सामाजिक सुरक्षा भत्तासहित स्वास्थ्य परिक्षण
बिदुर – गाउंवासीको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिकाले सबै वडामा स्वास्थय परिक्षणसहित सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरेको छ । गाउटोलमै सेवा पाउंदा गाउंंवासी खुसी भएका छन् ।

तारकेश्वरका ६ वटै वडामा स्वास्थ्यपरीक्षणसहित सामाजिक सुरक्षा भत्ता वितरण, निःशुल्क, औषधि वितरण र विविध परामर्शसहित ’अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न भएको हो । तारकेश्वर गापाले गाउंवासीको सुविधका लागि ६ वटै वडामा चालु आवको दोश्रो अवधिको सामाजिक सुरक्षा भत्ता वितरण, निःशुल्क स्वास्थ्यपरीक्षण, औषधि र परामर्शसहित ’गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न गरेको हो ।

तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले उक्त कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रूपमा सम्पन्न गर्न र जनगुनासो नआउने गरी काम गर्न गापाको पञ्जीकरण र स्वास्थ्य शाखालाई निर्देशन दिएअनुसार दुवै शाखाको समन्वयमा एक साताको अवधिमा कार्यक्रम सम्पन्न भएको हो । समयमा सामाजिक सुरक्षा वापतको भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको समाधानका लागि आफु क्रियाशील रहेको अध्यक्ष अधिकारीले वताए ।

उनले तीन वर्षदेखि नै प्रत्येक ३/३ महिनामा वडा÷वडामा पुगेर कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, आवस्यक औषधि वितरण र स्वास्थ्य परामर्शसँगै भत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सन्चालन गरिएको वताए । उनका अनुसार सो कार्यक्रमबाट गाउंवासी तथा ज्येष्ठ नागरिकहरूलाई सेवा प्रवाहमा सहजता हुनुका साथै स्थानीय सरकारप्रति जनताको विश्वास थप वलियो हुदै गएको छ ।




















































