जिलिङका वृद्धवृद्धाको काठमाडौंमा खोजी

– अशक्त तथा वृद्धवृद्धाहरुलाई सुविधा
लोकखबर
२०८२ भाद्र २९, आईतवार २२:०७

बिदुर-  वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाको एउटा वडाका वृद्धवृद्धाहरुको काठमाडौमा खोजि गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको सहजताका लागि बेलकोटगढी नगरपालिका ८ जिलिङले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौमा शिविर आयोजना गरेको हो ।

उक्त वडावाट काठमाडौ नजिक र छोटो दुरीमा रहेका कारण अस्थायी रुपमा राजधानी काठमाडौमा बसोबास गरिरहेका वृद्धवृद्धा तथा अशक्त वडाबासीहरुको सहजताका लागि काठमाडौंमा शिविर सञ्चालन गरेको हो । सामाजिक सुरक्षा भत्ताका लागि नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय अनुसार अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली(औठा छाप) आवस्यक रहेको छ ।

वडा कार्यालयको पहलमा पहिलो पटक राजधानी काठमाडौको मनमैजु शेषमतिमा पुगेर एकदिन उक्त सेवा प्रदान गरिएको वडाध्यक्ष सुरेश चित्रकारले जानकारी दिए । वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरु वडा कार्यलयसम्म जान असहज हुने भएकाले राजधानीमै शिविर गरिएको उनको भनाई छ ।

वडाध्यक्ष चित्रकारका अनुसार वडा कार्यलयले बायोमेट्रिकका लागि अनिवार्य रुपमा लाभग्राही स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले शिविरमा आफ्नो सहजता मिलाई ३१ जना वृद्धवृद्धा तथा अशक्तहरुले उपस्थित भएर वायोमेट्रिकसहित राष्ट्रिय परिचय पत्र विवरण भरेका हुन् । उक्त कार्यालमा वडाध्यक्ष चित्रकारसंगै वडा सदस्य गणेश दाहाल खटिएका थिए ।

वडा कार्यालयले नवीकरणका लागि अनिवार्य रुपमा आवश्यक पर्ने कागजातहरुमा राष्ट्रिय परिचयपत्रका लागि स्वयम् उपस्थित हुनुपर्ने, नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता प्रमाणपत्र, एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाह नभएको स्वघोषणा, पतिको मृत्यु दर्ता, अपाड्गता भएका व्यक्तिको हकमा सक्कल परिचयपत्र र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरुले भने बसाई सराईको प्रमाणपत्रका आधारमा उक्त विवरण संकलन गरिएको वडाध्यक्ष चित्रकारको भनाई छ ।

वडा कार्यालयको उक्त कार्यप्र्रति लाभग्राहीहरु खुशी भएका छन् । सरकारले ७० वर्ष कटेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाड्गता भएका व्यक्ति, दलित बालबालिकाहरुलाई बैंकमार्फत समाजिक सुरक्षा भत्ता उपलव्ध गराउंंदै आएको छ ।


सर्वाधिक रुचाइएको