पिछडिएको वर्गलाई सचेत गराउँदा केही मान्छे अत्तालिएका हुन्, माक्सवार्दको प्रशिक्षण अब टोलटोलमा चलाइन्छ : अध्यक्ष टंक मोक्तान
मकवानपुरको कैलाश गाउँपालिकाको विभिन्न टिकाटिपप्णी भए,गाउँपालिकाको लगानीमा माक्सर्वाद पढाइयो भनेर । जिल्लाका सञ्चारमाध्यममा गाउँपालिकाको लगानीमा कार्यकर्तालाई माक्सर्वाद पढाउँन गाउँपालिकाको रकम खर्चिएको खबरले चर्चा पायो । युवा नेतृत्व विकास नामक तालिममा माक्सर्वादका विषयमा पनि प्रशिक्षण प्रदान गरिको विषयमा व्यक्तिका फरक फरक टिप्पणी आइरहेका छन् । समाजवादको सपना देख्नेले माक्सर्वादका विषयमा प्रशिक्षण दिनु सही हो भन्ने तर्क अगाडी सारिरहेका छन् भने गाउँपालिकाको आर्थिक लगानीमा माक्सर्वादबारे प्रशिक्षण गराउँनु हुन्न भन्ने तर्क पनि सामाजिक सञ्जालमा आएका छन् । जिल्लाको विकट कैलाश गाउँपालिकाले गरेका विभिन्न निर्णयका कारण अध्यक्ष टंक मोक्तान बेला बेलामा चर्चामा आइरहेका छन् । गाउँमा आवश्यक जनशक्ति अभावका कारण सेवा दिन नसकीरहेको गुनासो गर्दैै प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक पत्र सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य, पालिकामा शिक्षक व्यवस्थापनको निर्णय, मदिरा नियन्त्रणका लागि लिइएको निर्णयदेखि अहिले माक्सर्वाद सम्बन्धि प्रशिक्षण सञ्चालन गरेका कारण अध्यक्ष मोक्तान चर्चामा छन् । लागि यिनै समसामयिक विषयमा अध्यक्ष मोक्तानसंग लोकखबर डटकमको लोकवार्ताका लागि शिव चौलागाईंले कुराकानी गरेका छन् ।
असार मसान्त छ, तपाईं नेतृत्वको गाउँपालिकाको परिषद हुन सकिरहेको छैन, वडा अध्यक्षहरुले बहिस्कार गरे भन्ने कुरा आइरहेको छ, खास के भइरहेको हो ?
पूर्व निर्धारित नीति तथा कार्यक्रमका हाम्रा कार्यक्रम करिब करिब सम्पन्न भइसकेका छन् । केही योजनाहरुको भुक्तानी बाँकी छ । हामीले चुनावताका जुन वाचा गरेका थियौं, पाँच सय हजार मिटर पाइपको कुरा, एक-डेढ किलो मिटर बाटोको कुरा, सानातिना योजनाहरु दुई वर्षको समयमा भएका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बनाइरहेको काम चाहीँ विल्कुलै फरक हुन्छ । योजना कार्यान्वयनको मोडललाई परिवर्तन गर्न खोजिरहेका छौं ।वडा अध्यक्षले बहिस्कार गरे भन्ने कुरा जुन बाहिर बाहिर धेरै हल्ला भयो । कार्यपालिकाको बैठकमा प्रवेश भएको कुरा होइन । दुई वर्षमा योजना कार्यान्वयनको गतिलाई हामीले जसरी हेर्यौं, अस्वभाविक कामहरु देखियो । योजनाको मोडल हामीले चेन्ज गर्नुपर्छ, कार्यक्रम कार्यान्वयनको मोडल चेन्ज गर्नुपर्छ भन्दाखेरी केही चलखेल भएको छ । आपसमा छलफलबाट अगाडी बढ्ने क्रममा ढिलाई हुन गएको हो । हतारिएर गलत निर्णय गर्ने पक्षमा छैनौं । किनकी आज हामीले जे काम गर्छौै, त्यो भोलि नजीरका रुपमा रहन्छ । गलत ढङ्गले अघि बढ्न नदिने कुरामा म प्रतिबद्द छु ।
योजना कार्यान्वयनको मोडल चेन्ज गर्न खोज्दा असहज पारियो, चलखेल भएको छ भन्नुभयो, खासमा को बाट के चलखेल भएको हो भन्न खोज्नुभएको ?
हाम्रो जस्तो असमान विकास, असमान चेतना र भौगोलिक हिसाबमा पनि उत्तिक्कै विकट रहेको ठाउँमा सिलिङ दिएर हामीले हामीले दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौं । त्यसका सूचकहरुलाई हामीले पूरा गर्न सक्दैनौं । यी कुराहरु हाम्रा वडा अध्यक्षहरुले नबुझेको जस्तो लागेको छ । उहाँहरुले जुन सिलिङ मागिरहनुभएको छ, त्यो योजनाले के के विषय वस्तुलाई समेट्छ भन्ने ग्यारेन्टी छैन । यसरी योजना बनाएर ल्याउँछु भनेर उहाँहरुले हामीलाई त्यस्तो कुनै जानकारी पनि गराउँनुभएको छैन । उहाँहरुले सिर्फ हाम्रो आफ्नो हिसाबले योजना चलाउँन पाउँनुपर्यो भन्नुहुन्छ । पञ्चायतकालमा प्रधानपञ्चले जुन सिलिङ दिने चलन थियो । वडा अध्यक्षले योजना सिफारिस गर्ने हो, वडा अध्यक्षकै रोहबरमा योजना निर्माण गर्ने हो र त्यसैलाई हामीले गाउँसभा मार्फत पास गरेर अघि बढ्ने हो । तर यहाँ अहिले के भइदियो भने हामी आफूखुसी योजना बनाउँछौं, हामीलाई सिलिङ चाहियो भन्ने कुरा बाहिर-बाहिर आएको छ, जुन की हाम्रो कार्यपालिकाको बैठकमा यो प्रवेश गरेको विषय पनि होइन । यही विषयलाई लिएर उहाँहरु बैठकमा उपस्थित भइरहनु भएको छैन ।
वडा अध्यक्षसंगको समस्या कसरी समाधान गर्ने सोचमा हुनुहुन्छ ?
हामी यो बजेट निर्माण बाँडफाँडको प्रसंगमा प्रवेश गरेको पनि छैन । बजेट निर्माण गर्ने क्रममा सिलिङ बजेट दिइरहँदा खेरी असमान भूगोलको तहलाई हामीले कसरी माथि उठाउँन सक्छौं, जहाँ पछाडी परेका गाउँहरु छन् । पछाडी परेका बस्तीहरु छन्, त्यहाँ बसोबास गर्ने जनजातिहरु छन्, उनीहरुलाई समानतामा कसरी ल्याउँन सकिन्छ भन्ने विषयमा हामी छलफल गर्छौ, अनि समस्या समाधान गर्छौं ।
ताजै विषयमा कुरा गरौं, तपाईं नेतृत्वको गाउँपालिकाले नेतृत्व विकास सम्बन्धि तालिम सञ्चालन गर्यो । तालिममा नेकपाका केन्द्रीय स्तरका नेताहरु आएर माक्सर्वाद सम्बन्धि प्रशिक्षण दिए । गाउँपालिकाको खर्चलेमाक्सर्वाद पढाइयो भनेर सञ्चारमाध्यममा खबर आए । यसरी विवादित बन्ने कार्यक्रममा चाँही गाउँपालिकाले किन लगानी गरेको ?
हो, हामीले भर्खरै यु्वा क्षमता विकास सम्बन्धि तालिम सम्पन्न गर्यौं । युवाहरु नजागेसम्म समाजवाद आउँदैन, यो कुरा एकदम सही हो । हामीले त्यसै क्रममा युवाहरुलाई अबको कार्यभार के हो ? समाजवाद कसरी आउँनसक्छ ? र त्यसका लागि हामीले तयारी कसरी गर्नुपर्छ भन्ने भन्ने विषयमा समाजवादका ज्ञाताहरुलाई ल्याएर प्रशिक्षण सञ्चालन गर्यौं । यसलाई पार्टीको लेपन लगाएर, गाउँपालिकाको पैसाबाट पार्टी कार्यकर्तालाई प्रशिक्षण दियो भन्ने भ्रामक समाचारहरु बाहिर आइरहेको छ । कैलाशजस्तो विकट गाउँका जनताले समाजवादको शिक्षा पाइरहँदा जसले ज्ञान प्राप्त गरे उनीहरु खुशी छन् । त्यसमा कुनै फरक पर्दैन जस्तो लाग्छ, यो निरन्तर जारी रहने कार्यक्रम हो । हामी आगामी वर्ष टोल विकास समिति, युवामाझ र विद्यार्थीमाझ यो समाजवादी शिक्षालाई अगाडी साछौं ।
गाउँपालिकाको लगानीमा यस खालको कार्यक्रम हुँदा गलत भयो भन्ने तपाईंलाई लागेको छैन ? यस्ता कार्यक्रमले तपाईंलाई अप्ठ्यारोमा पार्दैन ?
