फबाट प्रयत्न गरिएको प्रदेश प्रमुख शर्माको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*