किसान प्रवद्र्धन कार्यक्रम
विदुर-नुवाकोटको बेलकोटगढी नगरपालिकाले किसान प्रवद्र्धन कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत किसानहरुलाई ६ हजार वोट कागतीको विरुवा वितरण गरिएको छ ।
१३ वटा वडा रहेको बेलकोटगढी नपामा किसानहरुलाई अनुदानमा कागतीको बिरुवा उपलब्ध गराइएको हो । किसानका माग अनुसार विभिन्न स्थानमा रहेका किसानहरुलाई ६ हजार वोट कागतीको विरुवा वितरण गरिएको छ ।
नपा कार्यालय वाघखोरमा आयोजित कार्यक्रममा किसानहरुलाई मेयर जगतबहादुर गुरुङ र उपमेयर शिवप्रसाद दाहाललगायतले कागतीको विरुवा हस्तान्तरण गरेका हुन् । वेलकोटगढी पर्यटकिय कृषियोग्य भुमि रहेको स्थान हो ।

मेयर गुरुङले किसानलाई आर्थिक रुपमा सक्षम बनाउनको लागी कफी, खुर्सानीको उत्पादन सुरु भएकाले र व्यावसायिक रुपमा कागतीको उत्पादन बृद्धि गर्ने लक्ष्य लिएकाले किसानलाई सोही अनुसार उत्पादनमा केन्द्रीत हुन आग्रह गरे । उपमेयर शिवप्रसाद दाहालले कागतीलाई एक पटक लगाएपछि धेरै वर्ष उत्पादन लिन सकिने, वादर जंगली लगायतका जीवजन्तुबाट क्षति नोक्सान नहुने भएकाले बाली तथा अन्य फलफूलको तुलनामा कागती खेतीबाट किसानले राम्रो लाभ लिन सक्ने भएकाले अनुदानमा बिरुवा उपलब्ध गराएको बताए ।
कागतीको बिरुवा माग गर्दै पालिकामा प्राप्त भएका निवेदन अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा सुन कागतीको बिरुवा उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । अनुदानमा कागतीको बिरुवा माग गरेका कृषि फर्म, कृषि समूह, सहकारी संघसस्था तथा कृषि फर्मको लागी ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

किसानले माग गरे अनुसार हाल सो नपाले प्रति बिरुवा ३० रुपैयामा खरिद गरेको सुन कागतीको बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । बिरुवा वितरण कार्यक्रम मेयर गुरुङ र उपमेयर दाहालले पालिका कार्यालयबाट हस्तान्तरण गरेका हुन् ।
सो नपाको कृषि विकास शाखामार्फत ढुवानी गरेर धेरै माग गर्ने स्थानका किसानको पायक पर्ने स्थानसम्म नै उपलब्ध गराइएको छ । कागतीको बिरुवा वितरण पश्चात यसअघि संकलन गरिएको निवेदनको मागको आधारमा एभोकाडोको बिरुवा पनि वितरणको तयारी गरिएको छ ।











































