क्यान्सरलाई जित्ने टिप्स

लोकखबर
२१ माघ २०७५, सोमबार ०८:०३

मनिषा कोइरालालाई डिम्बाशयको क्यान्सर भएको थियो। उपचारपछि उनी अहिले क्यान्सरमुक्त छिन् । हालै प्रकाशित हिल्ड–हाउ क्यान्सर गेभ मी अ न्यु लाइफ शीर्षकको संस्मरणात्मक पुस्तकमा उनले क्यान्सरविरूद्ध संघर्षकोे वृत्तान्त सार्वजनिक गरेकी छिन् । क्यान्सरमाथि पाएको विजयले स्वयंलाई चिन्न र जीवनलाई फेरि प्रेम गर्न सिकाउने उनको विश्वास छ ।

उसो भए क्यान्सरलाई कसरी जित्ने त ? उनका केही अनुभवहरू यहाँ समेटिएका छन् ।

मित्रता बढाउने
चिकित्सक, नर्स र उपचारमा संलग्न टोलीसँग मित्रता गाँस्नु अत्यन्तै महत्वपूर्ण छ । चिकित्सक र नर्सलाई ख्यालठट्टा र रमाइलो गर्ने साथीजस्तो व्यवहार गरे एकअर्काको मानवीय पक्ष पहिल्याउन सहयोग हुन्छ । सम्बन्ध पनि व्यक्तिगत र प्रगाढ बन्छ ।

कोइराला भन्छिन्, “बिरामी र नर्सको सम्बन्धबाट, हामी दुवै जना उस्तै महिला भएको सम्बन्धमा प्रवेश गर्‍याैँ । मैले सबैलाई नामबाटै बोलाउन थालेँ । हामी ठट्टा गथ्र्यौं, हास्थ्यौं, प्रार्थना गथ्र्यौं । एकअर्काको दैनिक जीवनमा के भइरहेको छ, त्यसको हेक्का राख्थ्यौं । हाम्रा खुशी, दुख, चिन्ता, डर र आशाहरू एकअर्कासँग बाँड्यौं अनि हाम्रो वर्तमान अवस्थाबारे कुराकानी गर्‍यौं ।”

कृतज्ञ हुनुहोस्
जेजति भए पनि, जीवनमा आभारी हुन सिके, फेरि कहिले दुःखी हुनु पर्दैन । जीवनमा जस्तोसुकै कठिन परिस्थिति आओस्, त्यस्लाई सुधार्न कृतज्ञताले महत्वपूर्ण भूमिका खेल्ने कोइरालाको विश्वास छ । यो मानिसले कहिले बिर्सन नहुने जादुको ओखति हो । प्रत्येक क्षणलाई सम्हालेर राख्ने, त्यसमा डुब्ने, त्यसले ल्याउने सम्भावनाहरूको प्रशंसा गर्ने र समयको मालामा अनुभवका अन्य मोतीसँगै गुथ्नुअघि त्यसको पूर्ण अनुभव गर्ने कला सिक्नुहोस् ।

“प्रत्येक क्षणको कदर गर्न शुरू गरेदेखि अस्पताल बसाइँको क्रममा मभित्र एउटा परिवर्तनले आकार लिन सुरू गरेको थियो । जिन्दगीले उदारतापूर्वक धेरै–थोरै जति दियो, त्यसप्रति गहिरो आभारले भरिएकी म, प्रत्येक क्षणमा बाँच्ने व्यक्ति बन्दै गएको बोध गरें,” उनी भन्छिन् ।

साहस चाहिन्छ
सबै पीडा र डरका बावजुद, मन दह्रो बनाउनु नै सफलताको सूत्र हो ।

“केमो सेसनलाई अनावश्यक स्वाङ नपारी परिपक्व रूपमा लिने प्रयास गरें । केमो सेसनको क्रममा, भिटामिनको सुई लिईरहेकी छु भनेर आपूmलाई सम्झाएँ,” मनिषाले सुनाइन् ।

प्रार्थना वा ध्यानले पनि अद्भुत काम गर्छ । माथि बसेका ईश्वरलाई प्रार्थना पठाउन र सकेजति लामो समय जाप गर्न सकिन्छ । सकारात्मक दृष्टि राख्नु पनि उत्तिकै महत्वपूर्ण छ । ऐनामा आँखा जुधाउनुुहोस् र आफैलाई बारम्बार भन्नुहोस् –‘म बलियो छु…म बलियो छु’ ।

यसरी निको हुँदैछु भन्ने ढाडस दिएर आफ्नो अवचेतन मनलाई शान्त पार्न सक्नुहुनेछ । यो मन्त्र जप्ने र ‘म निको भएँ…म निको भएँ’ भन्दै सान्त्वना दिए जीवनमा बहार आएको पनि देख्नुहुनेछ ।
फ्रि प्रेस जर्नलबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*