जनतालाई सूसुचित गर्ने कार्यमा हामी निरन्तर लागिरहन्छौं, यसमा कुनै गाह्रो भएको छैन । किनभने हाम्रो समाज वर्गीय रुपमा विभाजित छ । पछाडी परेको वर्गलाई हामीले सचेत गराइरहँदा केही साथीहरु अत्तालिएजस्तो, केही साथीहरु झस्किएजस्तो भइरहेको छ । त्यो स्वभाविकै हो । यसको जुन प्रतिकृयाहरु आइरहेको छ, यसले हामीलाई खासै असर पार्दैन ।
देशमा विभिन्न तहमा नेकपाले नेतृत्व पाएको छ । देशका अन्य स्थानीय तह भनौं अथवा मकवानपुरकै अन्य तहले गर्नु नपरेको माक्र्सवाद पढाउँने काम यहाँहरुलाई गर्नैपर्ने बाध्यता चाँही किन ? अलि फरक कार्यक्रम भनेर देखाउँन कि अरु केही कारण छन् ?
शिक्षा, स्वास्थ्यमा जनताको चाहानाका कार्य गरेको जस्तै अहिलेका युवालाई समाजवाद कस्तो हो, कसरी हामी समाजवाद स्थापना गर्नसक्छौं भन्नेमा सुसूचित गराउँन प्रशिक्षण सञ्चालन गरिएको हो । वैज्ञानिक समाजवादका पक्षमा कार्लमाक्स जुन धारणाहरु प्रस्तुत गरे, हामी त्यसलाई विश्वास गर्छौ, त्यसको विकल्प छैन । दुनियामा समाजवाद आउँछ भने त्यही बाटोबाट आउँछ भन्नेमा हामी कन्भिन्स छौं । र, आगामी दिनहरुमा पनि हामी समाजवाद पढाउँछौं । समाजवादसंग माक्सर्वाद जोडिन्छ । यसैलेमाक्सर्वादको बढी चर्चा भएको हो । समाजवादको सबैभन्दा दर्विलो पक्ष पनि माक्सर्वाद भएका हुनाले हामीले केन्द्रीय स्तरका नेताहरुलाई ल्याएर प्रशिक्षण चलायौं । आगामी दिनमा समाजवादका विज्ञहरु जुनसुकै पार्टीका हुनसक्छन् हामी उहाँहरुलाई नै बोलाएर निरन्तर नै अगाडी बढाउँछौं । किनभने युवाले समाजवाद बुझेन भनेदेखि समाजवादको जग बसाल्न सक्दैन । युवा नजागेसम्म हाम्रो देशमा समाजवाद सम्भव छैन, यो कुरा ध्रुवसत्य हो ।
गाउँपालिकाले समग्रमा भौतिक विकासका लागि के कस्ता योजना बनाएको छ ? कस्ता योजना कार्यान्वयन भइरहेका छन् ? जानकारी गराईदिनुहोस् न ।
मकवानपुरकै दुर्गम क्षेत्रमा कैलाश गाउँपालिका पर्दछ । यस कारण पूर्वाधार विकासमा हामीले सडकलाई नै प्राथमिकता दिएका छौं । बाटो विना अन्य विकासको कल्पना कमै हुँदो रहेछ । त्यसपछि हामीले कृषिलाई अगाडी बढाएका छौं, शिक्षा एवम् स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर हामीले काम अगाडी बढाइरहेका छौं । गाउँपालिकाको कार्यालय भवन बनाउँने कार्य पनि अहिले संगसंगै अगाडी बढिरहेको छ । गाउँपालिकाको माथिल्लो भेगमा डाँडाखर्क, गोगने र तल्लो भेगमा नामटार, कालिकाटार र भार्ता जसको बिच भागमा पहाड, जङ्गल छ । गाउँपालिका गठन भइरहँदा खेरी थुप्रै विवादहरु आइरहेका थिए, माथिल्लो भेगले हामीले थाहामा मिल्नुपर्छ भन्थ्यो । हिजो जिल्लाको एउटा प्रतिबद्घता पनि थियो, यो दुई वटा भेगलाई जोड्ने सडक सञ्जालहरु निर्माण गर्छौ भनेर जनतालाई बुझाइएका कुराहरु अब पूरा हुने क्रममा