भारत–पाकिस्तान तनाव, मध्यरातदेखि आक्रमण

नेपालमा सुरक्षा वैठक
लोकखबर
२०८२ बैशाख २४, बुधबार १८:३७

विदुर– जम्मू कश्मीरको पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा हवाई (मिसाइल) आक्रमण गरेको छ । बुधबार राती करिब साढे १ बजे ‘अपरेशन सिन्दूर’  अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादलगायत ९ क्षेत्रमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आक्रमण गरिएका क्षेत्रलाई भारतले आतंकवादी अड्डा भनेको छ । समाचार एजेन्सी एएनआईको दाबीअनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ । भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानको सीमावर्ती क्षेत्रबाट पनि भारी गोलाबारी र ठूलो विस्फोटको रिपोर्ट आइरहेको छ । पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।
यसैवीच, नेपालमा भारत–पाक तनाववीच सरकारले आफ्नो सुरक्षा चासो दिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले भारत–पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन् ।
सुरक्षा परिषद्को बैठक बोलाएर प्रधानमन्त्री ओलीले बुधबार सो विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार बैठकमा भारत–पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमासमेत छलफल भएको स्रोतको भनाई छ । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षाका बारेमा समेत छलफल भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो सुरक्षा अवस्था र भारत–पाकिस्तान तनावपछि नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलसँग विकसित घटनाक्रमका विषयमा छलफल गरेका हुन् ।
यसअघि गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले बुधबारै तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए ।
भारत–पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । नेपालको सीमा सुरक्षाको विषयमा जोड दिइएको सुरक्षाश्रोतको भनाई छ ।
उता, भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भारतले पाकिस्तानका विभिन्न ९ क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
भारतले सिन्दुर अपरेसनअन्तर्गत उक्त आक्रमण गरेको थियो र भारतले आतंकवादविरुद्ध विश्वले शून्य सहनशीलता देखाउनुपर्ने बताएको छ । भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको प्रतिक्रिया आएको छ ।
भारतको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाउँदै शाहबाज शरीफले पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार रहेको बताएका छन् । शाहबाज शरीफले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्, शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ ।
उनले भारतको यो आक्रमणलाई युद्धको कार्युको रूपमा वर्णन गरे। पाकिस्तान र पाकिस्तानी सेनालाई शत्रुहरूसँग कसरी व्यवहार गर्ने भनेर राम्ररी थाहा छ, हामी शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिने छैनौं, उनले भनेका छन् ।
प्रधानमन्त्री शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी लुक्ने ठाउँ नभई नागरिक बस्ने ठाउँमा आक्रमण गरेको बताएका छन् । भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्यित गरेको दाबी गरिरहेका छन् ।
म अन्तर्राष्ट्रिय मिडियालाई सबै पक्षमा आएर आफैं हेर्न भन्न चाहन्छु कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा दुई मस्जिदहरू पनि समावेश थिए, बीबीसी उर्दुसँग उनले भनेका छन्, एक बच्चा र एउटी महिला शहीद भएका छन् । मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन । तर, पुष्टि भएका यी सात निशानाहरूमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशानाहरू नागरिक बस्तीमा थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई लज्जास्पद भनेका छन् । म चाहन्छु कि यो धेरै चाँडै अन्त्य होस्, उनले भने ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गरेका छन् ।
विश्वले अर्को भारत–पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन, उनले भनेका छन् । यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ ।
यता, नेपालमा भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो ।
गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो । उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो । भारतको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ ।
त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । यसैबीच दुई देशबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नका लागि एपीएफ हाई अलर्टमा बसेको हो ।
एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रूमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको बताए । उनले भने– एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।
अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको सहप्रवक्ता थापाले बताए । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ ।
पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानविरुद्ध हवाइ आक्रमण सुरु गरेको भारतका तीनवटा फाइटर जेट दुर्घटनाग्रस्त भएका छन् ।
भारतकै भूमिभित्र ती जहाजको भग्नावशेष भेटिएको छ । भारत सरकार र सेनाले औपचारिक तवरबाट यो विषयमा केही पनि जानकारी दिएको छैन । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले भारतीय सुरक्षा सुत्रलाई उद्यृत गर्दै दुर्घटनाको पुष्टि गरेका छन् ।
समाचारहरुमा जनाइएअनुसार दुई जहाजको भग्नावशेष भारत प्रशासित जम्मु कश्मीरमा र अर्को जहाज भारतकै पञ्जाब प्रान्तमा पूर्णरुपमा क्षतिग्रस्त भेटिएको हो । दुर्घटना र कहिले र कसरी भएको भन्नेबारे सञ्चारमाध्यमहरुले विस्तृत जानकारी दिन सकेका छैनन् ।
दुर्घटना भएका स्थानमा सञ्चारकर्मीलाई जान रोक लगाइएको छ । जहाजको बाह्य फ्यूल ट्याङ्क उछिट्टएर खसेका एकाध तस्विर र भिडिओ सार्वजनिक भएका छन् । मुख्य दुर्घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
भारत सरकारका चार स्थानीय स्रोतहरुलाई उद्यृत गर्दै रोयटर्सले तीन लडाकु जहाज दुर्घटना ग्रस्त भएको जनाएको छ । भारतले पाकिस्तानी भूभागमा आक्रमण गर्न पठाएका जहाज दुर्घटना भएर खसेको हुन सक्ने कतिपयको आशंका छ ।
दुईजना पाइलट र कोपाइलट हराइरहेको तथा एक पाइलटलाई अस्पताल लगिएको केही समाचारमा दावी गरिए पनि आधिकारिक पुष्टि भएको छैन । तीनवटै दुर्घटना स्थल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । ती क्षेत्रमा मानिसहरु निकै त्राशमा छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’ नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’का नौ ठाउँहरूलाई निशाना बनाएको थियो ।
भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैरउत्तेजक’ भएको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शरिफले एक वक्तव्यमा भनेका छन्, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ ।’
पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गएराति पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको हो ।
यसैबीच, पहलगाम आतंकवादी हमलाको दुई हप्तापछि कडा बदला लिँदै भारतीय सशस्त्र सेनाले गएराति पाकिस्तानको कश्मीरमा रहेका नौ आतंकवादी शिविरहरूमा हवाई हमला गरेको हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको सीमामा तनाव छ ।
भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ । जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् ।
यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो । (एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको