सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा दोब्बर

लोकखबर
२६ असार २०७७, शुक्रबार ०६:१८

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) का कारण बन्द रहेका सार्वजनिक यातायात खोल्न दिने सरकारले निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर यातायात संचालन गर्न पाइने छ ।
काठमाडौंमा उपत्यकाभित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् ।
सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्ने तथा अन्य यातायातका साधन संचालनका लागि समय लाग्नेछ । ट्याक्सीको हकमा चालक बाहेक दुई जना मात्र चढ्न पाउने छन् । यसरी संचालन गरिने सार्वजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाइने छ । यसरी सवारी संचालन गर्दा ५० प्रतिशत भाडा बढी लिन पाइने भएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्ने सरकारको भनाई छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको जनाइएको छ ।
काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ ।
निजी सवारी साधनमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ । जोरबिजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ ।
काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन् ।
सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन् । यस्तै एकतर्फको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनुपर्नेछ । सरकारले तोके अनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाइनेछ ।
यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ। सबै यात्रु्ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसंक्रमण गराउनुपर्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*