क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध सडकमार्ग सन्चालन
बिदुर– नुवाकोटसंगै जोडिएको रसुवाको कालिकास्थानमा मंगलवार राती भएको सडक दुर्घटनामा मृत्यु भएकी युवतीका परिवारलाई क्षतिपुर्ति दिइने भएको छ । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक जना युवतीको ज्यान गएको थियो ।
कालिका गाउंपालिका २ लामाटोलमा मंगलवार राती गुडिरहेको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिदा रसुवाको नौकुण्ड गापा २ की २० वर्षिया योमाया नेकोरको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनका आफन्त तथा स्थानीयवासीले दोषीलाई कारवाही गरिनुपनलगायतका माग राख्दै पासाङल्हामु मार्गको कालिकास्थान–धुन्चे सडकखण्ड तथा स्थानीय कालिकास्थान–जीवजीवे सडकखण्ड अवरुद्ध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार माघ २० गते कालिका–१ राम्चेबाट कालिकास्थानतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प ८३१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा५ख ६३३२ नम्बरको ट्रिपरले ठक्कर दिएर भएको दुर्घटनापछि गम्भीर घाइते भएकी युवती नेकोरलाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रिपर र चालक नुवाकोटको तादी गापाका २९ वर्षिय कामसिह तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ । उक्त घटनाका दोषीलाई कारवाही, क्षतिपूर्ति र मृतकका परिवारलाई राहतको व्यवस्था गर्ने माग गर्दे जेनजी रसुवासहित आफन्तजन, स्थानीयवासीले धुन्चे जाने मुख्य सडक तथा कालिस्थान–जिवजिबे जाने सडक अवरुद गरेकोमा सम्वन्धित पक्षले क्षतिपुर्ति दिने सहमति गरेपछि सडकको अवरोध खुलेको स्थानीयवासीको भनाई छ ।













































