‘झोले व्यापारीको संख्या बढिरहेको छ !’
विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) को जोखिम नियन्त्रणका लागि नेपालमा पनि लक डाउन गरिएको छ । लक डाउनका बेलामा उपभोक्तामाथि खेलवाड भइरहेको गुनासो आइरहेको छ । उपभोक्ता हक हितका क्षेत्रमा लागिपरेकाहरुको भूमिका चाँही के कस्तो भइरहेको यो माहामारीमा ? अहिले उपभोक्ताका सवालहरु के के हुन ? उपभोक्ता हक अधिकारका लागि कुन कुन क्षेत्र जिम्मेवार बन्नुपर्ला ? यस्तै सवालमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य बासुप्रसाद खतिवडासंग लोकखबरका शिव चौलागाईंले गरेको कुराकानी ।
लक डाउनको बेलामा उपभोक्ताका कस्ता कस्ता गुनासो सुन्नुभएको छ ?
अप्ठ्यारो परेको बेलामा बढी कमाई गर्न खोज्नेहरु पनि भेटिए । बजार अनुगमनका क्रममा केही गुनासो हामीलाई प्राप्त भएपछि प्रशासनिक निकायलाई आग्रह गरेर कारवाहीको प्रकृयामा लैजाने जमर्को पनि गरेका छौं । समग्रतामा नियमनकारी निकाय जुन ढङ्मा अगाडी लाग्नुपर्ने हो, त्यो नभइरहेको अवस्था छ । उपभोक्ता लुटिने क्रम रोकिएको छैन । एउटालाई पर्यो, अर्कोलाई चर्चा हुने भन्ने कुरा बढिरहेको छ ।
यो विपदमा के के खाद्यान्नमा कालाबजारी भइरहेको पाइएको छ ?
चामलमा कैफियत भेटिएपछि हेटौंडाको एक जना प्रतिष्ठित व्यवसायीलाई कारवाही भयो । प्रशासनले उनलाई अढाई लाख रुपैंया जरिवना ग¥यो । पछिल्लो समय मासुजन्य पदार्थमा पनि त्यही खालको कुरा रह्यो । अनुगमनका क्रममा बील, बिजक जारी नगरेको पाइयो । यस्तालाई जनही दश हजार रुपैंयाका दरले जरिवना गर्ने काम पनि गरिएको छ । अनुमगनलाई जुन प्रभावकारी ढङ्गबाट लैजानुपर्ने हो त्यसरी गइरहेको देखिदैन ।
विशेषगरी : स्टक बस्तुमा बढी मूल्य लिइयो भन्ने खालका गुनासा पनि आइरहेका छन्, तपाईंहरुले अनुगमनका क्रममा चाँही त्यस्तो पाउनुभएको छ कि छैन ?
हामी उपभोक्ताकर्मीको काम भनेको बजारको अवस्था के हो भनेर उजागर गरिदिने हो । हामीले देखेका कुराहरु सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने एउटा पाटो हो, अर्को पाटो हामीले प्रशासनिक निकायलाई उजुरी गर्ने, हामीले निरन्तर रुपमा यी दुई वटा पाटामा काम गरिरहेका हौं । आधा सिलिन्डर ग्याँस भर्ने कुराकानी हुँदा यसको समस्या आउँछ भनेर हामीले खबरदारी गर्यौं । बजारमा तौल कम भएको सिलिन्डर भेटियो । मुचुल्का तयार गरियो, कारवाही गर भनेर संस्थाले लिखित उजुरी दियो । तर कारवाहीको प्रकृयामा प्रशासनिक निकाय जान चाहेन । लक डाउनका कारण अदालती प्रकृया पनि ठप्प बनेको बेलामा हामीलाई पनि उजुरी गर्दै दोषीलाई कारवाही गराउँन दबाब दिनका लागि असजिलो भइरहेको छ । कारवाही गर्नुपर्ने निकाय आफैं अघि सर्नुपर्नेमा संचारमाध्यमले भनिदिनु पर्ने हामी उपभोक्तावादीहरुले उठाई दिनुपर्ने अवस्था छ । तर पनि कारवाही गर्ने निकाय त्यस्ता सवाल सम्बोधन गर्न तदारुकताका साथ लागेको भने पाइदैन । अहिले बजारमा प्याजको भाउ अत्यधिक बढेको गुनासो आइरहेको छ । यो गुनासो बारे सम्बन्धित निकायलाई हामीले जानकारी गराउँने हो । तर जसले दोषीलाई कारवाही गर्नका लागि भूमिका निर्वाह गर्नुपर्ने हो, सो अनुसारको कार्य भने भइरहेको छैन ।
यो माहामारीका बेलामा उपभोक्तामाथि खेलबाड नहोस् भन्नका लागि तपाईं हाम्रो भूमिका के हुनुपर्ला ?
लक डाउनको अवधिले तीनै तहका सरकारलाई एउटा शिक्षा दिएको छ । ग्रहण गर्ने वा नगर्ने उहाँहरुको कुरा हो । बजारमा तह कति वटा छ भन्ने कुरा कसैले विश्लेषण गरेर ल्याउँदैनन् । तहगत रुपमा आइसकेपछि अन्तिम तहबाट उपभोक्ताले लैजाने क्रममा स्वत ः मूल्यवृद्घि हुने रहेछ । विचौलिया ढङ्गबाट अहिलेको अर्थतन्त्र चलिरहेको रहेछ । झोले विद्यालय भनेर हामीले सुन्यौं । झोले हाइड्रोपावर भनेर हामीले सुन्यौं । अहिले झोले व्यापारीहरुको पनि संख्या बढ्न थाल्यो । प्यान–भ्याटमा फर्म दर्ता गरेर राख्ने तर प्रदर्शनमा नलैजाने, एउटा उत्पादककहाँ बाट एउटा सामान किन्ने, आफू वरपरिका तीन वटा फर्म बनाउँने र त्यसबाट अर्को र अर्कोबाट गरेर चेन घुमाएर अन्तिममा उपभोक्ताकहाँ पुग्ने बेलामा बढी मूल्य लिने गरी चलखेल भइरहेको छ । जबकी ति सामान उही, उत्पादन मूल्य उही रहने गर्दछ । यस कारण सरकारले उत्पादक र थोकबिक्रेता को हो भनेर तोकिदिनुपर्यो । अब थोक बिक्रेताको बजार छुट्टिनुपर्छ, थोक बिक्रेताको संख्या छुट्टिनुपर्छ । थोक बिक्रेताले खुद्रा बिक्री गर्नु भएन । यो पद्घतिलाई व्यवस्थापन गर्ने हो भने हामीले अहिले खोजेको, अहिले भनेको कुराहरुलाई उपभोक्ताको क्षेत्रमा जाने क्रममा चाँही त्यो अवस्था रहनसक्ला । यो लक डाउनको वस्तुस्थिती, समय र परिवेशलाई स्थानीय सरकार, प्रदेश सरकारले यो विषयबस्तुहरु बुझ्न जरुरी छ, यो उहाँहरुलाई शिक्षा नै हो । संविधानले नै उहाँहरुलाई आफ्नो क्षेत्रको बजारलाई व्यवस्थापन गर भनेको हो । अब यो बजार व्यवस्थापन गर्ने कुरा भनेको यही वैज्ञानिक ढङ्गले बजार चल्नुपर्छ र त्यो सिस्टममा बजार व्यवस्थापन गर्न भनेको हो । यो कुरा शिक्षाका रुपमा लिएर उहाँहरुले कार्यान्वयन गर्न थाल्नुभयो भने यी खालका समस्या अन्त्य हुनसक्ला । यही शैलीले दण्डहिनता मौलाएको छ ।
लक डाउनका बेलामा अर्थात् यस्तै माहामारीमा उपभोक्तामाथि के के समस्या हुन सक्लान् ?
व्यापार बिचैलियाको जालोमा रहेकाले व्यापारीको जालोबाट मुक्त गराउन प्रशासनिक निकायहरु अगाडी जानुपर्छ । लक डाउनमा हेटौंडामा मासु जन्य बस्तुको सन्दर्भमा पनि हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको कार्यदलमा पनि केहीले मूल्य बढाउनुपर्छ भन्ने केहीले खबरदारी गर्ने गरेको पाइयो । सकेसम्म बजारभित्रको तह न्यूनिकरण गर्ने बस्तुस्थिती भित्र पुगेर अघि बढ्न नसक्दा उपभोक्ताहरु माथि विभिन्न प्रकारका समस्याहरु भइरहेका छन् । विपदको बेलामा मौका पर्खेर बसेकाहरुले यस्तो बेलामा कसरी हुन्छ फाइदा लिऔं भन्नेमा ध्यान दिन्छन् । उपभोक्तामागि ठगी हुनसक्ने बेला विपद सजिलो बेला हो ।
उपभोक्ता आफैं चाँही के के कुरामा सचेत हुनुपर्ला ?
उपभोक्ता आफ्ना लागि आफैं सचेत बन्नु राम्रो हो । एक बोरा चामल किन्दा पनि मलाई जोखेर देउ भन्नुपर्यो । जे सामान हामीले खरिद गर्छौ, यो सामानको बील लेउ भनेर माग्ने काम उपभोक्ता आफैंले गर्नुपर्छ । यसतर्फ उपभोक्ताले ध्यान दिए भने पनि आफैं ठगिनबाट एक प्रकारबाट जोगिनसक्छन् । आफ्नो अधिकारका विषयमा आफैं सचेत हुनुपर्ने भएकाले उपभोक्ताले आफ्नो अधिकार के हो र आफू कसरी सचेत हुने भन्नेमा ध्यान दिइनुपर्छ ।