त्रिशूलीमा विज्ञान प्रदर्शनी
बिदुर– विद्यार्थीहरुको प्रविधि परिक्षणको उद्धेश्यले नुवाकोटको त्रिशूलीमा विज्ञान प्रदर्शनी गरिएको छ । स्थानीय तहमा रहका विद्यालयहरुको विज्ञान प्रदर्शनीमा सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला स्तरिय माविहरुको विज्ञान प्रदर्शनीमा सम्पन्न भएको छ । त्रिभुवन त्रिशूली मावि परिसरमा सम्पन्न एक दिने विज्ञान प्रदर्शनीमा लिखु गाउंपालिका ४ चौघडाको क्षेत्रपाल माविका विद्यार्थीहरुले निर्माण गरेका सामग्री प्रथम भएको छ ।

पञ्चकन्या गापामा रहेको इन्द्रायणी प्राविधिक मावि द्धितिय र देउराली मावि तृतीय भएका छन् । गाउँपालिकाभित्र छनोट भएका विद्यालयहरुको विज्ञान प्रदर्शनी गरिएको थियो । नुवाकोटका १२ पालिकामध्ये ११ पालिकाबाट छनोट भएका ११ विद्यालयका विद्यार्थीहरु विज्ञान प्रदर्शनीमा सहभागि भएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले निर्माण तथा तयार गरेका विज्ञान सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । त्रिभुवन त्रिशूली माविले भने खानाका परिकारसहित ३३ प्रकारका स्टलहरु राखेको थियो ।

यसअघि उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले विद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरु हेर्दा उनीहरु प्रविधिमा उत्साहित भएको आफुले पाएको वताए । उनले अवको शिक्षा आधुनिक, प्रविधिमैत्री र व्यवहारिक हुनुपर्ने वताए ।
उनले विद्यार्थीहरुले यसरी नै वैज्ञानिक सामग्री उतपादन गरि कला प्रस्तुत गदैै जाने हो भने वैज्ञानिक बन्न सकिने सुझाव समेत दिए । प्रमुख ठकुरीले सामुदायिक विद्यालयका विद्यार्थीहरुको यस प्रकारको उत्साह हेर्दा शिक्षा क्षेत्रमा नेपालले निकै फड्को मारिसकेको उल्लेख गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विद्यार्थीहरुले गरेको वैज्ञानिक सिर्जना खेर नजाने वताए । प्रविधिमैत्री शिक्षाका लागि विदुर नपा सदैव क्रियाशील रहेको उनको भनाई छ ।
विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । माविस्तरीय विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा रहेको नवप्रवर्तनशील सोच, प्राविधिक क्षमता र प्रयोगात्मक शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजक शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको भनाई छ ।

प्रदर्शनीमा विविध प्रविधि र विज्ञान प्रयोगहरू देखाइनुका साथै विद्यार्थीद्वारा तयार गरिएको खाजानास्ता स्टल आकर्षक बनेको थियो । कक्षा ५ देखि माथिल्ला कक्षाका विद्यार्थीहरूले आफ्नै सिप, सोच र श्रमबाट तयार गरेका स्वादिलो परिकारहरूले प्रदर्शनीलाई फुड फेस्टिभलको झल्को दिएको थियो ।
स्वच्छता, पोषण र परिकारको विविधतासँगै शुल्कसमेत सहज हुँदा अभिभावक, शिक्षक र विभिन्न विद्यालयबाट आएका विद्यार्थी सबैको ध्यान खाजानास्ता स्टलतर्फ केन्द्रीत भएको थियो । यसले शिक्षामा व्यावसायिकता, सिर्जनात्मकता र आत्मनिर्भरताको अभ्यासलाई प्रोत्साहन दिएको जनाईएको छ ।

























































