त्रिशूलीमा आठ दिनपछि विद्यार्थीको शव

– नदीले वगाएर वेपत्ता विद्यार्थीको शव भेटियो
लोकखबर
२०८२ फाल्गुन २९, शुक्रबार ००:२२

बिदुर– साथीहरुसंग पौडी खेल्ने क्रममा त्रिशूली नदीमा वेपत्ता भएका एक विद्यार्थीको शव फेला परेको छ । नदीले वगाएको आठ दिनपछि विद्यार्थीको शव फेला परेको हो । प्रसिद्ध देवीघाटस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा यहि फागुन २१ ग्ते विहीवार स्थानीय विद्यालयमा अध्ययनरत एक विद्यार्थी वेपत्ता भएकोमा खोजीका क्रममा डेढ किलोमिटर तल विहीवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका १ कात्तिके घर भई विदुर नगरपालिका ५ देवीघाट वसोवास गरि स्थानीय शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको कक्षा आठमा अध्ययनरत १६ वर्षीय आशिष घिमिरे पौडी खेल्ने क्रममा त्रिशूली नदीमा वेपत्ता रहेकोमा विहीवार मृत भेटिएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए । उनको खोजीमा आफन्त, सर्वसाधारण, सुरक्षाकर्मी तथा गोताखोर नै परिचालन गरिएकोमा आठौं दिन विहीवार डेढ किमि तल नयां पुल नजिकै शव फेला परेको केसीले जानकारी दिए ।

मृत वालकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा शव राखिएको छ । साथीहरुसंग पौडी खेल्ने क्रममा विद्यार्थी घिमिरेलाई त्रिशूली नदीले वगाएको हो । उनको खोजीको लागि सुरक्षाकर्मीसहितको टोली त्रिशूली नदीमा दैनिक रुपमा परिचालन गरिएकोमा शव फेला परेको र घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको