डा. पोखरेललाई पुरस्कार घोषणा
बिदुर – शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) लाई प्रदान गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गरेकी हुन् । पुरस्कार कार्यक्रमसहित मंसिर महिनामा डा. पोखरेललाई प्रदान गरिने आयोजकले जनाएको छ । कथा, निबन्ध, समालोचना, हास्यव्यंग तथा समसामयिक लेखनमा कलम चलाउँदै आएका पोखरेलले यस अगाडि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमति प्रदेशस्तरीय लघुकथा पुरस्कार प्राप्त गरिसकेका छन् ।

पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मन्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजव्दारा आयोजित लघुकथा प्रतियोगिताहरुमा उत्कृष्ठ स्थान हासिल गरेका छन् । हालसम्म विभिन्न १५ भन्दा वढि भन्दा बढी संघसंस्थाबाट सम्मान तथा प्रशंसापत्र प्राप्त गरेका पोखरेलका कथा, समालोचना, हास्यव्यंग, खोज अनुसन्धान, मानव अधिकार तथा समसामयिक विषयका दशवटा कृति प्रकाशित छन् । यसैवीच, अभिनव साहित्य समाजको २९८ औं कार्यक्रम सम्पन्न भएको छ । समाजको २९८ औ शृङ्खला अन्तर्गत यस वर्षको हरि अभिनव पुरस्कार तथा कदर पत्र संशोधन मण्डललाइ अर्पण, महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती विशेष र नियमित मासिक कवि गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी भूमिसुधार विभागका पूर्व महानिर्देशक तथा गुठी संस्थानका पूर्व अध्यक्ष शम्भुप्रसाद श्रेष्ठले संशोधन मण्डलका प्रतिनिधि प्राज्ञ दिनेशराज पन्तलाइ हरिप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नगद ३० हजार रुपैयासहित कदरपत्र हस्तान्तरण गरिएको थियो । महाकवि देवकोटा र हरिप्रसाद घिमिरेको तस्विरमा माल्यार्पण गरिँदै कविता वाचनबाट कार्यक्रम सुरु गरिएको थियो । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले महाकवि देवकोटा, हरिप्रसाद घिमिरे र अभिनवको विषयमा बोल्दै समग्र कविताको मूल्याङ्कन गरिएको थियो ।

कविता वाचन गर्नेहरूमध्येबाट दिवाकर न्योपाने, कविराज घिमिरे, भावना न्यौपाने, सुशील राजोपाध्याय र ध्रुवराज थापालाइ उत्कृष्ट रचना प्रस्तुत गरे वापत प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गोकेर्णेश्वर नपाका. मेयर दीपक रिसाल, संविधान सभा सदस्य तथा वागमति प्रदेशका पूर्व प्रदेश मन्त्री, रामेश्वर फुयाल तथा शीतल गिरी, प्रह्लाद पोखरेल, पुरुषोत्तम दाहाल, मञ्जु केसी प्रधान, नरेन्द्रराज पौडेललगायतले साहित्यको महत्व र यसको संरक्षणको विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सुरेशचन्द्र घिमिरे, पदम दाहाल, च्यवन बस्नेत, कृष्णप्रसाद पौडेल, निर्मलरमण पराजुली, एनबी जनकपुरी, पुनम घिमिरे, ओमप्रसाद कोइराला, डा. पुरुषोत्तम श्रेष्ठ, रत्ननिधि रेग्मी, ठाकुरप्रसाद खतिवडा, सुशील आचार्य, द्वारिका चालिसे, महेश्वर खनाल, दुर्गा घिमिरे शर्मिला तिमल्सिना, जीत कार्की, कृष्णप्रसाद नेपाल, गोपाल बराल घनश्याम प्रसाई, बासुदेव पौडेल, डा. शेखर अर्याललगायतले आआफ्नो रचना बाचन गरेका थिए ।











































