साततले दरवारसहित तलेजुको पुर्ननिर्माण जारी
विदुर–१० वर्ष अर्थात एक दशक अगाडिको विनासकारी भुकम्पले जीर्ण वनाएको नुवाकोटको प्रसिद्ध साततले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ । आगामी डेढ वर्षमा त्यसको पुर्ननिर्माण सकिने जनाइएको छ ।
विदुर नगरपालिका २ स्थित नुवाकोट टाकुरोमा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व वोकेको ति सम्पदाहरुको हाल पुर्ननिर्माण कार्य भइरहेको छ । कुनै समस्या तथा वाधा नआए आगामी १८ महिना भित्र सम्पन्न हुने लक्ष्य अनुसार पुर्ननिर्माणको कार्य भइरहेको विदुर नपा कार्यालयले जनाएको छ ।
गत २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त नुवाकोट टाकुरो परिसरमा रहेको साततले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको छ । यसको समयमै पुर्ननिर्माण भएपछि आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन हुने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
सम्पदा पुनर्निर्माण अन्तर्गत तलेजु भवानीको मन्दिर पुनर्निर्माणको क्रममा क्षतिग्रस्त संरचना हटाउने क्रम अन्तिम चरणमा पुगेको छ । साततले दरबारको पनि क्षतिग्रस्त तलाहरु तीन सातापछि हटाउन सुरु गरिने चिनियाँ पक्षले जानकारी गराएको छ ।
मेयर श्रेष्ठसंग ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’को तर्फबाट डेपुटी डाइरेक्टर लिसहितको प्रतिनिधि मण्डलको बैठकसंगै दुबै संरचनाको पुर्ननिर्माण कार्य आगामी २०८३ सालको असोज महिनासम्ममा सम्पन्न गरेर हस्तान्तरण गर्ने सहमति भएको छ । सोहीक्रममा ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का प्रतिनिधिहरुले ‘सम्पदा पुर्ननिर्माणको लागी आवश्यक सहयोग र सहजिकरणको लागी आग्रह गरेका थिए ।
मेयर श्रेष्ठले स्थानीय सरकारको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनको प्रतिवद्धतासंगैँ चिनियाँ पक्षले ति दुई सम्पदाको पुर्ननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हुन् ।
स्थलगत अवलोकनसहितको उक्त कार्यक्रममा पुरातत्व विभागका अधिकृत अमृता महर्जन, नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डे लगायत सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । प्रसिद्ध साततले दरवार नेपाल एकिकरण भएपछि १८१६ सालमा निर्माण भएको हो ।












































