जम्मु शहरमा गोलावारी

विदुर–भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा पुनः गोलाबारी भएको छ । समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो ।
भारत–पाकिस्तान सीमामा गोलाबारी सुरू भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले भारतीय जम्मु कश्मीरको सीमा क्षेत्रमा गोलाबारी गरेको हो ।
पाकिस्तानले शुक्रबार राति साम्बा, पठानकोट, कुपडाव, उरी, नावगाम, हंडवाडलगायत सीमा क्षेत्रमा गोलाबारी गरेको हो । भारतीय पक्षले त्यस क्षेत्रमा ब्लाक आउट गरेको छ भने भारतीय डीफेन्स सिस्टमलाई एक्टिभ गरिएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।
भारतले त्यसविरुद्ध जवाफ कारबाही पनि सुरु गरेको बताइएको छ । पाकिस्तानले सो क्षेत्रमा बिहीबार पनि रात साँझ परेलगत्तै आक्रमण गरेको थियो । भारतले पाकिस्तानको ३–४ ड्रोनलाई निस्तेज पारेको दाबी गरेको थियो ।
‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ । शहरभरि साइरनको आवाज सुनिन थालेको छ ।’
मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन् । ‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्, ।’
उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस् । हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ ।’
भारत-पाक द्वन्द्वको इतिहासः
सन् १९४७ मा भारत विभाजित भएर पाकिस्तान बनेको थियो । बेलायती उपनिवेशले कोरेको विभाजनको रेखाअनुसार मुस्लिम–प्रमुख पाकिस्तान र हिन्दू–प्रमुख भारतका रूपमा विभाजित भयो । यसपछि मानव इतिहासमा सबैभन्दा ठूलो र शायद सबैभन्दा रक्तपातपूर्ण आप्रवासन भएको थियो ।
७८ वर्षपछि, दुई देशहरू पुनः कडा दुश्मनको अवतारमा एकअर्काका सामु प्रस्तुत भइरहेका छन् । दुवै राष्ट्र आणविक हतियार सम्पन्न छन् ।
अप्रिल २२ मा भएको पहलगाम हमलापछि भारत र पाकिस्तान बीचको तनाव फेरि तीव्र रूपमा बढेको छ । मुस्लिम–बाहुल्य कश्मीर क्षेत्र भारतको विभाजनदेखि नै विवादित भूमि बनेको छ ।
भारत, पाकिस्तान र चीनले कश्मीरको एक–एक हिस्सा नियन्त्रण गरेका छन् । दुई देशहरूले चार पटक युद्ध गरेका छन्, र धेरै सिमाना–पार झडप र तनावपूर्ण अवस्थाको सामना गर्दै आएका छन् ।
केही वर्षअघि सन् २०१९ मा कम्तीमा ४० भारतीय सैनिकहरूलाई पाकिस्तान आधारित सशस्त्र समूह, जैश–ए–मुहम्मदले गरेको आत्मघाती हमलामा मारिएका थिए । प्रतिशोधमा, भारतले सोही महिनामा बलाकोट, खैबर पख्तुनख्वामा हवाई हमला गरेको थियो ।
यसबाट पाकिस्तानमा आश्रित रहेका भनिएका आतंकवादी आधार क्षेत्रहरू क्षतिग्रस्त बनेको भारतले जिकिर ग¥यो ।
अमृतसर शहरमा विस्फोट र ‘भीषण गोलीबारी’ को आवाज, साक्षीहरूले समाचार संस्था रोयटर्सलाई दिएको जानकारी अनुसार भारतको उत्तरपश्चिमी राज्य पञ्जाबको अमृतसर शहरमा चारवटा विस्फोटको आवाज सुनिएको छ । अमृतसर पाकिस्तानको सीमा नजिकै रहेको शहर हो, जुन सीमाबाट करिब ३० किलोमिटर टाढा पर्छ ।
अलजजिराका अनुसार पत्रकार रविन्दर सिंह रोबिनले पनि शहरमा ‘भीषण गोलीबारीको आवाज’ सुनिएको रिपोर्ट गरेका छन् ।
‘केही समयअघि मात्र, अमृतसरको अजनाला रोड नजिक एयर फोर्स क्यान्टोनमेन्ट क्षेत्रमा भीषण गोलीबारीको आवाज सुनियो,’ उनले एक्समा एक भिडियोसहित पोस्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट ः आतङ्कवादी हमलाको भत्र्सना
प्रधानमन्त्री केपी शर्माओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए छन् ।
उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए । (एजेन्सीहरुको सहयोगमा)