मेरो गीतमा छमछमी नाँच्ने हेटौंडाका आमाहरु सम्झिराछु : लोकगायिका गीतादेवी

गायिका गीतादेवीसंग कुराकानी
लोकखबर
२७ पुष २०७५, शुक्रबार १६:४३

नेपाली लोकदोहोरीमा गीतादेवी चर्चित नाम हो । ‘भन्नु नभाको’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्यायो । बिचमा सात–आठ वर्ष गीत सङ्गीतबाट टाढा भएकी गीतादेवी विगत ८ महिनादेखि पुन :नेपाली लोकगीतमै फर्किएकी छिन् । पूर्वाञ्चल मोरङमा जन्मिएकी यी गायिका काठमाडौं बस्दै आइरहेकी छिन् । हालसम्म करिब तीन हजार वटा गीत गाइसकेकी गीतादेवीसंग उनको सङ्गीत जीवनका विषयमा गरिएको कुराकानी ।
लामो समय हराउँनुभयो, फेरि गीत गाउँन थाल्नुभएको छ, कता हराउनुभएको थियो बिचमा ?
बिचमा सात-आठ वर्ष मेरो जन्मथलो पूर्वाञ्चल मोरङ्मा बाबाआमासंग बसे । बिचमा मेरो ग्याप भयो गीतसंगीतमा मैले काम गर्न पाइँन । यसका लागि म मेरा स्रोता, दर्शकसंग क्षमा चाहान्छु । गीतसंगीतले दिएको परिचय नगुमोस्, यसलाई कायम राख्नुपर्छ भनेर फेरि पनि फर्किएको छु । जीवनमा कहिलेकाही गरिरहेको कामबाट विश्राम लिनुपर्ने बाध्यात्मक अवस्था आउँदो रहेछ । आठ-नौ महिना यता फेरी लोकगीतमा फर्किएको छु । गीत संगीत रेकर्ड गर्ने काममा फेरी व्यस्त हुन थालेको छु । फेरि पनि मेरा प्रिय स्राता दर्शकले उत्तिक्कै माया गर्छन् भन्नेमा विश्वस्त छु । अब हराउने छैन, निरन्तर गाइरहनेछु ।
तपाईंका धेरै गीत छन्, प्राय : गीत चर्चित नै बने । कहिलेदेखि लाग्नुभएको हो यो क्षेत्रमा ?
सानैदेखि गायकी हुँ । करिब दुई दशकदेखि लोकदोहोरी गाइरहेको छु ।
यति लामो समय भयो तपाई यो क्षेत्रमा लागेको । विगत र अहिले गीत संगीतमा आइरहेको परिवर्तनलाई कसरी लिनुहुन्छ ?
विगतको तुलनामा अहिले धेरै फरक भएको छ । पहिले गीत रेकर्ड गर्दा पनि गज्जब रमाइलो हुन्थ्यो । सबैजना संगै बसेर काम गरिन्थ्यो । अहिले त कसले लेख्यो मान्छे देखिदैन, कसले संगीत दियो थाहा हुदैन । स्टुडियो गयो आफ्नो काम जे हो त्यो गर्यो हिड्यो । त्यो बेला गाउने, बजाउने सबै सङ्गै भएर काम गरिन्थ्यो । प्रविधिको प्रयोगका कारण अहिले धेरै सहजता भएको छ तर आफ्नो वास्तविक कला भने प्रविधिले मारिरहेको छ की भन्ने पनि लाग्छ किनभने अहिले गीत बिग्रीयो भने मिलाउन मिल्छ । बाजा बिग्रीय पनि फेरि गर्न मिल्छ तर पहिले संगै गर्दा  एकजनाको बिग्रियो भने सुरु देखि नै गर्नुपर्थ्यो त्यो बेला राम्रोसंग आफ्नो क्षमता तिखारिने अवसर मिल्थ्यो । अहिले प्रविधिले बिग्रिएको पक्षलाई पनि मिलाउन सकिन्छ । अनि पहिले गीतका अडियो क्यासेटहरु खुब बिक्री हुन्थे, अहिले युट्युवबाट हिट हुने जमाना आयो । गीतमा मौलिकता पनि हराउन थाले । गाउँघर पनि पहिलेजस्तो छैन । अहिले गीतमा छाडापन आइरहेको देख्छु, कलाकार पनि नाङ्गिरहेका छन् । नेपाली लोक संस्कृतिमा यस्ता विकृति हुँदा दुःख लाग्छ । गीत संगीतमा पनि समय अनुसार परिवर्तन हुनुपर्छ तर परिवर्तनका नाममा छाडापन हुने र आफ्नो संस्कृति नै बिगार्ने काम पनि गर्नुहुन्न भन्ने मलाई लाग्छ ।
गीतसंगीतको वर्तमान अवस्था, भविष्यका विषयमा तपाई कलाकारहरुका बिचमा कुराकानी पनि हुन्छ होला नि हैन र ?
