एक वर्षमा साढे १२०० बाकस, कोही अस्तुमा मात्र आउन सके

लोकखबर
२०७८ आश्विन ७, बिहीबार ११:१९

मकवानपुर । गत शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेट ९अतिरिक्ति०तर्फ एकटक हेरिरहेकी थिइन् । केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान गणेशको अस्तुसँगै जलेका सपनाको खरानी पनि थियो ।
कोरोना लागेर निको भइसकेँ, दशैंमा घर आउँछु’ भनेर फोन गरेका गणेशले मलेसियाकै अस्पतालमा प्राण त्याग्नुपर्‍यो । कोरोनाबाट मृत्यु भएकाले शव ल्याउन नमिलेपछि उतै जलाउन सहमति दिन राधालाई कर लाग्यो । शनिबार विदेशबाट ६ शव र १५ वटा अस्तु आइपुगेका थिए ।महामारीमा अहिले दैनिक औसतमा तीनजना नेपाली श्रमिकका शव र त्यसको दोब्बर अस्तु आइरहेका छन् । जीवन सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तु मात्र फर्किरहँदा सरकार भने यो अवस्थाप्रति संवेदनशील बनिरहेको छैन ।उमेरले ७० काटेकी नुवाकोटकी कोइकु घलेले पनि ‘दुई वर्षमा आउँछु है आमा’ भन्दै कुवेत उडेकी छोरीलाई काठको बाकसमा बुझ्नु पर्‍यो । सोनुलाई कुवेत पुगेको चार महिनामा ब्लड क्यान्सर भएको थाहा भयो । त्यसको एक हप्तामै उनले संसार छाडिन् । यो तथ्य पत्याउन परिवारलाई अझै सकस परिरहेको छ ।
विदेशमा यसरी ज्यान गुमाउने श्रमिकहरुको कथा एकैनासको छ । ६ महिना छुट्टी मनाएर फर्किनासाथै भोजपुरको षडानन्द गाउँपालिकाका धर्मकुमार थापाले कतारमा सडक दुर्घटनामा ज्यान गुमाउनुपर्‍यो ।
बिदामा घर फर्किएर बिहे गर्ने योजना साथीभाइलाई सुनाएका सिन्धुपाल्चोक, हेलम्बुका २९ वर्षीय पेम्बानोर्बु लामा पनि काठकै बाकसमा फर्किनुपर्‍यो । एकाएक ब्रेन ट्युमर देखिएका उनी दुबईको अस्पतालमा बिते ।
कल्पना आलेका भाइ मानबहादुर आलेले ३१ वर्षकै उमेरमा कुवेतमा ज्यान गुमाए । राति घरमा फोन गरेर बोलेका उनी बिहान उठ्न सकेनन् । भारतमा हराएका साइँला दाजुको परिवारको समेत आडभरोसा बनेका मानबहादुर विदेशमा हाड घोटिरहेका थिए ।
साढे १२०० अस्तु र बाकस
वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवार यस्तै वियोगान्त भोगिरहेका छन् । आर्थिक वर्ष २०७७र०७८ मा मात्रै २९ महिलासहित १२ सय ४२ श्रमिकले विदेशमा मृत्युवरण गर्नुपर्‍यो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष मृत्यु भएकाहरुको शव कोरोना महामारीका कारण ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै दाहसंस्कार गरिएको बताउँछन् । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।
सचिवालयको तथ्यांकअनुसार, गत वर्ष विदेशमा विभिन्न रोगका कारण ४२७ जना नेपाली श्रमिकको मृत्यु भयो । यीमध्ये २५६ जनाको मृत्यु स्वभाविक खालको थिएन ।
गत वर्ष १४० जना श्रमिकले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकले देखाउँछ । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक(मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।
त्यस्तै, चालकहरुसहित ११९ जना सडक दुर्घटनामा परेर बितेका छन् । कार्यस्थलमा आउँदा(जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।
विदेशमा नेपाली श्रमिकहरुले ज्यान गुमाउने अर्को ठूलो कारण बनेको छ( कार्डिक अरेष्ट अर्थात् एक्कासी हुने हृदयघात । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार(बिहा, लगातार लामो सयम काम, धुम्रपान(मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डिक अरेष्ट हुने गरेको छ ।
गत वर्ष कार्यस्थलमा भएको दुर्घटनामा पनि २६ जनाले ज्यान गुमाए । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।
गत आर्थिक वर्षमा ५ जना श्रमिकको मत्युको कारण नै खुलेन भने २ जनाको हत्या भएको थियो ।
साउदीमा धेरैको मृत्यु
देशगत रुपमा हेर्दा सबैभन्दा बढी नेपालीको मत्यु साउदी अरेबियामा हुने गरेको छ । गत आर्थिक वर्षमा ३६२ जना नेपालीले साउदीमा ज्यान गुमाए । साउदीपछि मलेसिया बढी असुरक्षित देखिन्छ । गत वर्ष मलेसियामा २८० जना नेपालीको मृत्यु हुन पुग्यो ।
यसैगरि, कतारमा २३९, यूएईमा २०८ र कुवेतमा ५५ जना नेपालीले ज्यान गुमाए । बहराइनबाट ३१ जना नेपाली श्रमिक शव र अस्तुको रुपमा देश फर्किए । दक्षिण कोरियामा १३ जनाले मृत्यु बेहोर्नुपर्‍यो ।
जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी तराई(मधेशका नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएको देखिन्छ । गत वर्ष मोरङका ५८, सिराहाका ५७, महोत्तरीका ५५, झापाका ५३, स्याङ्जाका ४६, सुनसरीका ४४ र सप्तरीका ४४ जनाले विदेशमा मृत्युवरण गरे ।
त्यस्तै, पश्चिम नवलपरासीका ४०, सर्लाहीका ३७, चितवनका ३६, दाङका ३३ र कास्कीका ३१ जना श्रमिकले विदेशमा ज्यान गुमाएको तथ्यांक छ । एक वर्षका बीचमा विदेशमा मृत्यु हुनेको सूचीमा ७७ वटै जिल्लाका कामदार छन् ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको