एकल तथा गरिवलाई वाख्रा प्रदान

–विद्यार्थीहरु शैक्षिक र खेलकुद सामग्री
लोकखबर
२०८२ असार १४, शनिबार १३:३२

विदुर–नुवाकोटको तारकेश्वरका एकल तथा गरिव नागरिकलाई आयआर्जनका लागि वाख्रा तथा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा लेखन सामग्री प्रदान गरिएको छ । यसवाट उनीहरु निकै उत्साहित भएका छन् । 
तारकेश्वर गापा ५ मा आयोजित कार्यक्रममा ३० जना एकल तथा गरिब नागरिकहरुलाई नगद तथा बाख्रा हस्तान्तरण गरिएको छ । निलसरस्वती आधारभूत विद्यालय र चक्रदेवी आधारभूत विद्यालयका १०/१० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै दुईवटै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

गोस्र्याङ मानेडाँडा कराँते डोजोका लागि आवस्यक खेलकुद सामग्री खरिदका लागि ५० हजार रुपैया प्रदान गरिएको आयोजक नेपालका असल मित्रहरूका निर्देशक भीमलाल तामाङले जानकारी दिए । कार्यक्रमकावीच तारकेश्वर गापाका उपाध्यक्ष हरिप्रसाद रिमाल, वडाध्यक्ष अशोक लामालगायतले शैक्षिक तथा खेलकुद सामग्री, छात्रवृत्तिका साथै एकल र गरिव स्थानीय नागरिकहरूका लागि बाख्रा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा निल सरस्वती आधारभुत बिद्यालयका प्रअ ललितमान तामाङ, शिक्षाप्रेमी राजन बमलगायत स्थानीय सर्वसाधारणको सहभागिता थियो । नेपालका असल मित्रहरूले नुवाकोटको विभिन्न स्थानमा शिक्षा, खेलकुद, स्वास्थ्य र सामाजिक विकासमा कार्यहरु गर्दै आइरहेको छ ।

 

 


सर्वाधिक रुचाइएको