प्रदेश सरकारले बनाउला सुरुङमार्ग ?

लोकखबर
१९ माघ २०७६, आईतवार १६:१४

मकवानपुर । हेटौंडा-काठमाडौं सुरुङमार्गको सपना बाँड्ने काम नेपाल पूर्वाधार विकास कम्पनि र यसको नेतृत्व लिएका मकवानपुर निवासी व्यवसायी कुशकुमार जोशीले गरे । पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) को अवधारणामा निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सडक आयोजना भएकाले कति सफल असफल भन्ने परीक्षण हुदै थियो । यसका लगानी गर्ने धेरैको आशामा तुषारापात लगाउँने काम भयो । अर्थात्, जनताको लगानीमा निर्माण गर्ने भनिएको सुरुङमार्ग निर्माण गर्न यसको जिम्मेवारी पाएको कम्पनि असफल भयो । लगानी जुटाउँन नसकेर ठूलो परियोजना सफल हुन सकेन । वि.सं. २०६८ भदौमा स्थापना भएको नेपाल पूर्वाधार विकास कम्पनीले ‘हामी सक्छौं’ भन्ने आकर्षण नाराले लगानी जुटाउँन अपेक्षा गरेको थियो । तर सोचेजस्तो कामको गति अघि बढ्न नसकेपछि कम्पनि सुरुङमार्ग निर्माण गर्ने सपना बाँडेर मात्रै बस्यो । यदि आम नागरिकका बिचमा बाँडिएको सपना पूरा भएको भए विं.सं.२०७४ साल मंसिरमा सुरुङमार्ग निर्माण सकिएर त्यसबाट लाभ लिइसकेको अवस्था हुने थियो । तर निर्माण कार्य २०७० कात्तिक-मंसीरमा काम थालेर २०७४ मंसीरमा सक्ने भनिएको सुरुङमार्गमा प्रगति नभएपछि निर्माण गर्छु भन्ने कम्पनिप्रति नागरिकको भरोसा टुट्न थाल्यो ।

नागरिकको टुटेको भरोसालाई अहिले बागमती प्रदेश सरकारले विश्वास दिलाउँन खोजेको छ,सुरुङमार्ग निर्माण गर्ने योजना सुनाएर । प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सुरुङमार्ग निर्माण गर्ने गौरवको योजना अगाडी सारेको पनि थियो । तर सुरुङमार्ग निर्माण गर्ने जिम्मा पाएको पूर्वाधार विकास कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी रहेका कारण पहिलो वर्ष प्रदेश सरकारले मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन । तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गरी जसरी पनि यो महत्वकांक्षी योजना सफल बनाउँने लक्ष्य लिएको छ । यसैले त विभिन्न सार्वजनिक मञ्चमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सुरुङमार्ग निर्माण गर्ने योजना सगौरव अघि सारिरहेका छन् । पहिले काम थालनी गरेको पूर्वाधार विकास कम्पनिको असफलताको पाठ प्रदेश सरकारलाई हुँदाहुँदै यो सपना बाँडिएको छ । सपनामात्र होइन, प्रदेश सरकारले कार्य नै अघि बढिसकेको दाबी गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी ३ महिनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भएको जनाएको छ । सुरुङमार्ग तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने मन्त्रालयको भनाई छ । निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने पनि मन्त्रालयको अनुमान छ । अहिले भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेल सुरुङमार्ग जसरी पनि निर्माण हुन्छ भन्नै सपना बाँडिरहँदा सरकारको योजना भएकाले अब चाँही पक्कै निर्माण होला कि भन्ने अपेक्षा मकवानपुरबासीमा छ । प्रदेशको गौरवको आयोजना भएकाले वर्तमान प्रदेश सरकार यो महत्वकांक्षी योजना पूरा गर्ने लक्ष्यमा रहेको अन्य मन्त्रीको पनि धारणा रहेको बुझिएको छ । सुरुङमार्ग निर्माण सफल हुन सके बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौंलाई जोड्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने देखिन्छ । सुरुङमार्गमार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने दाबी प्रदेश सरकारको छ । प्रदेश सरकारका अनुसार सुरुङमार्ग निर्माणका लागि अहिले प्राविधिक पक्षमा ध्यान दिइएको छ । सरकारले अहिले भीमफेदीदेखि सिस्नेरीसम्म साँढे ३ किलोमिटर सुरुङ बनाउँने योजना अघि सारेको हो । सिस्नेरी उताको सडकलाई फराकिलो बनाएर अघि बढ्दा हेटौंडा देखि काठमाडौंसम्म दुई घन्टामा आवात जावत गर्न सकिने योजना छ । सुरुङमार्ग निर्माण कार्य आगामी २०७६ साल वैशाखबाट सुरु गर्ने सरकारको योजना रहेको मुख्यमन्त्री पौडेलले बताउँदै आइरहेका छन् ।

सुरुङमार्ग निर्माण सम्पन्न भएपछि समय मात्र बचत नभई इन्धन र स्पेयर पाट्र्समार्फत खर्च हुने वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम बचत पनि अपेक्षा गरिएको छ । पूर्वाधार विकास कम्पनिले सुरुमा देखाएको सुरुङमार्ग निर्माणको सपना उचित व्यवस्थापनमा ध्यान नदिँदा सुरुङमार्ग निर्माण कार्य अन्यौलमा परेको थियो । विगतमा गाउँगाउँका जनतासंग शेयरमार्फत उठाइएको रकम अब के हुन्छ विषयमा अन्यौलता छाएको छ । आजको मध्यस्थता साप्ताहिकमा समाचार छापिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*