अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

– समूह र एकल नृत्य प्रस्तुत
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ २६, मंगलवार १२:०९

बिदुर – विद्यार्थीहरुको नृत्य प्रतिभा उजागर गर्ने उद्धेश्यले नुवाकोटको बट्टारमा आठौँ अन्तरविद्यालय खुल्ला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समूहगत र एकल विद्यामा प्रतिस्पर्धा गराइएको थियो । अन्तरविद्यालय खुल्ला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एकलतर्फ ओममाने पब्लिक स्कुल गेर्खु प्रथम भएको छ ।

नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगततर्फ अर्किड एकेडेमी प्रथम भएको छ भने एकलतर्फ ओममाने पब्लिक स्कुलकी पूर्णिका लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा नुवाकोटका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक किरणप्रसाद अधिकारीका अनुसार विदुर–४, बट्टारस्थित अर्किड एकेडेमीका विद्यार्थीहरूले आकर्षक लोकनृत्य प्रस्तुति मार्फत समूहगत प्रतियोगिताको उपाधि जित्दै नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।

समूहगततर्फ त्रिशूली सामुदायिक बोर्डिङ स्कुल दोस्रो हुँदै नगद १० हजार, दिव्यरत्न बोर्डिङ स्कुल तेस्रो हुँदै ५ हजार तथा इपिक किड्सले सान्त्वना स्थान हासिल गर्दै २ हजार पांचसय नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । एकल प्रतियोगितामा ओममाने पब्लिक स्कुलकी पूर्णिका लामिछाने प्रथम, ज्योतीकुञ्ज एकेडेमीकी रियाना डंगोल दोस्रो, गुडविल एकेडेमीकी सोफिया सुनार तेस्रो तथा ज्योतीकुञ्ज एकेडेमीकी शुभेच्छा धिताल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विजेताहरूलाई क्रमशः ११ हजार १११, ६ हजार ६६६, . ३ हजार ३३३ र १ हजार ५०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका नुवाकोटका ११ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । यसका साथै शिक्षा, सञ्चार, स्वास्थ्य, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंहले विद्यालय र सञ्चारमाध्यमबीचको सहकार्यबाट यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना हुनु कला, संस्कृति तथा प्रतिभा विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।

प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्नुका साथै नेपाली लोककला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूको उत्साहजनक प्रस्तुति र दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगितालाई थप भव्य र सफल बनाएको थियो ।


सर्वाधिक रुचाइएको