ट्राफिक नियम उल्लङ्घन तथा जरिवाना भुक्तानी सम्बन्धी टिभिआरएस प्रणाली प्रभावकारी बन्दै

लोकखबर
३ बैशाख २०८१, सोमबार १९:०२

मकवानपुर । ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको अभिलेख संकलन गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । यो सबै सुविधा नेपाल प्रहरीले संचालनमा ल्याएको ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली Traffic Violation Record System (TVRS) का कारण सम्भव भएको हो ।

यस प्रणाली मार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारवाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । पटके कसूरहरूको विवरण पनि यस प्रणालीले आफै हिसाब राख्दछ । टिभिआरएस प्रणालीको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्– , “नेपाल प्रहरी कार्ययोजना,२०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोग मार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन पहल गरिएको छ । सो क्रममा टिभिआरएस प्रणालीको थप विस्तार गरिएको छ । हालसम्म ४५ जिल्लाहरूमा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिवाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।”

टिभिआरएस प्रणाली विसं २०५८ सालमा शुरू भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यस प्रणाली देशभरिका ४५ बढी जिल्लाहरूमा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ३१ लाख ४७ हजार ९ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका कसूरहरू यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल २ अर्ब ३३ करोड २ लाख २८ हजार ९ सय ६४ रूपैयाँ राजस्व संकलन भएको देखिन आएको छ । प्रणालीको सञ्चालन सँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शीरूपमा सहजै तिर्न पाएका छन् ।

टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्छन्– , “प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने संगठनको नीति अनुरूप सेवाग्राहीको सहजताको लागि यस प्रणालीको विकास गरिएको हो । यस प्रणालीको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्रयाक राख्छ । दक्ष प्रहरी कर्मचारी र प्रविधिको प्रयोग गरी प्रणाली संचालन गरिएको छ ।”

टिभिआरएसमा दर्ता भएका विवरणको आधारमा ट्राफिक नियम उल्लङ्घनकर्ताले विभिन्न अनलाइन वित्तिय प्रणालीहरूको प्रयोग गरी जरिवाना तिर्न सक्दछन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारवाही गर्ने गर्दछ । कारवाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्रि गरिन्छ । कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्दछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “हाल प्रणाली लागू भएका ४५ जिल्लामा भएका अभिलेख एकीकृत हुन्छन् । जति पनि ट्राफिक नियम उल्लङ्घनमा चालक परेका छन् त्यसको अभिलेख यस प्रणालीमा रहन्छ । यसले ट्राफिक कारवाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको छ । सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सक्ने बनाएको छ । समग्रमा ट्राफिक कारवाही सम्बन्धी अभिलेख व्यवस्थित बनाएको छ ।”

नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई तीव्रता दिँदै आएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई वस्तुनिष्ठ बनाउन होस् वा ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले विभिन्न आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ । दुर्घटना न्यूनिकरण र रोकथाम गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने ट्राफिक प्रहरीको प्रमुख उद्देश्यलाई लक्ष्यमा पुर्‍याउन यो प्रणाली सहयोगी सावित भएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्– , “अभिलेख दुरूस्त र व्यवस्थित रूपमा राख्दै प्रविधियुक्त ट्राफिक प्रहरीको मिसनमा यो प्रणाली कोसेढुंगा सावित भएको छ ।”

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*