त्रिशूली झोलुंगे पुल आवतजावतको सहारा

– लाखौं सर्वसाधारणलाई सुविधा
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर १, सोमबार २२:१६

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा विभिन्न पक्कि पुल ध्वस्त पारेपछि जनजीवन नै तहसनहस भएको छ । विनाशकारी बाढीले त्रिशूली नदी आसपासका बस्ती, सडक र पुलहरू तहसनहस बनाएपछि झण्डै तीन महिनादेखि विच्छेद भएको यातायात सम्पर्क क्रमशः पुनःस्थापना हुन थालेको छ । बाढीपछि त्रिशूली नदीका दुई किनारबीचको सम्पर्क पुनःस्थापना गर्न विभिन्न स्थानमा वैकल्पिक संरचना निर्माण र मर्मतका काम अगाडि बढाइएका छन् ।

नुवाकोटको देवीघाट र बेत्रावतीमा बेलिब्रिज निर्माण भइसकेका छन् भने बाढीले क्षति पु¥याएका तीनवटा झोलुङ्गे पुलहरू मर्मत गरी सञ्चालनमा ल्याइएका छन् । गत भदो १० गते वुधवार विहान १० वजे आएको प्रलयकारी बाढीले नुवाकोट, रसुवा र धादिङसम्म ठूलो मानवीय तथा भौतिक क्षति पु¥याउनुका साथै नदी आसपासको जनजीवन अस्तव्यस्त बनाएको थियो । बिदुर नगरपालिका १ ढुंगे र त्रिशूलीवजार जोड्ने दुई वटा पक्कि मोटररेवल पुल बाढीले ध्वस्त पारेपछि उक्त स्थानमा निर्मित एकमात्र झोलुंगे पुल लाखौं सर्वसाधारणको आवतजावतको विकल्प भएको छ ।

उक्त स्थानमा वेलिव्रिजकोसमेत निर्माण भइरहेको छ । विनाशकारी बाढीपछि त्रिशूली नदीमाथि आवतजावतको लागि दुईसय ६८ मिटर लामो एउटै झोलुङ्गे पुल सहारा बनेको छ । विनाशकारी बाढीले सडक तथा पूर्वाधारमा क्षति पु¥याएपछि नदी वारीपारी गर्न सोे झोलुङ्गे पुल लाखौं बासिन्दाका लागि महत्वपूर्ण सहारा बनेको छ । सो पुलले सदरमुकाम बिदुरलाई नुवाकोटको पश्चिमी भेग र धादिङ जिल्लासमेत जोड्ने कार्य गरेको छ । हाल प्रत्यक्ष रुपमा उक्त पुलले विदुर नगरपालिकाका चारवटा वडा, किस्पाङ र म्यागङ गाउँपालिका हुँदै धादिङसम्मको उत्तरी भेगका सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

निर्माण व्यवसायी महासंघद्वारा निर्माण गरिएको सो पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । पुलको दुवैतर्फ पखेंटा राख्ने अर्थात् तार तान्ने र गाड्ने काम वांकी रहेको छ । पुलवाट स्थानीय बासिन्दाको दैनिक आवतजावतलाई सहज बनाउन यस पुलले महत्वपूर्ण भूमिका खेलेको नुवाकोट निर्माण व्यवसायी महासंघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलको भनाई छ । उनका अनुसार बाढीले निम्त्याएको कठिन परिस्थितिमा यो पुल केवल आवतजावतको माध्यम मात्र नभई जनजीवनलाई सामान्य बनाउने आशाको आधारसमेत बनेको छ ।

सम्बन्धित निकायले पुलको निर्माण कार्य सुरक्षित रूपमा यथाशीघ्र सम्पन्न गरी नागरिकको यात्रा अझ सहज र सुरक्षित बनाउन आवश्यक रहेको स्थानीयवासी राजु शाक्यको भनाई छ । मोटरेवल पुल नहुंदा उक्त पुलवाटै आम सर्वसाधारणले वडादशैं र तिहारलगायतका पर्वमा आवतजावत गरेका हुन् । उक्त पुलले यतिखेर बाटो मात्रै होइन, त्रिशूली वारीपारीको मन पनि जोडेको छ । विदुर–१ ढुङ्गे र त्रिशूली जोड्ने सो झोलुंगे पुल सञ्चालनमा आएपछि त्रिशूली नदी वारीपारीका धेरैको मुहारमा खुसी छाएको छ ।

