वनडढेंलो नियन्त्रण सम्वन्धि प्रशिक्षण

– सरोकारवाला सहभागी
लोकखबर
२०८२ फाल्गुन १२, मंगलवार २३:१६

बिदुर– सुख्खायामसंगै नुवाकोटमा वनडढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धमा सरोकारवाला पक्षलाई सचेतना प्रदान गरिएको छ । वनडढेलो नियन्त्रण तथा व्यवस्थापनमा क्षमता अनुसार साझा तर भिन्न जिम्मेवारीहरूलाई मूल सिद्धान्तका रूपमा अङ्गिकार गर्दै बिदुरमा समन्वयात्मक प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा नुवाकोटका सम्पूर्ण स्थानीय तहबाट तोकिएका वनडढेलो फोकल पर्सनहरू, जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ नुवाकोटका अध्यक्ष तथा पदाधिकारी, सेनाको बहादुर श्रीशेर गण, सेनाको नं. १ तालिम केन्द्र, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल १९ नं. गुल्मबाट वन डढेलो नियन्त्रण कार्यमा खटिने ५/५ जना जवानहरू, सरोकारवालाको सहभागिता रहेको थियो। वन जोगाऔँ, वातावरण बचाऔँ, सुरक्षित भविष्य निर्माण गरौँ भन्ने नारासहित आयोजित कार्यक्रममा वनडढेलो नियन्त्रण तथा व्यवस्थापनका सैद्धान्तिक तथा व्यवहारिक पक्षहरूका सम्वन्धमा जानकारी गराइएको थियो ।

सहभागीहरुलाई डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्मा, वन अधिकृतहरु कमल घिमिरे, शालिग्राम भट्टराइलगायतले वन संरक्षण र डढेलो नियन्त्रण सम्वन्धि जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरूबीच अनुभव आदान–प्रदान, रणनीति निर्माण तथा समन्वयात्मक कार्ययोजनाबारे समेत अन्र्तक्रिया गरिएको हो । सो प्रशिक्षणबाट स्थानीय तहहरूसँगको समन्वय र सहकार्य सुदृढ हुने, वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने तथा सुरक्षा निकायका जवानहरूमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप अभिवृद्धि हुने अपेक्षा गरिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माको भनाई छ ।

कार्यक्रममा वनडढेलोबाट हुने सम्भावित क्षति, रोकथामका उपाय, नियन्त्रणका व्यवहारिक विद्यि, विपद् व्यवस्थापन तथा सामुदायिक भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो । सहभागीहरूले वन संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै डढेलो नियन्त्रणमा सक्रिय रहने बताएका छन् । साथै वन संरक्षण सबैको साझा दायित्व भएकाले सतर्कता अपनाउन र जनचेतना फैलाउन सरोकारवालाले आग्रह गरेका छन् ।

कार्यक्रममा वन डढेलोबाट हुने क्षति न्यूनीकरण, पूर्वतयारी, नियन्त्रणका उपाय, सामुदायिक सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । सोही कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटले वनडढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको पूर्वतयारी, हालसम्म सम्पादित कार्यहरू तथा आगामी रणनीतिक कार्ययोजनासहितको विस्तृत प्रस्तुति समेत सार्वजनिक गरेको थियो । यस पहलले वन संरक्षणमा समन्वय, तत्परता र प्रभावकारी कार्यसम्पादनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।


सर्वाधिक रुचाइएको