ऐतिहासिक धरोहरले भरिपूर्ण हाम्रो मकवानपुर

रामकुमार दानी
२० श्रावण २०७६, सोमबार ११:१९

मकवानपुरको परिचय  : 
नेपालको ७७ जिल्लामध्येको एउटा जिल्ला हो, मकवानपुर । सात वटा प्रदेश मध्येको प्रदेश नम्बर ३ मा परेको मकवानपुर जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलको मध्य तथा उत्तरी भागमा पहाडी जिल्लाका रुपमा अवस्थित छ । उत्तरतर्फ ६६ किलोमिटर लामो महाभारत सृङ्खला र दक्षिणतर्फ ९२ किलोमिटर लामो चुरे पर्वको काखमा एउटा सानो तर रमाइलो स्वच्छ, सफा उपत्यकाको झझल्को दिने मकवानपुर शिशिर याममा हिउँ पर्ने २४८८ मिटरको उच्च भूभाग र दक्षिणतर्फ समुन्द्री सतह १६६ मिटर होचो भौगोलिक वनावटले प्राकृतिक विविधताको दृष्टान्त प्रस्तुत गर्दछ ।

इतिहासलाई फर्केर हेर्दा यस जिल्लाको नामकरण सेन वंशीय राजा मुकुन्द सेनको नाम अपभ्रंस हुँदै मकुन्दपुरबाट मकवानपुर भएको बुझिन्छ । मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसम्म रहेको यस जिल्लाको पूर्वमा ललितपुर, काभ्रे, सिन्धुली, पश्चिमतर्फ चितवन, उत्तरतर्फ धादिङ, काठमाडौं र दक्षिणतर्फ बारा, पर्सा र रौतहट गरी नौ जिल्लासंग सिमाना जोडिएको छ । २४२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला पूर्वमा साँघुरो भई पश्चिमतर्फ बेलुन फूलेझैं फूलेको छ । यस जिल्लाले नेपालको कुल क्षेत्रफलमध्ये १.६ प्रतिशत भाग ओगटेको छ । नेपालको एकमात्र पहिलो त्रिभुवन राजपथसंग जोडिएको यस जिल्लाले देशको अन्य भूभागमा जोड्ने एकमात्र ढोकाको रुपमा परिचित छ । मकवानपुर जिल्लाभित्र महेन्द्र राजमार्ग, कान्तिलोकपथ, फास्टट्रयाक र धरान–चतरा मार्ग जस्ता महत्वपूर्ण ठूला मार्गको प्रयोग गरेर देशको पूर्व पश्चिम,उत्तर-दक्षिण सहजै यात्रा गर्न सकिन्छ ।

तेइस सय वर्ष पहिले अशोक सम्राट नेपाल भ्रमणमा आउँदा स्थापना गरेको चैत्यलोह देखि लिएर चिच्छवीकालीन राजा नरेन्द्रदेवलाई राजा प्रमाणित गर्ने सेन वंशको दरबार रहेको मकवानपुरगढी र मकवानपुर जिल्लाको ऐतिहासिक र महत्वपूर्ण स्थान राणाकालीन भन्सार चौकीको नामले परिचित चिसापानीगढी र कालीतोपले यस जिल्लाको थप ऐतिहासिक महत्व बढाएको छ । राष्ट्रिय गणना वि.सं.२०६८ अनुसार मकवानपुर जिल्लाको कुल जनसङ्ख्या चार लाख २० हजार चार सय ७७ रहेको छ । जसमा महिला ५०.८५ प्रतिशत छन् भने पुरुष ४९.१५ रहेका छन् । जिल्लाको साक्षरता प्रतिशत ६७.९ रहेको छ । तामाङ जातीको उच्चतम बसोबास रहेको यस जिल्लामा ब्राम्हण, क्षेत्री, नेवार, पिछडिएको चेपाङ जाति (प्रजा) लगायत अन्य जातिको पनि बसोबास रहेको पाइन्छ । जिल्लाको हाडीखोलामा लोपोन्मुख वनकरिया जातीको बासस्थान रहेको छ । बहुधर्म, बहुसांस्कृतिक र चाडपर्वहरुबाट सृजित बहुसंस्कार र सामाजिक रहन सहनभित्र सहिष्णुता कायम भई यस जिल्लाको सबै बासिन्दा कृषि पेशामा आधारित छन् । गरिबीको कारण माथि आउँन नसकेको यहाँका बासिन्दा दलित एवम् प्रजाजस्ता पिछडिएको वर्गको जीवनस्तर कष्टकर छ ।

