अढाइ महिना म्यान्मारमै थन्किएका यी साइकलयात्री सुखद अनुभव बोकेर फर्किए

काठमाडौं । । गएको फागुन ७ गते विश्व साइकल यात्राका लागि नेपालबाट बिदा भएका हेटौँडाका २५ वर्षे विक्रम भारती शुक्रबार विमान मार्फत स्वदेश फर्किएका छन् । उनले कैलालीका २८ वर्षे क्षत्र रावल र गैँडाकोटका २४ वर्षे विमल गिरीसँगै यात्रा सुरु गरेका थिए ।
तीनैजना भारत, बंगलादेश हुँदै म्यानमार पुगेका थिए । तर कोरोना भाइरसको महामारीका कारण म्यानमारमै अड्किए । म्यानमारबाट थाइल्याड जाने उनीहरुको भिसा लागेकै दिन सीमा बन्द भयो । उनीहरु म्यानमारमै रोकिए । उनीहरु नेपालबाट यात्रा सुरु गरेको करिब साढे तीन महिनापछि शुक्रबार स्वदेश फर्किएका छन् अलपत्र परेकालाई उद्धार गरिएको विमान मार्फत ।
विक्रमले भने, हामीहरु त्यहाँ नेपाली समुदायद्धारा बनाइएको विहारमा बसेका थियौँ । बस्ने खाने राम्रो व्यवस्था थियो । त्यहाँका नेपालीले हामीलाई कुनै समस्या हुन दिनुभएन । साँच्चै भन्ने हो भने त त्यहाँबाट आउन मन थिएन । तर यही अवस्था लम्बिँदै गयो अनि यसरी आउने पाएको अवसर घुम्यो भने फेरि कति त्यहाँ बस्नु अरुलाई दुःख दिएर भन्ने लाग्यो ।
परिवारको न्यास्रोका कारण पनि आफूहरु फर्किएको उनले बताए । उनले भने, साँच्चै भन्नु हुन्छ भने म्यानमारमा हामीले भिसा लगाउँदा जति लाग्यो त्यो बाहेक हाम्रो एक रुपैयाँ खर्च भएन । सबै सहयोग भयो हामीलाई ।
नेपाल भ्रमण वर्ष सुरु भएकाले उनीहरु नेपालको पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित विश्व साइकल यात्रामा निस्किएका थिए । सन् २०२० पूरै पर्यटनको प्रचार गर्ने र त्यसपछि भने विश्व साइकल यात्रालाई थप सक्रिय रुपमा अघि बढाउने योजना उनीहरुको थियो ।
उनीहरुले एक महिनामा दुई देशको यात्रा गरिसकेका थिए । उनले भने, कोरोना भाइरसको महामारी नभएको भए हामी शायद यो बेला जापान, कोरियातिरको यात्रामा हुने थियौँ । तर अरु देशमा गएर रोकिनु परेको भए म्यानमारमा जस्तो राम्रो व्यवस्था शायदै हुने थियो ।
म्यानमार सरकारको राम्रो पहल र त्यहाँका जनताको सावधानीका कारण कोरोना भाइरस विरुद्धको अभियान राम्रो पाएको उनले बताए । बढी संक्रमण देखिएका क्षेत्रमा मात्रै लकडाउन गरिएको थियो ।
उनले भने, नेपालमा कोभिड १९ बाट एकजनाको निधन हुँदा त्यहाँ ६ जानको ज्यान गएको थियो । अहिले नेपालमा ११ जनाको मृत्यु भइसकेको छ । तर त्यहाँ दुई महिनामा पनि मुत्यृ हुनेको संख्या ६ जना नै छ । नागरिक आफै नै सावधान र सचेत भएकाले यो सम्भव भएको हो जस्तो महसुस भएको छ ।
साइकल यात्रामा निस्किएका तीन साथी मध्ये उनी मात्रै विवाहित थिए । विमानबाट झरेपछि शुक्रबार उनले जापानमा रहेकी श्रीमतीलाई टेलिफोन गरे । सम्पर्क भएन । तर छोरीसँग भने उनको कुरा भयो । हेटौँडामा रहेकी पाँच वर्षकी छोरीसँग विक्रमले टेलिफोनमा कुरा गरे । छोरीले उनलाई घर कहिले आउने भनेर सोधिन् पहिलो वचनमै ।
तर उनले छोरीलाई नेपाल आइसकेको भनेका छैनन् । घरमै क्वारेन्टिनमा बस्ने वा अरु ठाउँको सेन्टरमा बस्ने हो भन्ने निश्चित नभएकाले उनले छोरीलाई नेपाल आएको कुरा लुकाएका हुन् ।
उनले भने, ‘घरमै क्वारेन्टिनमा बसे पनि परिवारका सदस्यसँग नजिक जान पाइँदैन । दुई हप्ता मलाई देखेर उनी पर बस्न सक्दिनन् । अहिले भनेको छैन । उनले थाहा त पाउँछिन् होला ।’
क्वारेन्टिनमा कहाँ बस्ने निश्चित नभएको बताएका उनी आफूहरुले सकेसम्म सावधानी अपनाएको जानकारी दिए । उनले क्वारेन्टिनबाटै संक्रमण फैलिएको तर्फ भने चासो देखाउँदै नेपालीहरुले म्यानमारका नागरिकबाट सावधानीका केही गुणहरु सिक्न सक्ने बताए ।
यस्तै आफूले म्यानमारमा रहँदा त्यहाँका धनाड्यले सरकारलाई स्वतस्फूर्त रुपमा सहयोग गरेको देखेको पनि उनले बताए ।
समाचारहरुमा आफूहरुलाई नेपाल सरकारले नै ल्याएको भन्ने जसरी प्रस्तुत गरिएकोप्रति उनले चासो देखाए । म्यानमार सरकारको सहयोग र नेपाली राजदूत भीम उदासको पहलमा आफूहरु आउन सम्भव भएकाले सो कुरा स्पष्ट पारिनु पर्ने उनले उल्लेख गरे ।
उनले भने, ‘नेपालमा रहेका आफ्ना नागरिकलाई लिन आउँदा म्यानमारमा रहेका नेपालीलाई लगिदिन राजदूतले गर्नु भएको आग्रह त्यहाँको सरकारले मानेकाले हामी आउन सम्भव भएको हो । समाचारमा त हामीले टिभी पनि ल्याएको भनिएको छ । तर हामीले साइकल प्याक गरेर ल्याएका हौँ ।’
उनीहरु बिहान सात बजे म्यानमारबाट त्यहाँको आर्मीको विमानमा उडेका थिए । बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरु आएको विमानमा म्यानमारले नेपालका लागि स्वास्थ्य सामग्री पनि ल्याइदिएको छ । म्यानमार आर्मीको विमान विक्रम र उनका साथीहरुसहितका नेपालीलाई यहाँ छोडेर नेपालबाट आफ्ना नागरिक लिएर गएको छ ।
देशसंचार डटकममा वर्षा शाहको रिर्पोट ।