‘आफ्नो कार्यकालमा नमूनालायक वडा बनाउनेछु’
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजन दङ्गाल बकैया गाउँपालिका वडा नम्बर ४, छतिवन, गोठखोलामा वि.सं. २०३४ साल कात्तिक १९ गते जन्मिएका हुन् । हर्नामाडी, ठूलोदमार स्थित ज्योति माविबाट एसएलसी उर्तिण गरेका राजनले हेटौंडा क्याम्पसबाट प्लस टु गरेका हुन् । ठाकुराम बहुमुखी क्याम्पसमा बीएड् अध्ययनरत दङ्गाललाई स्थानीयले असल नेता, सामाजिक अभियन्ता र मेहनती व्यक्तित्वका रुपमा चिन्छन् । तत्कालीन् एमालबाट स्थानीय तहको चुनावमा विजयी भएका दङ्गाल सबै पार्टीका नेता, कार्यकर्ताका विश्वासिला जनप्रतिनिधीका रुपमा छवि बनाएका छन् । ज्योति मावि हर्नामाडीमा अनेरास्ववियु प्रारम्भिक कमिटीका सदस्य (२०४८), प्ररायुसंघ नेपाल इलाका कमिटी अध्यक्ष ( २०५२), तत्कालीन एमाले क्षेत्र नम्बर १ का क्षेत्रिय कमिटी सदस्य (२०५५) मा दुई कार्यकाल, एमाले छतिवन गाउँ कमिटी अध्यक्ष (२०७०), एमाले गाउँपालिका स्तरिय सचिवालय सदस्य (हाल) मा दङ्गालले आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् ।
अध्यक्ष दङ्गालले विभिन्न समयमा विभिन्न जिम्मेवारीमा रहेर आफ्ना भूमिका निर्वाह गरेका छन् । वि.सं.२०५४-वि.सं.२०५८ सम्म छतिवन, पावसस्थित गितावर प्राविमा शिक्षण, वि.सं.२०५९-वि.सं.२०६१ सम्म सिडिओ नेपाल नामक गैर सरकारी संस्थामा सामाजिक परिचालक, वि.सं.२०६२-वि.सं २०७२ सम्म जन छहारी स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको भूमिकामा रही दङ्गालले आफ्नो कार्य सम्पादन गरेका छन् । राजनीतिक तथा सामाजिक अभियानमा लागिपरेर स्थानीयको मन तिजेकैले उनी हाल वडा अध्यक्षको भूमिकामा छन् । राजनीति, समाजसेवा, साहित्य, खेल, नयाँ ठाउँ घुमफिरमा रुची राख्ने अध्यक्ष दङ्गाल झरना साहित्यिक परिवारमा दुई कार्यकाल सदस्यको जिम्मेवारीमा रहे । हाल गाउँपालिका स्तरिय पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारीमा रहेका दङ्गाल प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका अध्यक्षको भूमिकामा छन् । छतिवन कृषि सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका दङ्गाललाई विभिन्न क्षेत्रमा भिजेर अनुभव हासिल गरेको जन प्रतिनिधीका रुपमा बकैया ४ नम्बर वडाबासीले पाएका छन् । यिनै जन प्रतिनिधीसंग हामीले जन प्रतिनिधी भएपछिका कार्यानुभव, वडाका समस्या, वडा कार्यालयका योजना लगायतका विषयमा कुराकानी गरेका छौं ।
जन प्रतिनिधीका रुपमा कार्य गरिरहँदा कस्तो अनुभव भइरहेको छ ?
हामी सामाजिक काममा लागिरहँदा विभिन्न नीतिहरु बनाउनका लागि जोड दिएर लागेका थियौं । र, त्यो कार्यान्वयन गर्ने तहमै आफू आइपुग्दा खेरी मलाई खुशी पनि लागेको छ । विगतमा सामाजिक संघसंस्था, महिला, बुद्दिजिविहरुसंगको छलफलमा समाजका लागि आवश्यक विभिन्न नीति, कार्यक्रमका विषयमा छलफल गरिरहँदा अहिले आफैंले ती निती कार्यक्रम कार्यान्वयन गर्ने अवसर पाउँदा खुशी लागिरहेको छ ।
चुनावका बेला जनताको घरमा मत मागिरहँदा र अहिले तीनै नागरिक सेवा लिनका लागि वडा कार्यालयमा आइरहँदा कस्तो लागिरहेको छ ?
नागरिकको मैले मिश्रित प्रतिकृया पाइरहेको छु । जसरी हामी सामाजिक काम वा चुनावताका हामीले कुरा गर्ने गर्थ्यौं । ती आफ्ना भनाई अथवा कुराहरु राख्दा निती, विधी, संविधानलाई त्यति ख्याल नगर्ने रहेछौं । आफ्ना कुराहरु हामीले राख्ने गरेका रहेछौं । कतिपय कुराहरु गर्दा पछि गर्न सक्ने वा नसक्ने भन्नेमा विचार नगरी हामीले गरिरहँदा रहेछौं । जब हामी जन प्रतिधिनिधी भएर कानून, ऐन, संविधानभित्र रहेर कार्य सम्पादन गरिरहेका हुन्छौं । नीति नियमबारे जानकार नभएका केही सेवाग्राही आएर तपाई चिनेको, सहयोग गरेको वडा अध्यक्षले यति काम पनि नगर्ने भनेर रिसाउनु पनि हुन्छ । तर, नीति, नियम यस्तो हो, यो यो कागजी प्रकृया पूरा गर्नुपर्छ भनेर राम्ररी सम्झाएर उहाँहरुको काम सम्पन्न गराउने गरिएको छ । पछि उहाँहरुले वास्तविकता बुझेपछि आफैंलाई पनि खुशी लाग्छ । हिजोका दिनमा जनताले गरेका आशा अपेक्षाहरु पूरा गर्ने ठाउँमा आज आफू छु नागरिकस्तरबाट गरिएका अपेक्षा पूरा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
भनेपछि आफ्नै भोगाईले पनि बाहिर बसेर भन्नु र त्यो ठाउँमा आफैं पुगेर काम गर्नुमा चाँही धेरै फरक छ ?
हामीले समाजलाई विभिन्न हिसाबले कानूनमैत्री, ऐनमैत्री र प्रकृयामैत्री हिसाबले अगाडी बढाउन सकेका रहेनछौं भन्ने अनुभव गरेका छौं । पहिले ओठे जवाफ जस्तो यो हुन्छ भनेर गरिन्थ्यो । देश विकासको चरण, मानव विकासको चरण फरक पर्दो रहेछ त्यो कुरा बुझाउन अलि कञ्ज्युस्याँई भएको रहेछ भन्ने बुझाई भएको छ ।
हिजो जनताको घरमा पुगेर बाँडिएका सपनाहरु आजका दिनमा आफैंले समीक्षा गर्दा खेरी कति पूरा भए ? कति पूरा गर्न बाँकी छन् ?
हामीले जनतालाई सुनिश्चित गर्न यो यो कुरा सक्छौं भनेर धेरै कुराहरु भन्यौं, भनेका कुराहरु क्रमिक रुपमा गर्ने पनि हो । अहिले समयक्रममा बदलिदो परिस्थितीमा हामीले कामहरु गर्न धेरै कुराहरु भत्किएका रहेछन् । धेरै असरल्ल, छरपष्ट भएका कुराहरु सम्हालेर त्यसलाई सही बाटोमा ल्याउनका लागि हामीलाई केही समय लागेको महसुस भएको छ । जनताले हातैहात नगद जस्तो विकासका कामहरु खोजिरहेका छन् । तर के देखिएको छैन भने यो हामी जनप्रतिनिधी भएपछि मात्र भएको होईन । यी कुराहरु त पहिल्यै देखि बिग्रिएका थिए अब सपार्नका लागि हामी के गर्न खोज्दैछौं भनेर बुझाउन अलि गाह्रो भइरहेको छ । तर पनि हामीले जनताको अपेक्षा अनुसार टोल भेला, वडा भेला गरेर उहाँहरुका आति आवश्यक पानी, बाटो, बत्तीका साथै सामाजिक विकास पक्षका कुराहरु महिला हिंसा, बालहिंसा जस्ता समाजका कुरिती हटाउँदै जाने कार्य हामीले एक डेढ वर्षका बिचमा जे ग¥यौं उल्लेख्य रुपमैं कामहरु भए भन्ने लाग्छ ।
तपाईं नेतृत्वको बकैया ४ नम्बर वडा बासीको जीवनशैली, अवस्था चाँही कस्तो रहेको छ त ?