जिल्लाको भौगोलिक सिमाना : 
पूर्वमा ललितपुर, काभ्रे, सिन्धुली जिल्ला हुँदै बागमती नदी, पश्चिममा चितवन जिल्लाको साँध हुँदै लोथर खोला, दक्षिणमा बारा, पर्सा, रौतहट जिल्लाको सिमाना हुँदै चुरे पहाड, उत्तरमा धादिङ, काठमाडौंको साँध हुँदै चन्द्रागिरी पर्वत पर्दछ । यस जिल्लाको उत्तरी सिमानामा दामन, सिमभञ्ज्याङ क्षेत्रमा चिसो समयमा अति चिसो हुने गर्दछ । यसै जिल्लाको तराई भूभागमा गर्मी समयमा अलि बढी नै गर्मी महसुस गर्न सकिन्छ। यस जिल्लाको कुल क्षेत्रफल २ लाख ४४ हजार ४ सय ५७ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको छ । जसमा २५.१५ प्रतिशत कृषियोग्य जमीन रहेको छ ।
मकवानपुर जिल्ला नेपालको प्रदेश नम्बर ३ अन्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । वि.सं.२०४३ सालमा हेटौंडालाई जिल्लाको सदरमुकाम बनाइएको हो । यो भन्दा अगाडी मकवानपुर जिल्लाको सदरमुकाम भीमफेदी थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि यसै जिल्लामा पर्दछ । अहिले आएर मकवानपुरको हेटौंडालाई प्रदेश ३ को राजधानी पनि बनाइएको छ । वि.सं.२०७४ सालपछि प्रशासकीय दृष्टिले पनि यस जिल्लालाई एक उपहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीय तहमा विभाजन गरिएको छ । यस जिल्लालाई प्रमुख जलाधारका रुपमा पनि हेरिन्छ । यस जिल्लामा चार मुख्य ठूला जलाधारहरु पर्दछन् । जसमा बागमती, बकैया, राप्ती र लोथर हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । यस जिल्लाको पूर्वी सिमाना हुँदै नदीको रुपमा रहेको बागमती नदी मकवानपुर र ललितपुरको सिमा हुँदै दक्षिणतर्फ बग्ने बकैया नदी जिल्लाको मध्य भागबाट बग्ने राप्ती पश्चिम भेगबाट बग्ने मनहरी र मकवानुर र चितवनको सिमासंग बग्ने लोथरखोला यस जिल्लाको मुख्य नदी हुन् । यस जिल्लामा विद्युत उत्पादन गर्नका लागि निर्माण गरिएको मानव निर्मित ताल इन्द्रसरोबर नेपालकै मानव निर्मित तालका रुपमा परिचित छ । यो साविकको कुलेखानी गाविस र साविक मार्खु गाविसमा सात किलोमिटरमा फैलिएको छ । यस जिल्लामा ठूला तथा साना गरी तामा, सिसा, कोबाल्ट, चुनढुङ्गा आदि खानी छन् । यी खानीहरु व्यवसायिक रुपमा भने सञ्चालनमा आएका छैनन् । आर्थिक रुपमा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा रहेका खानीहरु ओखरे, बुढिचौर, सुकौरा, इपा र कालिकाटारबाट हेटौंडामा रहेको तीन सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्घिसिद्घि सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छन् । यस जिल्लामा विभिन्न जातको जडिबुटी पाइन्छ । जुन जडिबुटीहरु औषधी बनाउँन प्रयोग गरिन्छ । उक्त जडिबुटीहरु खदिलो, अफुरो, बासक, नीम, तेजपत्ता, पाखनवेद, ठूलो ओखती, तरुल इत्यादी हुन् ।
मकवानपुर जिल्लाकै कुरा गरिरहँदा पर्यटकीय दृष्टिकोणले पनि मकवानपुर धनी छ । नगरक्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रहरु चुरियामाई, भुटनदेवी, गोरक्षेश्वर महादेव, वनस्खण्डी, कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा), पुण्यक्षेत्र, मनकामना, पशुपतिनाथ जस्ता प्रमुख तीर्थस्थलहरु छन् । शहिदस्मारक, चिल्ड्रेनपार्क, आर्ट भिलेज, हर्नामाडी जुरेथुम, कुलेखानी प्रथममा सुरुङ अवलोकन र देशकै चर्चामा रहेको बागमती फोहोर पानीले पनि २२ मेगावाट बत्ति बाल्न सफल माण्डु हाइड्रो पावर विस्तारै पर्यटन गन्तव्यका रुपमा पनि परिचित हुँदैछ । चिसापानीगढी, मकवानपुरगढी महत्वपूर्ण हिमसृङ्खला देखिने दामनको भ्यूटावर, चित्लाङमा बाख्राको दूधबाट बनाइएको चिज, नेपालकै ठूलो चौरका रुपमा परिचित भेडाफार्मको चौर, कुलेखानीको पानीले भीमफेदीमा निर्माण भएको जलविद्युत गृहहरु र इन्द्रसरोवर आदि मकवानपुरलाई चिनाउँन थप बल पुर्‍याउँने पर्यटकीय गन्तव्यहरु हुन् ।

