भारतीय विभिन्न सहरहरूमा ड्रोन हमला
बिदुर–पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको बताएको हो ।
यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ । पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ।
पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि पूर्ण रूपमा अन्धकार छ ।
यसैबिच, जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ । आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।
नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवै तर्फबाट भारी गोलाबारी भइरहेको समाचार छ । भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोट भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन । तर, परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’, उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’
कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ । भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।
पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो । पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।
भारत–पाकिस्तान तनावः नेपालको भारतलाई समर्थन
नेपाल सरकारले भारत र पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ ।
‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ ।
‘उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो । आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ । ‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ । ‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौं। भारत–पाकिस्तानबीचको तनाव कम हुने आशा छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो । अपरेसन सिन्दुर नाम दिइएको आक्रमणमामा २६ जनाको मृत्यु भएको थियो । जसमा जैश–ए–मोहम्मदका प्रमुख मसूद पनि मारिएका छन् ।
पाकिस्तानबीच बढ्दो तनावलाई ख्याल गरेर सशस्त्र प्रहरी बल ९एपीएफ० ले सीमा क्षेत्रमा गस्ति बढाउनुका साथै चेकप्वाइन्टहरू राखेको छ । सशस्त्र प्रहरीले ४८ घण्टामा सीमा क्षेत्रमा एक हजार आठ सय ४४ ठाउँमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरीले तीन सय १२ पटक सीमा क्षेत्रमा गस्तीसमेत गरेको छ । ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र दुई सय २८ वटा एकल गस्ती गरेको डीएसपी थापाले बताए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा १० हजारभन्दा धेरै जनशक्ति परिचालन गरेको छ ।
सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँगको समन्वयमा सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको डीएसपी थापाले बताए ।
आईपीएल खेल रद्द
पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ । मैदानका सबै फ्लडलाइटहरू निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो ।
खेल रोकिँदासम्म पञ्जाबले १०।१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।











































