प्रदेश सरकारको सहयोगमा मकवानपुरगढीमा माटो परीक्षण प्रयोगशाला स्थापना

लोकखबर
२४ पुष २०७६, बिहीबार २०:०४

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा माटो परीक्षण प्रयोगशाला संचालनमा ल्याइएको छ ।

प्रदेश ३ सरकार, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २८ लाख लागत सहयोगमा स्थापना गरिएको माटो परिक्षण प्रयोगशाला विहीबार (आज) उद्घाटन गरिएको छ ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रयोगशाला उद्घाटन गर्दै मकवानपुरको कृषि विकासका लागि प्रदेश सरकार आवश्यक कार्य गर्न तयार रहेको बताए । उनले विषादि रहित तरकारी उत्पादनमा लाग्न कृषकलाई आग्रह गरे । ‘अब अर्गानिक उत्पादनमा जोड दिनुपर्छ । ’ मन्त्री लामाले भने,‘ तपाईंहरु अर्गानिक उत्पादनमा लाग्नुस्, सरकारले सहयोग गर्छ ।’ मकवानपुरगढी गाउँपालिकामा कृषिका विभिन्न सम्भावना रहेको उल्लेख गर्दै लामाले यस क्षेत्रका समस्या पहिचान गरी समाधान गर्न आफ्नो भूमिका रहने बताए । प्रदेशका तर्फबाट आवश्यक सहयोग गर्नुपर्दा मकवानपुरगढी गाउँपालिका अग्रस्थानमा रहने बताउँदै मन्त्री लामाले पालिका अध्यक्षसंग कृषि विकासका विषयमा छलफल भइरहेको उल्लेख गरे ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६, आमभन्ज्याङ, बाग्दलीमा माटो परिक्षण प्रयोगशाला स्थापना गरी संचालनमा ल्याइएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीका दहाल अध्यक्ष रहेको एकीकृत शत्रुजीव व्यवस्थापन कृषक सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभाको अवसरमा प्रयोगशाला उद्घाटन गरिएको हो ।

प्रयोगशालामा हट ओभन, डबल डिस्टिलेसन प्लान्ट, फ्लेम फोटो मिटर, म्याग्नेटिक, पेचमिटर, स्पेक्ट्रो फोटा मिटर, सेकर मेसिन लगायत उपकरण राखिएका छन् । यी उपकरणबाट गाउँपालिकाका कृषकले बाली लगाउँने माटोको अवस्थाका विषयमा परिक्षण गरिने गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । गाउँपालिकाका कृषकले अब प्रयोगशालामा माटो परिक्षण गरेर माटोको अवस्था पत्ता लगाई सोही अनुसार बढी भन्दा बढी उत्पादन लिनका लागि उपाय अबलम्बन गर्न सक्ने चौधरीले बताए ।

प्रयोगशाला उद्घाटनका दिन विहीबार (आज) गाउँपालिकाको वडा नम्बर १,७ र ८ को विभिन्न स्थानबाट कृषकले ल्याएको १९ वटा माटोको अम्लिय तथा क्षारिय परिक्षण गरिएको छ । प्रयोगशालामा ल्याइएको माटोको अवस्थाबारेको रिर्पोट पन्ध्र दिनमा कृषकलाई उपलब्ध गराइने प्रमुख चौधरीले जानकारी दिए । कृषिका क्षेत्रमा गाउँपालिकामा विकासका लागि आवश्यक जनशक्ति सहित आफूहरु लागिपरेको बताउँदै चौधरीले माटो परिक्षण प्रयोगशाला संचालन भएपछि गाउँपालिकाका कृषकले आफ्नो उत्पादन बढाउँने उल्लेख गरे । कृषकका समस्याका लागि अहिले पालिकामा सात जना कृषि प्राविधिक रहेको र सबै वडा वडामा पुगेर कृषिमा देखा परेका समस्या समाधानमा लागिपरेको बताउँदै माटो परिक्षण गरेर मात्र कृषकलाई खेतीमा लाग्न अभिप्रेरित गराउँने उनले बताए ।

प्रदेश सरकारको अनुदानमा स्थापित माटो परिक्षण प्रयोगशालाबाट माटोका साथै गोबर समेत परिक्षण गर्न सकिने गाउँपालिका पशुविकास शाखा प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशभित्रका पाँच जिल्लामा माटो परिक्षण प्रयोगशाला सहयोग गर्ने योजना अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई पनि छनौट गरेको हो । प्रदेश सरकारले चितवन, धादिङ, नुवाकोेट र काभ्रेमा पनि यस खालको माटो परिक्षण प्रयोगशाला संचालनका लागि आवश्यक आर्थिक सहयोग गरेको छ ।