छन् । जस्तै, कालिकाटारबाट डाँडाखर्कसम्म आवत- जावत गर्ने बाटो, गोगने-कालिकाटारको बाटो, चुनियादेखि कालिकाटारसम्म हिउँद वर्षा चल्ने बाटो, भार्ता जाने बाटो पनि त्यति नै समस्या थियो । अहिले यी बाटोहरु स्तरोन्नती गर्दैै सेवाग्राहीलाई गाउँपालिकासम्म आउँन सहज बनाउँदै छौं । कैलाश ४ नम्बर वडामा अहिले सम्म पनि मोटरबाटो पुगेको छैन । त्यहाँका जनताहरु हिडेडर आउँनुपर्ने बाध्यता भएकाले यो आर्थिक वर्षका लागि पहिलो प्राथमिकतामा राख्दैछौं । कैलाशको सबै वडामा सडक पुर्याउँने अभियान अन्तर्गत हामी लागिपरेका छौं । कैलाशको माथिल्लो भेग र तल्लो भेगमा सडक सञ्जाल जोड्नका लागि प्रदेश सरकारसंग हामीले अनुरोध गरिरहेका छौं । किनकी गोगने-कालिकाटार बाटोको हामीले डीपीआर बनाइसकेका छौं । यो बाटोको लागत अनुमान २५ करोडको छ । अन्य बाटोहरु-सानो डाँडाखर्क, खोलाखर्क र कालिकाटारको बाटोमा अर्को वर्ष नियमित रुपमा ठूला गाडीहरु चल्ने गरी बाटो निर्माण गर्नका लागि हामी योजना बनाउँदैछौं ।
सरकारले अघि सारेको नारा ‘समृद्द नेपाल, सुखी नेपाली’ लाई गाउँपालिकामा चाँही यहाँहरुले कसरी सार्थकर्ता दिन खोज्दै हुनुहुन्छ ? गाउँपालिका तथा जनताको विकासका लागि के कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
हामी चुनाव जितेर आइसकेपछि गाउँपालिकाले एउटा नारा अघि सारेको छ – ‘स्वस्थ्य, शिक्षित र समृद् कैलाश, कृषि, पर्यटन र पूर्वाधारको योजनाबद्घ विकास’ । यो नारालाई सार्थकता दिनका लागि हाम्रो पहिलो पूर्वाधार र सडक नै हो । दोस्रो कृषि तथा शिक्षा र स्वास्थ्यका कुरा अनिवार्य नै भइहाल्यो । कृषिमा हामीले समृद्दि खोज्दैछौं । यो चाँही कमजोर छ भन्ने कैलाशको त्यस्तो कुनै भूगोल छैन । मात्रै त्यहाँ हामीले प्रविधि पुर्याउँन सकिरहेका छैनौं । गाउँपालिकाले यसलाई विशेष जोड दिइरहेको छ । कृषिलाई हामी आधुनिकीकरण तर्फ अगाडी बढाउँदैछौँ । कृषिमा कैलाशको ठूलो सम्भावना छ । कृषि बाहेक अन्य बाटोबाट छिटै समृद्दि ल्याउँन हामीले देखेका छैनौं । देशमै कृषिक्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर हामी योजनाका साथ अगाडी बढिरहेका छौं । पचास वटा हाते ट्याक्टर वितरणको काम पनि गर्यौं । कैलाशको सबैभन्दा तल्लो भाग कालिकाटार जहाँ केरा खेती हुन्छ भने सबैभन्दा माथिल्लो भेग डाँडाखर्क कैलाश १, २, ५, ६ नम्बर वडा जहाँ अङ्गुर खेती हुन्छ । कैलाशको सिङ्गो भूगोलमा बेमौसमी तरकारी खेती देखि लिएर विभिन्न जातका फलफूलहरु खेती हुन्छ । हामीले भूगोललाई अध्ययन गरेर, कृषि विज्ञहरुसंग सल्लाह गरेर त्यहाँ सम्भावना हुने कृषिक्षेत्र विकासका लागि योजनाका साथ अघि बढिरहेका छौं ।
गाउँपालिकाभित्र विकासका लागि अर्थात् आर्थिक आम्दानीका लागि स्रोतहरु चाँही के के छन् ?
