गाउंका स्वास्थ्य संस्था पुरस्कृत
विदुर–उत्कृष्ट सेवा प्रदान गरेवापत नुवाकोटको तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । तारकेश्वर गाउंपालिकाले उत्कृष्ट तीन स्वास्थ्य केन्द्रलाई नगदसहित पुरस्कृत गरेको छ ।
तारकेश्वर गापाले स्थानीय मापदण्डअनुरुप उत्कृष्ट सेवा प्रदान गरेका तीन स्वास्थ्य केन्द्रलाई पुरस्कृत गरेको छ । तारकेश्वर गापा दाङसिङमा आयोजित कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी अविरलले नगदख पुरस्कारसहित सम्मान गरेका हुन् ।

उनले गापाको मूल्यांकनमा प्रथम भएको जोरचौतारा प्राथमिक स्वास्थ्य केन्द्र, द्वितीय भएको नेवारपानी प्राथमिक स्वास्थ्य केन्द्र र तृतीय भएको दाङसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नगदसहित सम्मान र पुरस्कार प्रदान गरेका हुन् । स्वास्थय सेवालाई मानव हितमा ध्यान दिएर उच्च प्राथमिकताका साथ सेवा प्रदान गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
अध्यक्ष अधिकारीले जनताको आवश्यकता बुझेर सबै स्वास्थ्य केन्द्रहरुले जनगुनासो नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । स्वास्थय सेवा मानवको पहिलो र विशेष अधिकार भएका कारण यसको प्रभावकारीतामा ध्यान दिनसमेत उनले निर्देशन दिए ।

उनले केही स्वास्थ्यकर्मीहरुले पोसाकमा ध्यान नदिएको पाइएको वताए । अध्यक्ष अधिकारीले स्वास्थ्यकर्मीको पहिचान उसको पोसाकमा हुने भएकाले बिदाका दिन बाहेक स्वास्थ्य केन्द्र कार्यालयभित्र र बाहिरको सेवामा जाँदा पनि अनिवार्य रुपमा पोसाक लगाउनसमेत निर्देशन दिएका छन् ।












































