व्राम्हणक्षेत्री समुदायले धान्दै आएको घाटुनाँचको भाका लोप हुंदै

संरक्षणमा जुटे वृद्धवृद्धासंगै नयां पुुस्ता
देवचन्द्र भट्ट
३० बैशाख २०८२, मंगलवार २१:५४

विदुर–नयां पुस्ताले सिक्न चासो नदेखाएपछि नुवाकोटमा प्रत्येक वर्ष गरिदै आएको घाटुनांचको परम्परा तथा यसको भाका लोप भएको छ । सम्वन्धित निकायको वेवास्ताका कारण घाटुनाचको भाका लोप भएर यसको सदियौं पुरानो नाच नै वन्द हुने अवस्थामा पुगेको छ ।
ठाडो र मिठो लयमा गाइने घाटु भाका वुढापाकाले मात्र गाउंदै आएका थिए । नयां पुस्ताले नसिकेको र सरोकारवालाले भाका तथा घाटु नांचको संरक्षणका लागि पहल नगरेका कारण नुवाकोटमा घाटु भाका र नांच नै वन्द हुन पुगेको हो ।
नुवाकोटको विदुर नगरपालिका ५ माझीटारस्थित रक्तकाली मन्दिर परिसरमा सदियौं वर्ष अगाडिदेखि प्रत्येक बर्ष चण्डीपूर्णिमाको अवसरमा तीन दिनसम्म भव्य रुपमा व्राम्हण क्षेत्रीकै अगुवाईमा घाटुनाच नाच्ने गरिएकोमा भाका लोप हुंनुका साथै घाटु नांच नै वन्द हुने अवस्थामा पुगेको वुढापाकाको भनाई छ । यस वर्ष पनि स्थानयिले सो घाटु नांच मेला मंगलवार गरेका छन् ।
घाटुनांच र यसको भाका लोप हुनुमा सरोकारवाला निकाय जिम्मेवार रहेको उनीहरुको भनाई छ । निकै गहिरो शव्दमार्फत गाइने यो भाका नै विशेष रहेको वुढापाकाहरुको ठहर छ ।
सदियौं पहिले माझीटारमा रहेका मगर र माझीहरुले मात्र मनाउने गरेको घाटुनांच र जात्रा केहि समयपछि मगरहरु बसाई सरेर अयन्त्र गएपछि उनीहरुको संख्यामा कमि आएपछि व्राम्हणक्षेत्री समुदायले सो नांच देखाउंदै आएका छन् । हाल आएर यसको संरक्षणका लागि वृद्धवृद्धा तथा युवा पुस्तासमेत सक्रिय भएका छन् ।
मझिटारवाट माझीहरु पनि गाउं छाडेर गएपछि यो नाचको केहि वर्ष देखि स्थानीय व्राम्हण तथा क्षेत्री समुदायका अगुवाहरुले चलाइरहेकोमा नयां पुस्ताले चासो नदिएर अन्यत्र काममा व्यस्त भएपछि यो परम्परा नै लोप हुदै गएको स्थानीयवासीको भनाई छ । यो परम्परा लोप हुदै जानुमा स्थानीय संस्कृति नै लोप भएर गाउंको चिनारी नै हराउंदै गएपछि गाउंका अगुवाहरुको नेतृत्वमा यसलाई निरन्तरता भने दिइदै आइएको वृद्ध राजेन्द्रवहादुर अर्यालको भनाई छ ।
यस वर्ष भने परिवर्तित समयसँगै पछिल्लो पुस्ताले घाटु नाँचप्रति रुचि देखाएपछि उक्त नाँचको संरक्षण र सम्बद्र्धनमा केहि दशकसम्म गाउँका युवा तथा वृद्धहरु जुटेका हुन् । घाटुनांच गरिए गाउंमा रोगव्याधीले समस्या नपार्ने जनविस्वासमा यसलाई आफुहरुले निरन्तरता दिइएको घाटुलय गाउन सक्रिय स्थानीय ६९ वर्षिय गोपाल अर्यालको भनाई छ ।
३७ वर्षदेखि आफ्नै गाउंमा घाटुलयमा गीत गाउंदै आएका ७० वर्षिय इन्द्रवहादुर अर्याल नया. पुस्ताले यस लय र भाकालाई सिक्न चासो नदिएकोमा गुनासो गरे । जेनतेन अहिलेसम्म धानिएको छ, हामी वुढापाका मिलेर गाएका छौं, हाम्रोपछि यसलाई निरन्तरता दिने शंका छ–अर्यालले अगाडि भने ।
यस वर्ष उनीहरुलाई ६७ वर्षिय चन्द्रवहादुर थापा, ६८ वर्षिय नीरवहादुर अर्याल, ५८ वर्षिय अनीर अर्याल, ६४ वर्षिय रामजी मिश्र र ६७ वर्षिय शम्भुवहादुर थापाले घाटु गाउन सहयोग गरे । स्थानीय विपना अर्याल र सपना अर्याल दिदीवहिनीले घाटु भाकासंगै आफ्नो नांच प्रस्तुत गरेका छन् ।
अर्याल दिदीवहिनीले घाटु नाचेको यो लगातार तेश्रो वर्ष हो, उनीहरुले घाटुलयमा मिलाएर आकर्षक रुपमा घाटु नांचेको हजारौं सर्वसाधारणले अवलोकन गर्ने गरेको घाटु मेला सन्चालन समितिका अध्यक्ष योगेन्द्र अर्यालको भनाई छ । माझिटारमा सति घाटु नाचिदै आएको छ ।
दुई सय वर्ष पहिलेदेखि माझिटारमा रहेको रक्तकाली र चण्डी मन्दिर परिसरमा मनाइँदै आएको घाटु जात्रामा बढ्दो आधुनिकतासँगै युवा समुदायको आकर्षण घट्दै गएको कारण यो जात्रा नै हाल आएर लोप हुने अवस्था भएको छ । यद्यपि, वृद्धवृद्धाहरुसंगै आफुहरु गाउंको संस्कृति, पहिचान तथा सदियौं पुरानो परम्परा संरक्षणका लागि खटिएको अध्यक्ष अर्यालको भनाई छ ।
चण्डीपूर्णिमाको अवसरमा स्थानीयवासीले सदियौं पहिले कसैलाई पनि रोगव्याधी नलागोस् भन्ने उद्देश्यले दुईजना कन्यालाई राजारानी बनाएर १५ दिनसम्म लामो भाकामा बृद्धहरुले गीत गाउंदै किशोरी नचाउने नाँच नै घाटु नाँचको रुपमा लिइएको छ । घाटुनाँचका लागि गीतको लय जान्ने नयां पुरस्ता कोही पनि नभएका कारण यो परम्परा थमौती गर्न गाह्रो भएको स्थानीयवासीको भनाई छ ।
यो परम्परालाई जीवन्त राख्नुपर्नेमा आफुहरु सकारात्मक रुपमा रहेको जनाउंदै विदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले स्थानीय कला, संस्कृति तथा नाचलाई वचाउने दायित्व आफुहरुको पनि भएको वताए । उनले घाटु नाच्ने वालिका तथा ठाडो भाकाको घाटु लय गाउने नयां व्यक्तिहरु नभएका कारण यो भाका र नांचको संरक्षणका लागि नयां पुस्ता तयार पार्न आवस्यक रहेको वताए ।
पहिला घाटुकै लागि विर्ता जग्गा भएपनि अहिले मासिएको र स्थानीयहरुको चन्दा सहयोगमा मेला सञ्चालन हुँदै आएकोमा घाटु नाच र लय नै लोप हुने आशंकामा आफुहरु मिलेर यसको निरन्तरता दिएको स्थानीय वृद्ध राजेन्द्रबहादुर अर्यालले वताए । यस जात्राको संरक्षणका लागि सरोकारवालाले चासो वढाउनु पर्ने उनले वताए ।
पछिल्लो समय केहि युवा तथा वृद्धहरुले यसखाले पुरानो संस्कृति संरक्षणमा लागेका कारणले यो पर्व थामिएपनि यसको निरन्तरताका लागि दीर्घकालीन योजना आवस्यक रहेको स्थानीय युवा जीतेन्द्र अर्याल वताउंछन् । माझिटारमा नाँचिदै आएको घाटु नांचको विधिको बारेमा पुराना पाका अगुवा रत्नबहादुर ओझाको निधन भएसंगै यस भाका तथा नाचको संरक्षणमा उदासिनता छाएको स्थानीय राजकुमार अर्याल घाटुप्रति नयां पुस्ताको आकर्षण वढाउनु पर्ने वताउंछन् ।
यस्तै नुवाकोटको खानीगाउँमा पनि सती घाँटु मेला गरिएको छ । १५ दिन देखि लाग्ने जात्राको मुख्य आकर्षण माझिटार र खानीेगाउँको जात्रामा समानता रहेको स्थानीयवासी वताउंछन् ।
घाटु नाच्नका लागि रजश्वला नभएका बालिकाहरुलाई लगाइने र घाटुनाचमा विभिन्न सात प्रकारका पर्वको कथा र जविनमा आइपर्ने घटनाक्रममो वारेमा घाटुलयमा गाइएको गीतमा दुई जना किशोरीहरुले नाच्ने परम्परा रहेको छ । अहिले आएर नयां पुस्तामा कथावस्तु गाउनेहरुको खाँचो हुंदै गएको छ ।
खानीगाउँमा गरिदै आएको घाँटु नाँचको प्रसिद्धि राम्रो रहेपनि पछिल्ला वर्षहरुमा मेला व्यवस्थित गर्न नसक्दा दर्शकहरुको संख्यामा कमी आएकोले युवा तथा स्थानीयहरु टाढा देखिका दर्शक गाउँमा भित्र्याउन यस पटक पनि लागि परेका छन् । नुवाकोटको माझिटार र लिखु गापाको खानीेगाउँमा लाग्ने सती घाँटुनाचको विशेष आर्कषण रहेको छ ।
