शिक्षकहरुलाई सूचना प्रविधि
बिदुर–सामुदायिक विद्यालयका शिक्षकका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकामा सूचना प्रविधि प्रशिक्षण प्रदान गरिएको छ । यससंगै आधारभूत तहका शिक्षकहरुलाई प्रविधिमैत्री वनाउने अभियान सुरु भएको छ ।
आधारभूत तहका शिक्षकहरुका लागि सञ्चालन गरिएको सूचना प्रविधि तालिमको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले समापन गरे । उनले २१औँ शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य भएको बताए ।
शिक्षकहरुले सूचना प्रविधिसँग अभ्यस्त भएर विद्यार्थीका लागि पनि प्रविधिमा आधारित सिकाई क्रियाकलापमा जोड दिनुपर्ने जनाउंदै अध्यक्ष अधिकारीले प्रविधिमैत्री शिक्षाको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै अभियानका रुपमा कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’लाई आगामी बजेटबाट पूर्णताका साथ सञ्चालन गर्ने समेत वताए ।
सो तालिममा आधारभूत तहका २० जना शिक्षक सहभागी रहेका थिए । यस प्रकारका तालिम, प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्दै लैजाने र गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिसँग अभ्यस्त गराउने योजना अगाडि बढिसकेको अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए ।











