बकैया ४ का नागरिकहरुको अवस्था हेर्दा धेरैजसो गरिखानेकै अवस्था छ । उहाँहरु आफ्नो गर्जो टार्न, विहान बेलुकाको छाक टार्नका लागि काममै व्यस्त हुनुहुन्छ । व्यवसायिक श्रपमा काम गर्न सक्ने अवस्था सिर्जना गराउन अप्ठेरो परेको छ । उहाँहरुको आयस्रोत वृद्घि गराउँन लगानी गर्नसक्ने बैंक आवश्यकता छ त्यो बैंकलाई आवश्यक पर्ने धितो राख्नका लागि उहाँहरु बसेको घरजग्गा ऐलानी छ । त्यसका लागि जग्गाधनी पुर्जाको आवश्यकता छ । यदि जग्गाधनी पुर्जा वितरण गर्ने, उहाँहरुलाई व्यवसाय गर्नका लागि व्यवसायिक योजना बनाएर लाग्नुभयो भने आम्दानीका स्रोतहरु बढाउन सक्ने देखिन्छ । तर अहिले आफूले प्रयोग गरिरहेको घरजग्गा पनि कतिखेर मेरो होइन भनेर छाड्नुपर्ने सन्त्रासमा बसिरहेको अवस्थामा आम्दानी गर्नका लागि लगानी गर्ने आँट नगरी रहेको अवस्था मैले वडामा पाएको छु । यहाँको आम्दानीको मुख्य स्रोत भनेको कृषि पेशा नै हो । कृषिमा पनि परम्परागत शैली नै पछ्याइएको छ । यसलाई व्यवसायिक रुपमा अगाडी बढाउन सिंचाई तथा बजारको व्यवस्था गर्न सकियो भने आम्दानीको स्रोत बढ्छ भन्ने मलाई लाग्छ ।
वडाबासी समग्रमा कृषिमा निर्भर हुने तर व्यवसायिक रुपमा कृषि पेशा नगरिएकाले गाउँपालिका तहबाट निर्वाह गर्नुपर्ने भूमिका चाँही यहाँहरुले कसरी खेल्न सक्नुहुन्छ ?
वडाबासीका चाहाना सम्बोधन गर्नका लागि हामी जन प्रतिनिधीको अहम् भूमिका रहन्छ नै । हामीले विभिन्न कदम चालेका छौं र कार्यक्रमहरु पनि भइरहेका छन् । असिञ्चित जमीनमा सिंचाईको व्यवस्था गर्ने,जहाँ परम्परागत रुपम काम गरिरहनुभएको छ व्यवसायिक रुपमा काम गर्नका लागि त्यहाँ शीपमुलक तालिम, बीउ विजन, आवश्यक कृषि सामग्री, सहुलियतमा उपलब्ध गराउँने हाम्रो योजना छ । थोरै लगानीमा धेरै आम्दानी लिनसक्ने खालका काम गर्छु भनेर व्यवसायिक योजना सहित आउँनुभयो भने हामी सघाउछौं । व्यवसायिक योजना सहित गाउँपालिकामा आउनुहुने हरुका लागि हामीले बजेट पनि विनियोजन गरेका छौं ।
समग्रमा बकैया गाउँपालिका वडा नम्बर ४ मा शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक विकासको अवस्था चाँही कस्तो रहेको छ ?
बकैया गाउँपालिकाको ४ नम्बर वडा हेर्दा खेरी धरान चतरा हाइवे पर्ने एकदम सुगम वडा हो भन्ने लाग्छ । तर यसको पछाडी पट्टि बाटो र विजुली बत्ति नपुगेको ठाउँ पनि बाँकी छ । शिक्षा, स्वाथ्यको कुरा गर्दा खेरी विद्यालयहरु पहुँचमै छ । वडामै एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर यातायात सुविधा नपुगेको ठाउँमा कहीले काही अकालमा ज्यान गुमाउनु परेको पीडा पनि छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई वटा एम्बुलेन्स सञ्चालन गरिएको छ । यातायात जानसक्ने ठाउँसम्मका लागि कोही बिरामी परेमा एम्बुलेन्समार्फत स्वास्थ्य केन्द्र आउँनसक्ने व्यवस्था छ । यहाँ उपचार हुन नसक्ने भएमा रेफरको व्यवस्था मिलाएका छौं । हामीले स्वास्थ्य बीमाको पनि तयारी गरेका छौं । समग्रमा भौतिक पूर्वाधारहरु बन्ने क्रममा छन् । केही भौति पूर्वाधार नयाँ निर्माण पनि गर्नुपर्नेछ भने केहीलाई स्तरोन्नती पनि गर्नुछ ।
तपाईंको वडामा आम्दानी गर्नसक्ने क्षेत्रहरु कुन कुन हुन् ? वडामा आम्दानीका स्रोत चाँही के छन् ?
यस वडाभित्र सुगम अनि दुर्गम ठाउँ पनि छन् । वडामा कृषिका लागि सिचाईं व्यवस्थापन गर्न सकिने राम्रो जमीन छन् । सहकारीमार्फत उन्नत बीउ उत्पादन गरेर बिक्री गर्ने काम भइरहेको छ । यहाँको ढुङ्गा, गिट्टी बालुकाको जुन स्रोत छ यसलाई पनि आयस्तर बढाउनका लागि उद्योगकै रुपमा लैजान सकिने छ । नम्बरी जग्गाको जुन बगर छ यसलाई औद्योगिक क्षेत्र पनि बनाउँन सकिने, जसको जग्गा जमीन छैन उहाँहरुलाई स्थापित गर्न सकिने देखिन्छ । वडामा दुग्ध विक्रीबाट धेरै किसानले राम्रो आय आर्जन गर्नुभएको छ । कृषि र पशु क्षेत्रमा नै धेरै नै आयआर्जनको सम्भावना मैले देखेको छु ।
आफ्नो कार्यकालमा यस वडालाई कस्तो बनाउँन पाए हुन्थ्यो भन्ने तपाईंलाई लागेको छ ?
मेरो कार्यकाल अवधिमा मैले वडालाई बालमैत्री, महिलामैत्री बनाउँने, सामाजिक विकासहरु गर्ने संगसंगै जुन जुन स्थानमा बाटो, पानी, बत्तिका असुविधाहरु छ त्यहाँ आवश्यकता पूरा गर्ने, शिक्षाको गुणस्तर बढाउँदै शिक्षाबाट कोही पनि बञ्चित हुनु नपर्ने बनाउँने सोच छ । मेरो सोचाई चाँही कम्तिमा पनि वडामा धेरै कुरा सिक्न पाइन्छ भन्ने बनाउँने छ । कुनै ठाउँमा पर्यटकीय स्थल, हाट बजारलाई व्यवस्थित बनाउँने, आवश्यक विभिन्न संरचनालाई व्यवस्थित गर्दै मेरो कार्य अवधिमा घरघरले व्यक्ति व्यक्तिले विकासको महसुस गर्न पाउँने, यस्तो पो त संघीयता, यस्तो पो हो त वडा भन्ने महसुस गराउँने गरी काम गर्ने मेरो सोच छ ।
तपाईं विद्यार्थी राजनीति हुदै, पार्टीको गाउँ तथा तत्कालीन गाविस स्तरिय नेतृत्वमा पनि पुग्नुभयो । आफ्नो विभिन्न सामाजिक अभियान तथा राजनीतिक भूमिकामा रहेर जनताको मत जित्दै अहिले वडाध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाउँनुभएको छ । आफ्नो व्यक्तिगत जीवनको चाहाना, उद्देश्य चाँही के छ ?
आफ्नो योजना त आफूसंग भइ नै हाल्छ । तर कुनै पनि पद, कुनै पनि काम, जिम्मेवारी फलानोले गर्नुपर्छ भनेर खोजेपछि अर्थात आवश्यकता महसुस भएपछि गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । यो पद भएन भने यो काम गर्दिन भन्ने मानसिकता म राख्दिन । यसकारण मेलाई देश, नागरिक, वडा, म आबद्घ राजनीतिक दलले मेरो आवश्यकता महसुस गर्दा म आफ्नो काम गर्न तयार छु । आवश्यक परेको खण्डमा मेरो क्षमता, दक्षताले भ्याउने पदहरुमा पार्टीले निर्णय गर्छ भने त्यसमा बसेर काम गर्न राजी छु । तर पद नभएपनि राजनिती गर्ने मेरो इच्छाको विषय हो । राजनीति मार्फत समाजसो गर्ने इच्छा भएकाले कुनै पद नभएपनि समाजिक काम काम गर्ने मेरो विचार भएकाले म यो पदमा यस्तो गर्छु भनेर कुनै ठूलो कल्पना गरेको छैन । मेरो कार्यक्षमता सबैले मूल्याङ्कन गरेको हिसाबले म म अहिले जहाँ आइपुगेको छु । आगामी दिनमा पनि मेरो क्षमता तथा योग्यताले भ्याउने खालका जिम्मेवारी पाएमा आफ्नो भूमिका निर्वाह गरिरहने मेरो सोच छ ।