कैलाशमा कृषिको मात्र नभएर पर्यटनको पनि त्यत्तिक्कै सम्भावना छ । काठमाडौंबाट सबैभन्दा नजिक सात दिनको प्याकेज लिएर नेपाल भ्रमणमा आउँने कैलाशको कैलाश-बैकुण्ठ, दुम्सीखर्क, घैराङ्, देखारी जस्ता विभिन्न भागहरु छन् । सौराह र काठमाडौंसंग जोड्ने मध्यम क्षेत्रका रुपमा हामीले कैलाशलाई विकास गर्न सक्छौं । पर्यटनको ठूलो सम्भावना रहँदा रहँदै पनि हाम्रो सामाजिक मनोविज्ञानमा फेर बदल ल्याउँनुपर्छ । पर्यटकका चाहानामा परिवर्तन भइसकेको छ । हिजो पर्यटकहरु डाँडाकाँडा हिमाल हेर्न आउँथ्यो भने अहिले रमाइलो, आनन्दका लागि आउँछन् । फरक फरक चाहाना राख्ने पर्यटक हुने गर्दछन् । हामीले उनीहरुलाई आनन्द दिने पूर्वाधारहरु निर्माण गर्न सक्यौं भने कैलाश पर्यटनका लागि धेरै सम्भावना बोकेको ठाउँ छ । भालेश्वर नजिक छ, दामन, पालुङ नजिक छ । कैलाश हुँदै सौराहसम्म मनहरीले अहिले पर्यटनका लागि क्षेत्र निर्माण गर्दैछ । आवत जावतमा कैलाशमा एक दुई रात बास बसाउन सकियो भने कैलाशमा सम्भावनाहरु हुनेछन् । कृषिमा हाइजेनिक टनेलमार्फत सय जना युवाहरुलाई रोजगारी दिने कार्यक्रम हामी आगामी वर्ष तयार गर्दैछौं । नामटारका जीवन मोक्ताने हाइजेनिक टनेलमार्फत डेढ रोपनी जग्गामा खेती गर्नुभएको छ । उहाँले १८ लाखको खुर्सानी बेच्छु भन्ने आँट लिनुभएको छ । यस्तो सम्भावना सिङ्गो कैलाशभरी नै छ । हामीले निर्माण गरेको अदुवा ब्लकमार्फत एक जना किसानले सात लाख सम्मको अदुवा बेचिसकेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुरु गरेको तेस्रो वर्ष हँुदैछ । कृषकहरुले पर्याप्त रुपमा त्यहाँ आम्दानी लिइरहेको अवस्था छ । बेमौसमी तरकारी खेतीबाट पनि किसानले राम्रो आम्दानी लिइरहेको अवस्था छ । हिउँद वर्षा नै मोटरबाटो सञ्चालन गर्न सकियो भने जुनसुकै बेला जुनसुकै प्रकारको तरकारी खेती गरेर पनि कैलाशलेसमृद्दि हासिल गर्न सकिने सम्भावना कृषि र पर्यटनमा छ ।
विगतमा, जतिखेर स्थानीय तहको निर्वाचन हुदै गर्दा जनताको घरदैलोमा पुगेर भोट मागिरहँदा बाँडिएका योजना, आश्वासन कति पूरा भए ? कति पूरा हुन बाँकी छन् ? कार्यभार सम्हालिसकेपछि भएका कार्यको समीक्षा चाँही कसरी गर्नुहुन्छ ?
