किस्पाङमा वृहत स्वास्थ्य शिविर

आवस्यक औषधि वितरण, गाउंवासीलाई सुविधा
लोकखबर
२०८२ जेष्ठ १७, शनिबार १९:१८

विदुर–गाउंवासी विरामीहरुलाई लक्ष्यित गर्दै नुवाकोटको भाल्चेमा वृहत स्वास्थ्य उपचार शिविर गरिएको छ । किस्पाङ गाउंपालिका १ भाल्चेमा शनिवार एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

त्रिशूली अस्पताल, किस्पाङ गापा र वडा कार्यालयद्वारा आयोजित शिविरमा सयौं गाउंवासीले सेवा लिएका थिए । स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सन्चालित शिविरमा तीनसय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा आएकामध्ये ६० प्रतिशत महिला तथा वृद्धवृद्धाहरु रहेका थिए । त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित आठ जना चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको टोलीले विरामीहरुको स्वास्थय परिक्षण र उपचार गरेको हो ।

शिविरमा स्त्रीरोग, हाडजोर्नी, मधुमेह, बालरोग, सामान्य रोगहरू (जनरल सेवा) साथै भिडियो एक्स–रे सेवा लगायतका विविध विशेषज्ञ सेवा उपलब्ध गराइएको डा. राजेन्द्र लामाले जानकारी दिए । शिविरवाट ग्रामीण भेगका सर्वसाधारणले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अवसर पाएकोमा स्थानीयवासी लाभान्वित भएको वडाध्यक्ष पशुपति घलेको भनाई छ ।

शिविरमा त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरूसहितको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र आवस्यक औषधि निःशुल्क वितरण गरेका थिए । शिविरले दुर्गम भाल्चेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा पु¥याएको आयोजक त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीको भनाई छ ।

 


सर्वाधिक रुचाइएको