जिल्ला प्रशासन पहिलो स्थानमा

–गृहमन्त्रालयद्वारा कार्य मुल्यांकन
लोकखबर
२०८२ जेष्ठ १४, बुधबार २१:०४

बिदुर–गृह मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय नुवाकोट पहिलो भएको छ । मुल्यांकन अनुसार मन्त्रालयले नुवाकोटलाई पहिलो श्रेणीमा राखेको छ ।
चालु आर्थिक बर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधि (माघ –चैत्र)को सम्पादित कार्यहरुका आधारमा नुवाकोट प्रशासनले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मुल्यांकनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
जसअन्र्तगत शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकिय प्रवन्ध (सेवा प्रवाह र सुशासन), लागू औषध र नियन्त्रण, विपद जोखिम न्युनीकरण व्यवस्थापन, मुआव्जा वितरण तथा विकास सहजीकरणलगायतका विषयमा गृह मन्त्रालयले मुल्यांकन गर्ने गरेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वताए । उनका अनुसार मन्त्रालयले जिल्ला प्रशासनका विभिन्न ७० वटा सूचकहरुमा मुल्यांकन गर्ने गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको जिल्ला श्रेणी तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये नुवाकोटले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । सो अवधिमा नुवाकोट प्रशासनले अपलोड गरेको ५३ मध्ये ५२ वटा विवरण स्वीकृत भएको थियो ।
गत आव २०८०/०८१ को तेस्रो त्रैमासिक अवधि (माघ –चैत्र) मा भने नुवाकोट ६१ औं स्थानमा रहेको थियो । नुवाकोटसंगै इलाम, भक्तपुर, रामेछाप र स्याङ्जा जिल्लाले पनि समान १८ दशमलव १२५ अंक पाएको छ ।
गृह मन्त्रालयले सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग गरेको कार्य सम्पादन सम्झौता र जिल्ला प्रशासन कार्यालयहरुले सम्पादन गरेका कार्यहरुको मूल्याङ्कनमा त्रैमासिक नतिजा सार्वजनिक गर्दे आएको छ । नुवाकोटमा राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र लिन आउनेहरुको उल्लेख्य हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको भनाई छ ।


सर्वाधिक रुचाइएको