बागमतीमा ७८ कानुन निर्माण, ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशसभाले विहीबार स्थापनाको छैटौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभाले यो ६ वर्ष अवधिमा ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको छैटौँ अवधिमा सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो ।

सो अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ वटा विधेयक मध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ वटा विधेयक मध्ये ७७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएको छ भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको छ ।

प्रदेशसभाको ६ वर्षको अवधिमा मूल ऐन ४७ वटा रहेका जनाइएको छ भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका छन् । सो अवधिमा २० वटा संशोधन सहित ऐन पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् । प्रदेशसभाको ६ वर्षको अवधिमा १३ वटा अध्यादेशहरू जारी भएका छन् भने १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएको सचिवालयले जनाएको छ । प्रतिस्थापनका लागि प्राप्त विधेयक मध्ये ६ वटा अध्यादेशले ऐनको रुप लिएको छ । सो अवधिमा ४ वटा अध्यादेशका प्रतिस्थापन विधेयकहरू फिर्ता भएका छन् भने ३ वटा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् । सो अवधिमा २ वटा कार्यविधि एक नियमावली र एक नियमावली संशोधन पारित भएको छ ।

प्रदेशसभाको ६ वर्षको अवधिमा १६ पटक शून्य समयको कार्यसूची रहेको छ भने ३३ वटा विशेष समय, मुख्यमन्त्रीसंगको प्रश्नोत्तर १५ पटक, मन्त्रीको जवाफ २ पटक, सार्वजनिक महत्वको प्रस्ताव २ र ध्यानाकर्षण तथा संकल्प प्रस्ताव १/१ वटा पारित भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालमा पनि कानुन निर्माणमा निकै सुस्त देखिएको छ । प्रदेश सभाको संसदीय समितिले अझै नेतृत्व पाउन नसकेको अवस्थामा कानुन निर्माण प्रक्रिया न्यून रहेको हो । दोस्रो कार्यकालका लागि भएको निर्वाचन पश्चात् गत २०७९ पुस १८ मा पहिलो बैठक सञ्चालन भएको प्रदेशसभाको २ वटा अधिवेशनमा ५६ वटा बैठक सञ्चालन भएको छ । सो अवधिमा प्रदेशसभाबाट ८ वटा विधेयक पारित भएको छ भने पारित विधेयक मध्ये ७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । एउटा विधेयक प्रदेशसभामा पुनर्विचारका लागी फिर्ता आएको छ ।

सो अवधिमा प्रदेशसभाबाट ४ वटा मूल ऐन सम्बन्धी विधेयक र ३ वटा संशोधन विधेयक पारित भएको छ । प्रदेशसभाबाट २ वटा सालबसाली विधेयक पारित भई कार्यान्वयनमा आएका छन् । यस अवधिमा प्रदेशसभामा पेस भएका १२ विधेयक मध्ये ३ वटा संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा रहेको छ ।

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नव प्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न विधेयक, २०८० समितिमा विचाराधीन अवस्थामा छ भने प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने संसद्मा दर्ता भएर रोकिएको छ ।