हामी आपसमा नेपाली लोक दोहोरीको वर्तमान अवस्था, यसमा गर्नुपर्ने काम लगायत विषयमा कुरा गर्छौ । अहिले गीत संगीतमा भित्रिएका विकृतिका विषयमा पनि राम्रै चर्चा हुन्छ एकापसमा तर यसमा देखिएका विकृती हामी रोक्न सक्दैनौं । के सही के गलत भन्ने काम स्रोता, दर्शक अनि मिडियाको हो ।
खासमा तपाईं गीतसंगीत क्षेत्रमा चाँही कसरी लाग्नुभयो ?
म सानैदेखि गीत गाउँन रुची भएको मान्छे हुँ । मैले स्टेजमा गाइरहँदा शिवनारायण जोशी दाईले देख्नुभयो । मैले गायको उहाँलाई मन परेछ सायद । अनि मलाई गीत गाउनका लागि भन्नुभयो । घरमा पनि मलाई मेरी आमाले गीत गाउँने कुरामा उत्प्रेरणा दिइरहनु हुन्थ्यो । आफ्नै ठाउँमा संगीत सिकाउने ठाउँ खुलेको कुरा मलाई आमाले नै बताउदै संगीत सिक्न जाउ भन्नुभएको हो । हाम्रो पालामा काठे दोहोरी गीत खुब चल्यो । नवराज घोरासैनी, रेशम थापा, घमेश दुलाल, हरि थापा लगायतसंग जोडी बनेर खुब दोहोरी गीत गाइयो ।
अहिले उहाँहरुसंग कस्तो छ सम्बन्ध ? फेरी उहाँहरुसंगै त्यस्तै हिट गाउँने सोच छैन ?
सम्बन्ध सबैसंग राम्रो छ । लामो ग्यापछि रेशम थापासंग ‘लव गर्न भ्याइएन भन्ने गीत गाय अलि अघिमात्र । यो गीत पनि अहिले लोकप्रिय भइरहेको पाएको छु । सबैसंग फेरी गाउँन मन छ । नवराज घोरासैनी र घमेश दुलालसंग पनि गाउँन मन छ । अहिले नयाँ नयाँ गायकहरुसंग नयाँ नयाँ गीत गाउँने अवसर पनि पाइरहेको छु । फेरी पनि पहिलेको जस्तै हिट गीत गाइरहन पाउँ भन्ने लागिरहन्छ । रामशरण पृथकले लेख्नुभएको पञ्चैबाजा बोलको गीत, बलराम समालले लयबद्द गर्नुभएको ‘चरी बनेर’ बोलको मारुनी गीतले पनि राम्रै प्रतिकृया पाइरहेका छन् । यस्तै, अहिले वैदेशिक रोजगारमा जानुपर्ने पीडा समेटर ‘भिसा लाग्यो’ बोलको गीतले पनि राम्रै चर्चा पाइरहेको छु । मुरारी अधिकारीले लेख्नुभएको यो गीत म अनि उद्दव कार्कीले मिलेर गायका हौं । यस गीत पनि अहिले दर्शक तथा स्रोताले युट्युवमा हेरेर राम्रो लागेको प्रतिकृया दिइरहेका छन् । नेपालमा सामाजिक रुपमा देखा परेको वैदेशिक रोजगारीको अवस्थालाई गीतमा उतार्ने प्रयास गरिएको यो गीत हेरेर प्रतिकृया दिनु हुनेछ भन्ने आशा पनि गरेको छु । बिचमा नितान्त पारिवारिक कारण केही वर्ष ओझेल परेको हुँ हराएको होइन, अब निरन्तर लोकदोहोरीकै क्षेत्रमा लागिपर्नेछु ।
अन्त्यमा हेटौंडाका तपाईका फ्यान, दर्शक-स्रोतालाई के भन्न चाहानु हुन्छ ?
हेटौंडा मलाई मनपर्छ । मलाई हेटौंडा भन्ने बित्तिक्कै पहिलेको एउटा मेरो प्रस्तुतीको याद आयो । हेटौंडामा एउटा कार्यक्रममा मैले ‘भन्नु नभाको’ बोलको मेरो हिट गीत गाउँदा केही आमाहरु रुदैं छमछम नाँच्नु भएको थियो । कस्तो संयोग आँखाभरी आँसु छ फेरि छमछम नाँच्नु पनि हुन्छ । त्यो बेलाको मलाई धेरै याद आइरहेको छ । त्यो गीतमा छमछम नाँच्ने आमाहरु अहिले कहाँ के गर्दै हुनुहुन्छ होला सम्झिरहेको छु ।
हेटौंडाका लोकगीत संगीतलाई माया गर्नेहरुले मेरा गीत पनि सुनिदिनु होला । कस्तो लाग्छ भनिदिनु होला । सबैसम्म म राम्रा गीत गाउँने प्रयास गर्नेछु ।मसंग कुराकानी गर्नुभएकोमा लोकखबर टिमप्रति आभारी छु । धन्यवाद ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*