मकवानपुरमै एकमात्र माटो परिक्षण प्रयोगशाला मकवानपुरगढी गाउँपालिकामा संचालनमा ल्याइएपछि यस क्षेत्रका कृषक आधुनिक र व्यवसायिक कृषि कर्ममा लाग्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । ‘कृषिमा अब आधुनिक तथा व्यवसायिक रुपमा अघि बढ्ने गरी लाग्नुपर्छ । ’ अध्यक्ष हुमागाईले भने, ‘ अब अर्गानिक उत्पादनमा जोड दिँदा व्यवसायिक रुपमा सफलता पाउँन सजिलो छ । ’ अर्गानिक उत्पादनबाट मानव स्वास्थ्य, वातावरणका लागि फाइदा पुग्ने अध्यक्ष हुमागाईंको भनाई छ । अर्गानिक उत्पादनले सजिलै बजार पाउँनुका साथै उचित मूल्यमा वृद्घि गर्न सकिने समते अध्यक्ष हुमागाईले जोड दिए । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको माटो परिक्षण प्रयोगशालामा प्रसस्त लाभ लिनका लागि उनले गाउँका कृषकलाई सुझाव पनि दिए । गाउँपालिकाका तर्फबाट कृषिका क्षेत्रमा योजनाबद्द रुपमा अघि बढिएको अध्यक्ष हुमागाईले बताए । ‘कृषि तथा पशुपालन गर्ने उद्देश्यले मकवानपुरगढीमा बसाई सरी आउँनेलाई नगद पचास हजार सहयोग गर्छौ । ’ हुमागाईले भने, ‘ तर बारी बाँझो राख्नेलाई गाउँपालिकाका तर्फबाट आवश्यक पर्ने सिफारिस समेत नदिने भएका छौं । ’ उनले गाउँमै बसी कृषिमा आर्थिक उपलब्धि हासिल गर्छु भन्नेका लागि आवश्यक सहयोग गर्न आफूहरु सदैव तयार रहेको बताए । ‘काम गर्नेका लागि अनुदान समेत उपलब्ध हुन्छ तर अनुदानको आशमा काम गर्छु भन्नेले वास्तविक रुपमा काम नगर्ने हुन्छन् । ’ हुमागाईले भने, ‘ गाउँका युवाशक्तिलाई कृषि तथा पशुपालनमा लगाउँनु अहिलेको आवश्यकता हो । ’

हुमागाईले मकवानपुरगढीलाई फलफूल तथा तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको पनि सुनाए । ‘प्रदेश सरकारसंग फलफूल तथा तरकारीको पकेट क्षेत्रका गाउँपालिकालाई विकास गर्न आवश्यक सहयोग लिने विषयमा कुराकानी भइरहेको छ । ’ उनले भने ।
अबको दुई वर्षमा दुई वटा वडालाई अर्गानिक उत्पादन वडा घोषणाका रुपमा विकास गर्न सकिए ठूलो उपलब्धि हुदै बताउँदै हुमागाईले त्यतातर्फ ध्यान दिन कृषक तथा गाउँपालिकाका कृषि सम्बन्धि सरोकारवाला समक्ष आग्रह गरे । गाउँपालिकामा उत्पादन भएका बस्तु बजारीकरणको समस्या नहुने, त्यसमा पनि अब प्रदेशको स्थायी राजधानी हेटौंडा हुने भएपछि प्रसस्त सम्भावनाहरु रहेको अध्यक्ष हुमागाईले बताए ।

परम्परागत रुपमा खेती प्रणाली अंगाल्दै आइरहेका कृषकलाई अब आधुनिक तरिकाबाट अघि बढ्नका लागि माटो परिक्षण जस्ता कार्यमा ध्यान दिन उनको आग्रह छ । गाउँपालिकाले संचालनमा ल्याएको प्रयोगशालाबाट अधिकतम लाभ लिनका लागि कृषकलाई उनले सुझाव दिएका छन् । ‘ गाउँमा माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । यसबाट सोचेको उपलब्धि कसरी लिने भन्नेमा ध्यान दिनुहोला ।’ अध्यक्ष हुमागाईले भने, ‘अब कम लागतमा बढी भन्दा बढी उत्पादन र आर्थिक लाभ कसरी लिन सकिन्छ भनेर कृषिमा लाग्नेहरुले सोच्न ढिला गर्नुहुदैन । ’

प्रयोगशाला उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रदेश ३, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रबहादुर कार्की, गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष आइतसिं लो, वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रीन, वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ५ का अध्यक्ष जितबहादु घिमीरे, माटो परिक्षण विज्ञ गणेश शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पुडासैनी, गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख मन्दिरा थापा लगायतको आतिथ्यता रहेको थियो ।
आइपीएम कृषक सहकारी संस्थाका अध्यक्ष टिकाप्रसाद दहालको अध्यक्षतामा भएको समारोहमा सहकारीमा बाल बचत गर्ने प्रनिशा गजुरेल, असल ऋणी सरोज पाठक र नियमित बचतकर्ता विजय बजगाईंलाई पुरस्कार प्रदान गर्दै सम्मान गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*