निर्वाचन प्रहरीलाई प्रमाणपत्र
बिदुर– प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नियुक्त गरिएका निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई ४० दिनको तलव सुविधासहित बिदाई गरिएको हो ।यहि फागुन २१ गतेको निर्वाचनलाई लक्ष्यित गर्दै सुरक्षार्थ नियुक्त गरि विभिन्न स्थानहरूमा कार्यरत “निर्वाचन प्रहरी“हरूको विहीवार एकैपटक प्रमाणपत्र वितरण गरि बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

एकहजार सात ६८ जना निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्र प्रदान गरिनुका साथै एक जना प्रहरी जवानले पाउने ४० दिनको तलव सेवा सुविधा वरावर प्रदान गरि विदाई गरिएको प्रहरी निरिक्षक हरिवोल केसीले जानकारी दिए । विदुरस्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक विपिन रेग्मीले प्रमाणपत्र प्रदान गरि विदाई गरेका हुन् । उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूलाई आभार व्यक्त गरे ।

उनले निर्वाचन सुरक्षामा विशेष योगदान गरेका प्रहरीहरूलाई पनि प्रमाण–पत्रसहित सम्मान गरे । कार्यक्रममा निर्वाचन सफल बनाउन सुरक्षाकर्मीहरूले गरेको कार्य, कर्तव्य निष्ठा, अनुशासन र समर्पणप्रति सम्मान व्यक्त गरिएको नुवाकोट प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीतर्फका एकसय ७९ जना निर्वाचन प्रहरीकोसमेत विदुरमा विहीवारै विदाई गरिएको छ ।

यस वर्ष निर्वाचनको सुरक्षामा नेपाल प्रहरी मातहत एकलाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत १५ हजार एकसय १० गरी कुल एकलाख ४९ हजार ९० जना प्रहरी परिचालन गरिएको थियो ।




















