यसपटकको चाडपर्वको उमङ्ग बाढीले निम्त्याएको पीडा र क्षतिका कारण हराएको थियो । यद्यपि, यो पुलले दुःख र सास्तीमा परेका स्थानीयको घाउमा केही हदसम्म मलम लगाएको वडाध्यक्ष लेनिन रन्जितको भनाई छ । नुवाकोटको पश्चिमी भेगमा जाने यात्रुहरु यस वर्षको ठुला पर्वहरु बडादशैं तथा तिहारमा सोही पुलमा लाम बसेरै भएपनि आवतजावत गरे । सो पुलले पैदलै भएपनि आवतजावतको माध्यम वनेर आम सर्वसाधारणको साथ दिएको स्थानीय बाढी पीडित राजेन्द्र धमलाले वताए ।

सो झोलुङ्गे पुल निर्माणमा आर्थिक सहित सम्पूर्ण योगदान पु¥याउने नेपाल निर्माण व्यवसायी महासंघ र नुवाकोट निर्माण व्यवसायी संघ तथा सामग्री लगायत प्राविधिक सहयोग र सहजीकरण गर्ने विदुर नगरपालिकाको यस कार्यको नुवाकोटवासीले खुुसी व्यक्त गर्दै प्रशंसा गरेका छन् । उक्त झोलुंगे पुल आपसी सहकार्य, समर्पण र मानवीय सेवाको विशेष उदाहरण भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी वताउंछन् । बाढीले पक्कि पुल ध्वस्त पारेपछि नुवाकोटको इन्द्रायणीचौर, देवीघाट, सिंचाइलगायतका स्थानमा तुइन निर्माण गरिएको छ । तर, तुइनको यात्रा जोखिमपूर्ण भएका जनाउंदै सर्वसाधारण चिन्तित भएका छन् ।

जोखिमपूर्ण रुपमा तुइनको यात्रा गर्दै खोला पार गर्न बाध्य छन् । गत भदौ १० गते आएको बाढीले सहज आवतजावतको लागि ढुंगे र त्रिशूली जोड्ने वेलिव्रिजसमेत निर्माण भइरहेको छ । तुइनवाट चाडपर्वमा समेत नागरिकले ज्यान जोखिममा राखेर त्रिशूली नदी पार गर्नुपर्ने अवस्था रहेको चारघरेका दुग्ध व्यवसायी दीपेन्द्र भट्टको गुनासो छ । उनले सरकार तथा सम्बन्धित निकायले जनताको समस्या समाधानका लागि पहल गर्न आवस्यक रहेको वताउंछन् । तुइनले पैदलयात्रु तथा स्थानीय बासिन्दालाई आवतजावतमा केही सहजता दिएको छ ।

त्रिशूलीमा निर्माण व्यवसायीको सहयोगमा झोलुङ्गे पुल निर्माण भएपछि पैदलयात्राका लागि बाटो खुलेको छ । सवारीसाधन वारपार गर्न मिल्ने संरचना नहुँदा मोटरसाइकल, निजी तथा सार्वजनिक सवारीसाधनका यात्रु अझै समस्यामा रहेका छन् । ढुंगे र त्रिशूलीमा आगामी दुई साताभित्रमा वेलिव्रिज निर्माण भएर सन्चालनमा आउने जनाइएको छ । बाढीले क्षतिग्रस्त बनाएको अक्करे–सोले हुँदै किस्पाङ जाने सडकको विकल्पका रूपमा नयाँ ट्रयाक खोलिएको छ । अक्करे, ठुलोधारा र डाँडाथोक हुँदै सोले पुग्ने उक्त वैकल्पिक सडक आइतबार देखि सन्चालनमा आएपछि सहजता भएको छ ।

सोले हुँदै किस्पाङसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्न सकिने भएको छ । नयाँ ट्रयाक केहि स्थानमा तारजाली भर्ने काम गरिएको छ । उक्त कार्य सम्पन्न भएपछि सोलेबाट किस्पाङसम्म सवारीसाधनको आवतजावत सहज भएको हो । विपद्ले बाटो अवरुद्ध बनाए पनि निरन्तरको प्रयासले नयाँ बाटो खुलेको हो । उक्त सडकले आवतजावतको माध्यमका साथै स्थानीय बासिन्दाको दैनिकी सहज बनाउने र टुटेको सम्बन्ध पुनः जोड्ने आशाको मार्ग भएको छ । यसवाट बाढीले थलिएको बस्तीमा फेरि आशा पलाउने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको