धार्मिक पर्यटन संवाद

‘रुद्रेश्वर मन्दिरक्षेत्र विकासका लागि राज्यका तर्फबाट सहयोग पाएनौं’

मन्दिरका नाममा सहयोग घोषणा गर्ने तर पछि वास्तै नगर्ने
लोकखबर
१ भाद्र २०७६, आईतवार १६:३०

राजीव सुवेदी, रुद्रेश्वर मन्दिरक्षेत्र पर्यटन विकास समिति, हेटौंडा ५ का अध्यक्ष हुन् । राजनीतिक, सामाजिक अभियानमा लागिपरेका सुवेदी यतिबेला धार्मिक पर्यटन विकासको योजनामा छन् । हेटौंडा बजारबाट नजिक रहेको रुद्रेश्वर मन्दिर क्षेत्रलाई विकास गर्न स्थानीय सरोकारवालाले अहिले चासो नदिएको उनले गुनासो गरेका छन् । उनीसंग रुद्रेश्वर मन्दिरक्षेत्रसंग सम्बन्धित रहेर गरिएको कुराकानी ।

तपाईं मन्दिरको अध्यक्ष भएपछि के काम गर्नुभयो ?
म भन्दा पहिला धेरै साथी अध्यक्ष हुनुभयो । पहिला समान्य मन्दिर, सटर अनि सिँढी थियो । तल सडकबाट माथि जान २५-२६ मिटर हिडेर उकालो चढ्नुपर्ने बाध्यता थियो । माथि मन्दिरसम्म सडक बनाउँने विषयमा धेरै छलफल भयो । बाटो लैजाने विषयमा वन समूहले पनि सहमती दिएन । जसले जे सुकै गरोस्, सामाजिक काम हो भनेर बाटो निर्माण कार्य गरियो । वन समूहले मुद्दा पनि हाल्यो । आखिर व्यक्तिको नीजि काम गरेको होइन, सामुहिक काम गरेको हो । मुद्दा हालेपनि खासै प्रभाव परेन । पहिला रुद्रेश्वर मन्दिरको विधान नै थिएन । हामीले बनाएको विधानमा विवाद गरियो । फेरी विधान सच्याएर पास गर्ने काम भयो । म नगर विकास समितिको अध्यक्षमा भएको बेलामा मन्त्रालयबाट बजेट ल्याएर काम गरें । स्थानीय विकास तथा शान्ति मन्त्रालयबाट एक पटक चौधलाख, एक पटक पाँचलाख, हेटौंडा नगरपालिकाबाट पाँच-पाँच लाख गरी दुई पटक सहयोग ल्याए । सबैतिरबाट सहयोग लिएर नै अहिलेको सत्तल, एउटा ट्रस्ट, एउटा पक्की घर निर्माण गर्‍यौं । सातलाख रुपिया लागतमा खानेपानी व्यवस्थापन गर्न सफल भयौं । अहिले गाउँका सबैलाई खानेपानीको समस्याबाट मुक्ति दिनका लागि साँढे सात करोडको लागतमा खानेपानीको योजना बनाएर काम सुरु भइसकेको छ । अर्को एउटा खानेपानी आयोजना सम्बन्धि काम पनि हामीले गरेका छौं । खानेपानीका लागि २० हजार लिटरको रिजर्भ ट्याङ्कीको व्यवस्था गर्दैछौं । रुद्रेश्वर मन्दिर पर्यटन क्षेत्रमा हेटौंडा ५ का अध्यक्ष राजेश बानियाले पशुपति मन्दिरकोझैं मन्दिर निर्माण गरिरहनुभएको छ । मेरी आमाले सुरुमा पुजा गर्नुपर्ने भगवान गणेशको मुर्ति निर्माणका लागि पाँच लाख रुपिया सहयोग गर्नुभएर निर्माणको कार्य पनि गरिराख्नुभएको छ । रुद्रेश्वर मन्दिर क्षेत्रको भौति योजना तथा पर्यटन मन्त्रालयको सहयोगबाट मास्टर प्लान बनाइएको छ । अब हामी मास्टर प्लान अनुसार नै काम गर्छौं ।

तपाईं राजनीतिमा लाग्नुभएको मान्छे, अहिले धार्मिक पर्टटकीय क्षेत्र विकासको लागि नेतृत्व लिइरहनुभएको छ । तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
राजनीतिमा समाज सेवा देखिएन । जो पदमा जाने, पैसा कमाउने मात्र देखियो । राजनीतिमा लाग्दा नेपालीको अवस्था समृद्द हुनुपर्छ भन्ने हो तर त्यस्तो देखिएन मलाई के लाग्यो भने अब धार्मिक क्षेत्रबाट अब केही काम गर्नुपर्छ । साथीहरुले पनि मलाई अध्यक्ष बन्नका लागि आग्रह गर्नुभयो। सार्थीहरुको आग्रह मैले स्वीकार गरे । आफूले गरेको काम धार्मिक क्षेत्रबाट देखिँदो पनि रहेछ । हरेक ठाउँमा विवाद गर्ने, काम गर्न नदिने त भइ नै हाल्छ तर पनि यो धार्मिक क्षेत्रमा गरेको कार्य प्रत्यक्ष देखिन्छ । हेटौंडामा पर्यटकीय क्षेत्रका रुपमा शहिद स्मारक कहलिएको छ । मकवानपुरगढीको पनि प्रचार प्रसार कम नै छ, जति हुनुपर्ने हो त्यति भएको पाइँदैन । पहिले खासै पचार प्रसार नभएको यो रुद्रश्वर मन्दिरको अहिले प्रचार प्रसार भएको छ । धार्मिक क्षेत्रमा लाग्दा मैले सेवा गरे भन्ने महसुस भएको छ । मन्दिरको प्रचार-प्रसार तथा विकासका लागि हामीले एक महिनासम्म महायज्ञ लगायौं । केही आर्थिक पनि संकलन गर्न हामी सफल भयौं । राजनीतिमा लागियो भने देशै विकास गर्ने तर मन्दिरको नेतृत्व गरेर मन्दिर, धार्मिक तथा पर्यटकीय क्षेत्रका विकासका लागि लागिपर्ने हो ।

रुद्रेश्वर मन्दिर क्षेत्रलाई कस्तो बनाउँने तपाईंको योजना छ ?
हेटौंडाको सबैभन्दा नजिक, शान्त वातावरण, उपयुक्त स्थानमा रुद्रेश्वर मन्दिर अवस्थित छ । विहान मर्निङवाल्क गर्दै मन्दिर आउँन सकिन्छ । नजिकै १०५ विगाह क्षेत्रको माछा पोखरी हेर्दा थप रमणीय लाग्छ । मन्दिर क्षेत्रभित्रको एकापट्टि धार्मिक क्षेत्रका लागि तेत्तिस कोटी देवताको मन्दिरै मन्दिर निर्माण गर्ने अर्कोपट्टि पूरै पर्यटन क्षेत्रको विकास गर्ने योजना छ । मन्दिरक्षेत्र विकासका लागि हामीले मास्टर प्लान बनाएका छौं । मास्टर प्लानमा विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने योजना बनाएका छौं । स्वीमिङ पुल देखि बालबालिका खेल्नका लागि उपयुक्त स्थल, जिम क्लव समेत समावेश गरी हामीले गुरुयोजना तयार गरेका हौं । तर हामीलाई यो वर्ष वडा, उपमहानगरपालिका, प्रदेश, केन्द्र कसैले पनि बजेट दिएन । सरकारका तर्फबाट हामीप्रति अहिले सहयोगको भावना नै देखिएन । सरोकारवाको आवश्यक सहयोग पाउँन सकियो भने यो क्षेत्रको छिटो विकास गर्न सकिन्छ ।

