व्यवसायीको यातायात वन्दले यात्रु मर्कामा
विदुर–व्यवसायीहरुको यातायात वन्दका कारण नुवाकोटमा सर्वसाधारण मर्कामा परेका छन् । विभिन्न माग राखिी व्यवसायीहरुले सोमवारदेखि सार्वजनिक यातायात बन्द गरेका कारण हजारौं यात्रुहरु मर्कामा परेका छन् ।
बन्दको प्रभाव दिनैभरि परेको थियो । नुवाकोटका अधिकांश सडकमा सार्वजनिक भाडाका सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य जान नसकेर प्रभावित हुन पुगेका थिए ।
सार्वजनिक यातायात नचल्दा सहयोगीका रुपमा सन्चालित मोटरसाइकल तथा चार पांग्रे निजी गाडीहरुले यात्रु ओसारपसार गरिरहेका थिए । यद्यपि, उनीहरुले मौकाको फाइदा उठाउंदै धेरै भाडा लिएको र वाध्यताले तिर्नु परेको यात्रुहरुले गुनासो गरे ।

नुवाकोटको पासाङल्हामु मार्ग, वालाजु–नौविसे–गल्छी–देवीघाट–त्रिशूली, माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डमा दैनिक एकसय ७० थान माइक्रोवस तथा तीनसय ५० थान सार्वजनिक वस गुड्ने गरेकोमा सोमवार भाडाका गाडी गुडेनन् । यसको फाइदा उठाउंदै सहयोगी रुपमा सन्चालित निजी दुई तथा चार पांग्रे यातायातले चर्को भाडा लिएको यात्रुहरुले गुनासो गरे ।
सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ । विद्यार्थी, सर्वसाधारण, कर्मचारीहरू समस्यामा परे ।
अधिकांश मानिसहरू हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए । माग पुरा नभएसमम सार्वजनिक भाडाका जुनसुकै गाडी नगुडाउने सहमति भएको नेपाल माइक्रोवस यातायात नुवाकोटका अध्यक्ष राजेन्द्र आचार्यले वताए । उनले सहमति हुने वित्तिकै आफुहरु गाडी गुडाउन तयार रहेको वताए ।

यातायात व्यवसायीहरुले विभिन्न ७ सुत्रिय माग राखी गाडी वन्द गराएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सबै यातायात महासंघ, मजदुर संगठनहरु सम्मिलित सार्वजनिक यातायात वचाउ केन्द्रीय सघर्ष समितिले यहि जेठ १९ गते सोमवारदेखि माग पुरा गर्न दवाव स्वरुप सम्पुर्ण यातायात सेवा अनिश्चीतकालीन बन्द गर्ने निर्देशन प्राप्त भएको र व्यवसायिक एक्यबद्धता जनाउदै भाडाका सबै किसिमको यातायात बन्द गर्ने निर्णय अनुसार वन्द भएको आचार्यले बताए ।
यातायात व्यवसायीहरूले सरकारसमक्ष भाडादर समायोजन, ट्राफिक जरिवाना प्रणालीको समिक्षा, व्यवसायमैत्री नीतिगत सुधारलगायतका माग अघि सारेका छन् । उनीहरुले माग पुरा नभएसम्म यातायात वन्द जारी रहने वताएका छन् ।











































