उपचारका क्रममा वडाध्यक्षको निधन
बिदुर–नुवाकोटको तारकेश्वर गाउंपालिका ६ का वडाध्यक्षको उपचारका क्रममा निधन भएको छ । वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको उपचारकै क्रममा सोमवार निधन भएको हो ।

नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षिय रिमाल ज्वरो आएका कारण अस्पतालमा उपचार गराइरहेकोमा असामयिक निधन भएको एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले जानकारी दिए । उनको विदुर नपा ३ स्थित त्रिशूली नदी किनारामा श्रद्धान्जली दिई अन्तिम संस्कार गरिएको छ ।
अस्पतालमा उपचारका क्रममा वडाध्यक्ष रिमाल
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल उक्त वडामा नेकपा एमालेका तर्फवाट वडाध्यक्ष विजयी भएका थिए । त्यसअघि पनि रिमाल २०७४ सालमा उक्त वडामा वडा सदस्यमा विजयी भएका थिए ।
तारकेश्वर ६ घर भएका दिवंगत वडाध्यक्षका माता. पिताका साथै पत्नी, एक छोरी र एक छोरा रहेका छन् । मिलनसार, सरल तथा सामाजिक रुपमा सक्रिय वडाध्यक्ष रिमालको असामयिक निधनले तारकेश्वर गापा मात्रै नभई नुवाकोटलाई नै क्षति पुगेको तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरलले वताए ।











