पछिल्लो समय मकवानपुर पर्यटन जिल्लाका रुपमा स्थापित हुदै गएको छ । यस क्रममा हेटौंडा नगर आसपासका शहिद स्मारक, पुष्पलाल पार्क, चिल्ड्रेनपार्क, आर्ट भिलेज हर्नामाडी, जुरेथुम हटिया, ऐतिहासिक धरोहरका रुपमा अवस्थित चिसापानीगढी, मकवानपुरगढी यत्तिक्कै चर्चित छन् । उता कुलेखानी र मार्खुमा रहेको सात किलोमिटर लामो मानव निर्मित ताल इन्द्रसरोवर आठ वटा उच्च हिमसृङ्खलाहरु सजिलै देख्न सकिने दामन, भ्यूटावर, चन्द्रागिरी हिल्स केबलकार, चैत्य लोहार शिवालय, होमस्टे आदि पर्यटकीय स्थलहरु छन् ।

मकवानपुर जिल्ला मध्यपहाडी जिल्ला हो । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडले ढाकेको छ । जाडो याममा हिउँ पर्ने २४८८ मिटरको उच्च भूभाग (दामन-सिमभञ्ज्याङ) र दक्षिणतर्फ समुन्द्री सतहसंग रहेको १६६ मिटरसम्मको होचो भूभाग राइगाउँको हात्तिडुङ्गा यही जिल्लामा पर्दछ । मकवानपुर जिल्ला जातजाती, भाषा, सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिउँ पर्ने उच्च पहाडदेखि समुन्द्री सहतसंगै रहेको समथर मैदान यसै जिल्लामा पर्दछ । मकवानपुर जिल्लाको बस्ती र समुदायलाई लक्षित गरी उत्पादन भएको बस्तु तथा सामान बजारीकरणका लागि र घर घरायसी सामान खरिद बिक्रीका लागि जिल्लाको विभिन्न ठाउँमा बजार र बिक्री केन्द्रहरु स्थापना गरेको पाइन्छ । यसरी स्थापना भएका बजारहरु हेटौंडा, चौघडा, कमाने, औद्योगिक क्षेत्र मनहरी, लोथर, छतिवन, फापरबारी, पालुङ, दामन, शिखरकोट हुन् । यसैगरी मनहरी, भैसे, भीमफेदी, पदमपोखरी, हटिया, बसामाडी, बस्तीपुर, नवलपुर, मार्खु, सिस्नेरी, टेकर, कुलेखानी, नामटार, शिखरकटेरी, हर्नामाडी क्रमश यी बजार उन्मुख ठाउँहरुमा पर्दछन् । यसरी विभिन्न खाले जातजाती, भाषा, धर्म, संस्कृति, धार्मिक, ऐतिहासिक मठमन्दिर, नदीनाला, तालतलैया आदिबाट परिचित छ हामो मकवानपुर जिल्ला ।

 

प्रतिकृया

One thought on “ऐतिहासिक धरोहरले भरिपूर्ण हाम्रो मकवानपुर

  1. राजकुमार लामा says:

    मकवानपुर जिल्लाको पहिचान झल्काउन उच्च योगदान दिने यश लेखका लेखक ज्युलाई हृदयदेखि धन्यवाद । आगामि दिनमा यश जिल्ला मात्र नभइ सिंगो देशको पहिचान झल्किने लेखको पनि पुर्ण अपेक्षा गर्दछु ।।।

यसमा तपाइको मत

Your email address will not be published.


*