सामुदायिक कुकुरको वन्ध्याकरण
विदुर–नुवाकोटको विदुरमा सामुदायिक कुकुरहरुको विगविगी भएपछि त्यसको व्यवस्थापन अभियान सन्चालन गरिएको छ । कुकुरहरुलाई बन्ध्याकरण र रेबिज रोग बिरुद्धको खोप लगायएको छ ।
विदुर नगरपालिकाले विभिन्न वजारहरुमा रहेका समुदायिक तथा छाडा छाडिएका कुकुरलाई बन्ध्याकरणसहित रेबिज रोग बिरुद्धको खोप लगाउने कार्य गरेको हो । विदुर नपा, पशु सेवा शाखाको आयोजनामा सञ्चालित उक्त अभियान आइतबार सकिएको छ ।

प्राविधिकहरुले स्थलगत रुपमा कुकुर रहेकै स्थानमा पुगेर सयौं कुकुरहरुको बन्ध्याकरण सहित उनीहरुलाई रेबिज रोग बिरुद्धको खोप लगाइएको हो । सामुदायिक कुकुरहरुको बन्ध्याकरणसहित रेबिज रोग बिरुद्धको खोप कार्यक्रमका लागी नेपाल एनिमल वेलफेएर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको पशु चिकित्सक डा.सुजाता अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार शिविरमा गरिएको काम, आवश्यक सहयोग तथा सहजिकरणसहित काममा खटिएका प्राविधिकहरुलाई विदुर नपा मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतले स्थलगत रुपमा अनुगमनसहित आवस्यक परामर्श र सुझाव दिएका थिए । विदुर नपाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामुदायिक तथा छाडा रहेका कुकुरको नियन्त्रणको लागी बन्ध्याकरण गरिएको र ती कुकुरहरुलाई रेबिज रोगबाट सुरक्षित बनाउनको लागी रेबिज रोग विरुद्धको खोपसमेत लगाइएको हो ।

कुकुरको बन्ध्याकरणले मानवलगायत अन्य प्राणीको सुरक्षा तथा सामुदायिक कुकुरहरूको जीवन सहज, स्वस्थ्य र समुदायमैत्री बनाउन र समुदायमा मानव–पशु सहअस्तित्वका लागि पनि सहयोग पुग्ने विश्वास लिइएको मेयर राजन श्रेष्ठको भनाई छ । विदुर नपाले हरेक वर्ष यस अभियान सञ्चालन गर्दै आइरहेकाले विगतको तुलनामा अहिले सामुदायिक कुकुरको सङ्ख्या घट्दै गएको र त्यस्ता कुकुरबाट रेबिजको सक्रमण फैलने क्रम कम हुदै गएको उनको भनाई छ ।
अभियान अन्र्तगत सन्चालित कार्यक्रममार्फत एकसय १५ वटा कुकुरको बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाइएको छ । सामुदायिक तथा छाडा छाडिएका बाहेक समुदायमा घाइते अबस्थामा भेट्टिएका कुकुरहरुको उपचार समेत गरिएको उपमेयर प्रभा वोगटीको भनाई छ ।

समुदायमा अझै धेरै सङ्ख्यामा छाडा कुकुरहरु रहेको पाइएकाले यस कार्यक्रमलाई आगामी आर्थिक वर्ष थप बृहत्त बनाउने गरेर नीति तथा कार्यक्रम र बजेट बिनियोजना गर्ने विदुर नपाले जनाएको छ । विदुर नपाको वट्टार, त्रिशूली, ढुंगे, कोलोनी, देवीघाट, पिपलटार, राइसिङ, वेत्रावतिलगायतका वजारमा सामुदायिक कुकुरहरुको विगविगी रहेको थियो ।












































