कलाकारहरु सम्मानित 

– अध्यक्ष केसीद्वारा सामाजिक सचेतनामा जोड
लोकखवर मनोरन्जन संवाददाता
२०८३ मंसिर १, सोमबार २१:२३

बिदुर – सामाजिक जागरणमा सक्रिय कलाकारहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले सम्मानित गरेका हुन् ।  प्रसारण भइरहेको  टेलिसिरियल ‘परिवेश’ ले ५२औँ शृङ्खलाको यात्रा पुरा गरेको अवसरमा कलाकार सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम गरिएको हो  । सम्मामनित गर्दै कलाकार संघका अध्यक्ष उत्तम केसीले कलाकारहरु समाजको लागि ऐना भएर सामाजिक सचेतनामा क्रियाशील हुनुपर्ने वताए ।

उनले नेपालको पहिचान, संस्कृति तथा मौलिकताको संरक्षणमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएकोसमेत दावी गरे । कार्यक्रममा प्रमुख अतिथि केसीले कलाकारिता क्षेत्रमा निरन्तर मेहनत, लगनशीलता र समर्पण आवश्यक रहेको बताए ।  स्थानीय कलाकारहरूलाई समेटेर ‘परिवेश’ सिरियल निर्माण गरिएकोमा खुसी व्यक्त गर्दै उनले कलाकार संघका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू तयार रहेको धारणा राखे । कार्यक्रममा विभिन्न क्षेत्र, समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा उक्त टेलिसिरियलका कलाकार, प्राविधिक तथा निर्माण टिमको सहभागिता रहेको थियो ।   उद्योग वाणिज्य संघ काठमाडौंका सदस्य चन्द्रबहादुर थापाले ‘परिवेश’ सिरियलकोे सकारात्मक र सिर्जनात्मक कार्यमा आफ्नो सहयोग रहने बताए । सिरियलकी लेखक तथा निर्देशक दीपा घिमिरेले विभिन्न चुनौती र उतारचढावका वीच पनि ‘परिवेश’लाई ५२औँ शृङ्खलासम्म पु¥याउन सफल भएको बताइन् ।  यस यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने कलाकार, प्राविधिक, सहयोगी तथा दर्शकप्रति उनले आभार व्यक्त गरिन् ।

डीएस इन्टरटेन्मेन्टको प्रस्तुति तथा दीपा युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको ‘परिवेश’ प्रत्येक शुक्रबार साँझ ७ बजे दर्शकमाझ आउने गरेको छ । सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र जीवनका विविध पक्षलाई समेट्दै अघि बढिरहेको सिरियलले ५२औँ भागसम्मको यात्रा पूरा गर्नुलाई निर्माण टिमले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । सिरियलमा दीपा घिमिरे, भगवान भण्डारी, रामप्रसाद महर्जन, देवराज लामिछाने, इच्छाराम दुलाल, योगेश्वरी श्रेष्ठ, सावित्रा भट्ट, लक्ष्मण भण्डारी, नीलु श्रेष्ठ, विकास श्रेष्ठ, अमृतमान श्रेष्ठ, सुशान फुयाँल, अम्बिका खतिवडा, दिलीप थापा, सुप्रीम राउत, सरला गौतम नमराज तिवारी, सलिना थापालगायत कलाकारको अभिनय रहेको छ । मनोज मल्लले छायांकन र शर्मिला श्रेष्ठले श्रृंगारको जिम्मेवारी रहेको टेलिसिरियलका निर्माता सुदर्शन घिमिरे रहेका छन् भने सम्पादन कविता राईले गरेकी छन ।


सर्वाधिक रुचाइएको