अहिले मन्दिर सञ्चालनका लागि आवश्यक खर्च चाँही कसरी व्यवस्थापन भइरहेको छ ?
अहिले मन्दिरको खासै नियमित आम्दानी छैन । मन्दिरमा हाम्रा समितिका कोषाध्यक्ष गुरु केशवप्रसाद न्यौपाने विहानै ४ बजे मन्दिर जाने गर्नुहुन्छ। कहिलेकाँही आउँने भेटीबाट मन्दिरमा पुजाका लागि आवश्यक धुप, बत्ती किन्ने गरिएको छ । पिकनिक आउँनेहरुले भाँडाकुडा भाडामा लिएबापत त्यसबापत प्राप्त आम्दानीले मन्दिर व्यवस्थापनमा थोरै भएपनि सघाउ पुगेको छ । मानिसहरुको विस्तारै आकर्षण बढ्दै जान थालेपछि मन्दिर क्षेत्रमा प्रवेश गर्नका लागि टिकट व्यवस्था गर्ने, पर्खाल लगाउँने लगायत कार्य भविष्यमा गरिनेछ ।

मन्दिर क्षेत्र वरपरका स्थानीय तथा अन्य सरोकारवालाले के कसरी सहयोग गर्न सक्नेछन् ?
पहिला हिन्दुधर्म संरक्षणका लागि मानिसहरुको त्यति चासो थिएन । नेपालमा ८० प्रतिशत हिन्दु छन् भन्ने तथ्याङ्क हामीसंग छ । रुद्रेश्वर मन्दिर परिसरमा राधेराधेबाट झण्डै एक करोड लागतमा ठूलो भवन निर्माण गरिएको छ । महायज्ञ संचालन गरिएका बेलामा हेटौंडाका शिक्षासेवी पूरणबहादुर जोशीले आफ्नो पिताका नाममा शनिको मन्दिर बनाउँछु भनेर प्रतिबद्दता व्यक्त गर्नुभएको छ । प्रदेश ३ का सामाजिक विकास मन्त्री कैलाशप्रसाद ढुङ्गेलले शहिद गङ्गालालको मुर्ति बनाउँने भनेर शिलान्यास पनि गर्नुभयो । शिलान्यासमा बोल्नुभयो तर उहाँलाई गएर हामीले भेट्यो उहाँले एक सुका पनि दिनुभएन । मन्त्री ज्यूलाई बजेट दिनका लागि भनेर हामी धेरै पटक भेट्न जाँदा पनि हामीलाई सहयोग भएन । यसमा हामीलाई एकदमै दुःख लागेको छ । आफैले शिलान्यास गरेर पनि मन्त्री ज्यूले हामीलाई सहयोग गर्नुभएन । उहाँले आफ्नो व्यक्तिगत पैसा दिने पनि होइन, राज्यबाट दिने हो । बरु हामीलाई व्यक्तिगत रुपमा सहयोग गर्छौ भन्नेहरु छन् । तर अहिले राज्यका तर्फबाट कुनै सहयोग पाइएन । हेटौंडा उपमहानगरपालिकाका तर्फबाट पनि सहयोग गर्छौ भन्ने तर सहयोग गरिएको छैन । सहयोग गर्ने निकायले हामीलाई किन सहयो गर्नुभएको छैन कुन्नी ? हामीले तयार पारिएको गुरुयोजना विस्तारै विस्तारै कार्यान्वयन गर्दैै अघि बढ्नका लागि पनि हरेक वर्ष हामीलाई सरकारका तर्फबाट केही न केही बजेट आयो भने सजिलो हुनेथियो । रुद्रेश्वर मन्दिर पर्यटन क्षेत्रमा विभिन्न संरचना निर्माण गर्नका लागि प्रसस्त ठाउँहरु छन् । यदि कसैलाई केही सहयोग गर्न मन लाग्छ र यसभित्र विभिन्न प्रकारका मन्दिर, मुर्ति, भवन निर्माण गरी धार्मिक पर्यटन विकासमा टेवा पुर्‍याऔं भन्ने लाग्छ भने आवश्यक सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*