हानेपा नमान्दा बागमती सत्ता गठबन्धनलाई तनाव !
मकवानपुर । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसंगै बागमती प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस सरकारबाट गत २३ फागुनमा बाहिरियो । सरकारबाट मात्र यो पार्टी बाहिरिएन, मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको विश्वासको मत समेत फिर्ता लियो । प्रदेश सरकारका ६ जना मन्त्रीसहित बाहिरिएको कांग्रेसको बागमतीमा ३७ जना सांसद छन् । समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आफ्नो सरकारलाई निरन्तरता दिन जम्कट्टेललाई ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा सत्ता गठबन्धमा माओवादी केन्द्र २१, एमाले २७ र एकीकृत समाजवादीका ७ गरी जम्मा ५५ जना सांसद रहेका छन् । बहुमतका लागि सरकारलाई १ जना सांसद अझै अपुग भएपछि नयाँ गठबन्धनको बागमती सरकारलाई विश्वासको मत प्राप्त गर्नै सकस पर्ने देखिएको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन अब तीन साता मात्र बाँकी रहँदा आफ्नो सरकारलाई कसरी निरन्तरता दिने भन्नेमा उनी अन्यौलका बीच उपायको खोजीमा लागेको देखिएको छ ।
सत्ता गठबन्धनमा सामेल दलहरु बागमतीमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) लाई फकाउने रणनीतिमा लागेका छन् । यो पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई निरन्तरता दिन सहज हुने बुझिएको छ । विगतमा समेत यो पार्टीबाट सरकारले विश्वासको मत प्राप्त गरेकाले अब पनि आफू नेतृत्वको सरकारलाई हानेपाले विश्वासको मत दिनेमा ढुक्क बन्दै यो पार्टीलाई सरकारलाई समेट्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी छ । दुई वटै मन्त्रालय दिन्छु भन्दा पनि अहिले यो पार्टी बार्गेनिङमा लागेको चर्चा सुनिएको छ । सरकार टिकाउनका लागि दुवै मन्त्रालय दिन राजी भएको अवस्थामा पनि हानेपाले साथ दिन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेको बताइन्छ । यो पार्टीलाई कांग्रेसले पनि दबाबमा राखेको टिप्पणी गरिएको छ । वर्तमान गठबन्धन चाँडै ढल्ने र त्यसपछि बन्ने सरकारमा महत्वपूणर् जिम्मेवारी दिने भन्दै हानेपालाई सरकारलाई समर्थन गर्नबाट कांग्रेसले रोकेको चर्चा गरिएका छन् । विगतमा संसदीय समितिको नेतृत्व र आवश्यक बजेट माग्दा समेत नदिएको भन्दै हानेपा सत्ता गठबन्धनप्रति विश्वस्त नभएको पनि बताइन्छ । अघिल्लो पटक विश्वासको मत दिएपनि आफूलाई दुई सिटे भनेकाले चित्त दुखेको भन्दै वर्तमान गठबन्धनदेखि हानेपा तर्किरहेको पाइन्छ ।
वर्तमान सत्ता गठबन्धका लागि हानेपा हुँदा जति सहज हुन्छ, प्रदेशमा रहेका अन्य दलसंग सहमती गर्न फलामको च्युरो सरह देखिएको छ । सभामुख बाहेक १२ सिट रहेको राप्रपाको केन्द्रीय नीति नै प्रदेश सरकारको हकमा जहाँ मिल्दा लाभ हुँदा त्यहाँ मिलेर जाने भन्नेछ । यो नीति पनि अहिलेको सत्ता गठबन्धनको विपरितका हकमा राप्रपाले लिएको देखिँदा जम्कट्टेल नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गर्नै देखिदैन । विगतको एमाले अगुवाईमा २०७९ पुस १० मा बनेको गठबन्धनमा बागमती सरकारमा राप्रपा सहभागी भएपनि पछि केन्द्रमा कांग्रेस सहितको अर्को गठबन्धन निर्माण भएपछि सरकारलाई लिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । सरकार गठनै हुन नसक्ने अवस्था बनेको खण्डमा राप्रपाले साथ दिने बताएपनि कुन गठबन्धनपट्टि आफूलाई लाभ हुन्छ, त्यतातिर सहयात्रा गर्ने सोचमा राप्रपा छ ।
यो प्रदेशमा तीन सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले साथ दिएको खण्डमा पनि बागमती प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न सक्छ । तर, नेमकिपाको केन्द्रीय नीति सरकार बनाउने र सरकारमा जाने नभएकाले यहाँ पनि यो पार्टीले वर्तमान सरकारलाई निरन्तरता दिन भूमिका खेल्छ भन्नेमा विश्वास देखिदैन । आफ्नो सत्ता जोगाउँन मुख्यमन्त्री जम्कट्टेलले नेमकिपालाई आवश्यक मन्त्रालय दिन तयार रहेको सुनिएको छ । उनले यो पार्टीलाई मन्त्रालयको अफर गरेको कुरा बाहिर आएपनि सरकार बनाउने र सरकारमा जाने खेलमा आफ्नो पार्टी नलाग्ने भनाई नेमकिपाको छ ।
सत्ता गठबन्धनका लागि जम्मा एक जना सांसदको अभावका कारण जम्कट्टेलको सरकार के होला भन्नेमा अन्यौलता छाएको छ । केही दिन अघिनै हानेपालाई सरकारमा सहभागी गराई आफू नेतृत्वको सरकारलाई निरन्तरमा दिनेमा विश्वस्त रहेको जम्कट्टेल एकाएक हानेपा नमानेपछि तनावमा परेका छन् ।