चुनावताका जनताको बिचमा हामीले जुन कुराहरु राख्ने गथ्र्यौ, जुन सम्भावनाका कुराहरुले उनीहरुलाई ढुक्क पारेका थियौं, ति कार्यान्वयनका चरणमा अहिले हामी छौं । सबै जन प्रतिनिधीले नै गर्ने हो भन्ने जनताको बुझाई थियो । सहजै गर्न सकिन्छ भन्ने ढङ्गमा हामीले पनि कुरा राख्यौं । तर कार्यान्वयनमा केही जटिलताहरु छ । हिजो हामीले जुन सपनाहरु बाँड्यौ मुख्यत बाटो, बजार, कृषि उपजले सहजै बजार पाउँन नसक्दा समस्या भइरहेका छन् । बेमौसमी तरकारी बाहेक अन्य चिजले प्रतिष्पर्धा गर्न सकिरहेको छैन । कृषिमा जति लगानी गरिरहेका छौं, जति उत्पादन गरिरहेका छौं, त्यसले सहजै बजार पाउँनेृ स्थिती अहिले पनि छैन । किनभने खुल्ला सिमानाका कारण ठूलो असर पारिरहेको अवस्था छ । बाटो, बिजुली तथा खानेपानी क्षेत्रमा जुन प्रकारले विकास गर्ने योजना अघि सारिएको थियो, यो कार्यान्वयनका लागि विभिन्न समस्याहरु छन् । कर्मचारी समायोजनका कारण एउटा आर्थिक वर्ष त्यतिकै लथालिङ्ग भयो । समाज विकास सहजै हुन नदिने तत्वहरु समाजमा हुँदो रहेछ । अघि पनि मैले भनेको थिए की अब युवा नजागेसम्म, युवा सक्रिय नभएसम्म समाज रुपान्तरण हुँदैन ।
यहाँले लिएका केही निर्णय, यहाँले व्यक्त गरेको धारणाले यो बिचमा केही चर्चा पाएँ । शिक्षक सरुवा गर्ने कुरा, जनशक्ति अभाव भएकाले काम गर्न समस्या भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक पत्र लेखेको कुरा अथवा गाउँमा मदिरा नियन्त्रणका लागि चालिएको कदमका कारण तपाईं चर्चामा आउँनुभयो । यो सब तपाईंले यत्तिक्कै चर्चामा आउँनका लागि गरिरहनुभएको छ की जनताका हितका पक्षमा निर्णय लिदै गर्दा चर्चा भएका हुन, के भन्नुहुन्छ ?
समाजको अवरोधका पाटालाई नियालेर पर्गेल्ने क्रममा जुन समस्याहरु देखा परे र चर्चाका विषय बने त्यो स्वभाविक हो । म आफू चर्चामा आउँनका लागि ति काम गरेको होइन । रुपान्तरणका लागि जसलाई उखेलेर फाल्नुपर्ने थियो, ति कार्य गर्दै गर्दाखेरी चर्चा भएको हो । हाम्रो समाज साँच्चै नशामा सुतिरहेको अवस्था छ । संस्कार, संस्कृतिका नाममा हामीले गलत चिजलाई अङ्गालिरहेका छौं । मदिरा नियन्त्रणका कुरा, शिक्षामा पनि त्यस्तै समस्या छ । जुन दिन शिक्षक बन्यो, त्यो दिन देखि पढ्नु पनि पर्दैन । यस्ता समस्याले यसपटकको एसईईको नतिजाले पनि देखाइसक्यो की सामाजिक विद्यालयहरु कति तल छन् भनेर । म सम्पूर्ण शिक्षकलाई दोष दिन चाहान्न । हाम्रो नानीबाबु अहिले इन्टरनेटमा गेम खेल्छन् । तर हाम्रा शिक्षकहरु फुर्सदमा के खेल्छन् ? तपाई हामीलाई थाहा छ । उहाँहरु अपडेट हुनुपर्छ की पर्दैन ? एउटै विद्यालयमा बीस–पच्चिस वर्षदेखि बसिरहेको शिक्षकदेखि समाज निराश छ । उहाँहरुबाट त्यहाँ उपलब्धि देखिदैन । विद्यार्थीको अनुपातमा दरबन्दी मिलान गर्न खोज्दा केही तत्वहरुले त्यसलाई गलत ढङ्गले उठान गरे । अहिले केन्द्रदेखि स्थानीय तहमा पर्याप्त कानून नबनिरहेको अवस्थामा अरुले चलखेल गर्ने मौका पाए । ति कुराले चर्चा पाएकै हो । यो कुरामा साहसका साथ गाउँपालिका अगाडी बढिरहने नै छ । किनकी यसो गर्नु आवश्यक पनि छ । यस्तै, अहिले पनि गाउँघरमा विकृति र विसङ्गतिका पक्षहरु छन्, केही तत्वहरु त्यसलाई निमिट्यान्न पार्न चाँहादैनन् । किनकी अहिले समाज एक किसीमले निदाइरहेकै छ । समाजमा हामीले जे जस्ता टाठा बाठा मान्छेहरु देख्छौं कतै न कतै ति फटाहा नै हुन् । आधारभूत वर्ग अहिले सुतिरहेकै अवस्था छ । यसर्थ, हामीले केही नयाँ काम गर्न खोज्दा उनीहरुमा आउँने कोलाहलले बजार पाएकै हो । हाम्रो काम गर्ने क्षमता, निरन्तरता र काम गर्ने इच्छामा भर पर्छ । यस्ता कुराहरु आइरहन्छन् । योजनाबद्घ ढङ्गले गरिने कामबाटै त्यस्ता कुरालाई हामी परास्त गर्दै अगाडी बढिरहन्छौं ।
आफूले बनाएका योजना पूरा गरेरै छाड्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? तपाईंको काम गर्ने शैली, योजनाप्रति चाँही कैलाशबासी कत्तिको सन्तुष्ट बनेको पाउँनुभएको छ ?
