डा. त्रिपाठी र अर्याल सम्मानित
बिदुर – एकसय १८ औं देवकोटा जयन्तीको अवसरमा साहित्यमा योगदान पु¥याएको जनाउंदै दुई सर्जकलाई सम्मानित गरिएको छ । नगद पुरस्कारसमेत प्रदान गरिएको छ । राजधानीको गोकर्णेश्वर नपा—५ स्थित नयाँ बस्ती युवा क्लबले देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको हो । साहित्यिक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डा. वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डा. त्रिपाठीलाई ५१ हजार राशी सहितको सम्मान अर्पण गरिएको हो । युवा सर्जक एवं समाजसेवी निर्मल अर्याललाई २५ हजार रुपैयासहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगा उप्रेती, विशिष्ट अतिथि गोकर्णेश्वर नपाका मेयर दीपक रिसाललगायतले सभ्य समाज निर्माणमा साहित्यको ठूलो भूमिका रहने बताए । कार्यक्रममा सम्मानित स्रष्टाद्धय त्रिपाठी र अर्यालले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानको चर्चा गरे ।

सोही अवसरमा क्लब परिसरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू सहित सर्वसाधारणबाट माल्र्यापण गरिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए । कार्यक्रममा संविधान सभा सदस्य रामेश्वर फुयाल, गोकर्णेश्वोर नपा–५ का वडाध्यक्ष एवं नगर प्रवक्ता नारायणबहादुर सुवेदी, वडा–६ का वडाध्यक्ष नवराज लामालगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा महाकविमा केन्द्रीत रचना पनि वाचन गरिएको थियो । क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकूद, स्वास्थ्य लगायतका विद्यामा लामो समय देखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
















