साथै नुवाकोटको खानीगाउका मगर समुदायले पनि घाटु नाँच सम्पन्न गरेका छन् । खानीगाउँको किटिनीखानीमा पनि घाँटु नाँच गरिदै आएको हो ।
निकै आकर्षक रहेको घाटुनाच खानीगाउंका मगरहरुले पनि मनाएका हुन् । नयां पुस्ताले घाटुनाच र यसको लयका वारेमा सिक्न चासो नदिएका कारण वुढा हुदै गएका अगुवाहरु चिन्तित हुदै गएका छन् ।
जेनतेन वर्षेनी यसको सञ्चालन त गरिन्छ । तर, नयां पुस्तामा रुचि नरहेको पाइएको छ ।
चौतारोको वीचमा लहरै बसेका बृद्धहरुले दुई कन्याहरुको अगाडि घाटु लयमा गीत भन्दै नचाउने परम्परा रहेको छ । घाटु नाँच हेर्नका लागि स्थानीयवासीका साथै नुवाकोटको विदुर, त्रिशूली, बट्टार तथा रसुवा, धादिङ, काठमाडौंबाट समेत हजारौं सर्वसाधारण आउने गरेका छन् ।
पाँचदेखि १३ वर्ष उमेर समूहकी दुइवटी कन्यालाई लगातार तीनवर्षसम्म घाटु नाँच नचाइने परम्परा रहेको छ । तीन दिनसम्म कन्यालाई घरमै नचाउने र पूर्णिमा र चतुर्दशीका दिन दुईदिनसम्म माझिटारको रक्तकाली र चण्डी मन्दिर परिसरमा नचाइने गरेको छ । घाटु नाँच्दा गीत गाउने वृद्धहरुले हिन्दुसंस्कार अनुसार ३३ कोटी देवतालाई पुकारेर कसैलाई पनि कुनै रोगव्याधी नलागोस् भनेर गीत गाउने गरिन्छ ।
पहिले चण्डीमन्दिरमा पूजापाठ गरी राजारानीको विवाह गरेपछि सुरु हुने घाटु नाँच लडाईंमा राजाको मृत्यु भएपछि उनकी रानी सती गएपछि घाटु नाँच सकिने परम्परा रहेको छ । स्थानीयस्तरमा घाटुनाचको जात्राको नामले परिचित घाटुनाच गाउमा शान्ति पुजाको रुपमा नचाइने घाटु नाचमा अहिले आएर क्षेत्रीहरुको साथमा स्थानीय मगर, कुमालहरुले पनि साथ दिएका छन् ।
दुई सय वर्ष भन्दा अगाडिको कथामा रहेको राजा रानीको कथामा आधारित घाटु लय र नाचका नर्तकहरु दुई जना किशोरी मात्र रहन्छन भने गीत गाउनेहरुमा सात जना रहने गरेका छन् । उनीहरुले गाएको गीतको किशोरीहरुले दिन र रात भरीनै नाच्नु पर्ने चलन रहेको छ ।
बैशाख पूर्णिमा अघिको पञ्चमीको दिनबाट सुरु हुने घाटु नाच तृतीयाको दिन विहान देवी देउरालीमा कुखुरा बली दिएर पुजा गरी दोबाटोमा हलो गाडी बोकाको बली दिएर सकिन्छ । हरेक बर्ष स्थानीय समुदायले मनाउने सति घाटु नाँच यो बर्ष पनि नाँचको रौनकता बढेको थियो ।
पछिल्लो समय लोप हुने खतरामा पुगेको घाटुनाँचको संरक्षण गर्न माझिटारका युवा तथा वृद्ध वा आमालगायत मिलेर निरन्तरता दिएकोमा विदुर नपाका मेयर राजन श्रेष्ठले प्रशंसा गरे । उनले नपाको सहयोगमा लोप हुने क्रममा रहेको घाटुनाँचलाई जीवन्त टिकाउनका लागि विदुर नपा सक्रिय रहेकोसमेत वताए ।
घाटु नाँचमार्फत राजा र रानीको जीवन कथालाई नाँचमार्फत कला प्रस्तुत गरिने परम्परा रहेको छ । नृत्यमा रजश्वला नभएका दुई जना कन्यालाई स्थानीय भेषभूषामा सजाई १५ औँ शताब्दीका राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिएको किंवदन्ती रहेको छ ।
घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिएकोे छ । नुवाकोटमा मगर समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको स्थानीयवासीले बताएका छन् ।