धेरै वर्षपछि विकासको जुन लहर चलेको छ, जनताहरु खुशी छन् । हामीप्रति जनता आशावादी पनि छन् । हामी उहाँहरुकै काखमा छौं । हामी उहाँहरुको भावना बुझ्छौं । हामीलाई काम गर्ने जोश, जाँगर जनताले बढाइदिएका छन् । गाउँपालिकाको सबै ठाउँमा मोटरबाटो पुर्याउँने लक्ष्य हाम्रै कार्यकालमा पूरा हुन्छ । प्रत्येक घरमा बत्ति बाल्ने योजना अनुसारको काम पनि तिब्रै गतिमा अगाडी बढिरहेको छ । जनताको आयस्तर वृद्घि, जीवनस्तर परिवर्तन गर्ने योजनाहरु बनाएर हामी अगाडी बढिरहेका छौं । यस्ता खालका कार्यक्रममा जनताले प्रत्यक्ष सहभागी भएर लाभ लिइरहेका छन् । दुई वर्षको कार्यवधि र तीन वर्षको योजनामा हामी अगाडी बढिरहँदा अब आफूले के गर्नुपर्ने र आफूले के पाउँने भन्नेमा जनता पनि ढुक्क छन् । सडक, खानेपानी, बिजुली सबै क्षेत्रमा विकास गथि अगाडी बढाउँछौं । हिजोका दिनमा उपभोक्ता समितिमार्फत जुन काम गर्दै आइरहेका थियौं, त्यसमा केही असन्तुष्टिहरु देखा परेको छ । अब हामी ति कार्यक्रमका मोडललाई परिवर्तन पनि गर्दैछौं । दुई वर्ष सिक्दै र हेर्दै तेस्रो वर्षको कार्यक्रम बनाउँदा केही असन्तुष्टिहरु आएका हुन् । असमानताका खाडल पुर्ने योजना कसरी बनाउँने ? त्यस्ता योजना के हुन सक्छन् भन्नेमा हामीले सोचिरहेका छौं । हामी निरन्तर चलिरहेको एउटा प्रकृयाबाट अर्को प्रकृयामा जाने क्रममा छौं । यसैले पनि जनताको हामीप्रति आशा, भरोशा बढिरहेको छ । हामीले गरेको कामको विरोध वा समर्थन खुलेर गर्न म कैलाशबासीलाई आग्रह गर्दछु । किनभने उहाँहरुको प्रतिकृयाबाटै हामीले सिक्ने हो, उहाँहरुको भावना बुझ्ने हो । जनताको चाहाना साना साना कुराहरुमा हुन्छन् । हामीले दिर्घकालीन योजना बनाइरहँदा उहाँहरुलाई त्यो सपना बाँड्न सक्नुपर्छ । अनिमात्र उहाँहरुले दिर्घकालीन योजनाका विषयमा बुझेर हामीलाई समर्थन गर्नुहुन्छ । आफ्नो चाहना, माग जनताबाट प्रत्यक्ष रुपमा भेटेर, फोनवार्तामार्फत भएपनि आओस् भन्ने चाहान्छौं । उहाँहरु जति जागरुक हुनुहुन्छ, समाज त्यति नै तिब्र गतिमा अगाडी बढ्छ । उहाँहरुको गुनासो, सुझावको सदैव अपेक्षा राख्छौं ।
लोकखबर डटकमका लागि समय उपलब्ध गराइदिनुभएकोमा यहाँलाई धन्दवाद ।
धन्यवाद तपाईंलाई पनि । मेरो आफ्नो विचारहरु सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा लोकखबरलाई पनि विशेष धन्यवाद भन्न चाहान्छु ।