तादी पूर्ण खोप सुनिश्चित गापा घोषणा
विदुर–पुर्वी भेगमा रहेको नुवाकोटको तादी गाँउपालिका ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ । सवै वालवालिकाले पूर्ण खोपको मात्रा पुरा गरेको सुनिश्चितता भएपछि उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ । तादी गापा अध्यक्ष सन्तमान तामाङले शुक्रवार सो गापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।

उनले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागी खरानीटार अस्पताल, स्वास्थ्य शाखा, स्वास्थ्य सँस्था, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंमसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । यसअघि सो गाउंपालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोमा त्यसपछिका दिनमा जन्मेका बालबालिकाले पूर्ण खोप पाए नपाएको अद्यावधिक गराउनको लागी संकलन गरिएको तथ्याङ्कमा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले आवश्यक मात्राको सबै खोप पाएको तथ्यका आधारमा तादी गापालाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको हो ।

त्यसका लागी १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना भएको सुनिश्चित सहित पालिकामा रहेका सबै वडालाई एकैसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार सो गाउंपालिकामा रहेका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि तादी गापालाई पूर्ण खोपयुक्त सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखाका संयोजक बासुदेव श्रेष्ठको भनाई छ ।

सोही कार्यक्रममा तादी गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, वडाध्यक्षहरु, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, खरानीटार अस्पतालका प्रमुख डा. एरीका कार्की, इलाका प्रहरी कार्यालय खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापा, गापाका कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, तादी गापाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, गापाका स्वास्थ्य स्वयंमसेविका लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंमसेविकाहरुलाई उनीहरुले पु¥याएको योगदानको कदर गर्दै नगद पुरस्कारसहित सम्मान समेत गरिएको छ । लामो समयदेखि स्वास्थ्य स्वयंमसेविका रहि निवृत्त हुनु भएका स्वयंम सेविकाहरुलाई एकमुष्ठ ५० हजार रुपैयाँसहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा तादी गापालाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणाका लागि विभिन्न क्षेत्रवाट योगदान पु¥याएकाहरुलाई सम्मानित गरिएको छ । तादी गापाले आफ्ना गाउंपालिकामा रहेका सबै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको गाँउपालिकाले घोषणा गरेसगैँ जनस्वास्थ्य कार्यालयले सोही तथ्याङ्कको आधारमा तादी गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्राबधान रहेको छ ।













































