कलाकारिता अभिनय प्रशिक्षण

– बोर्डका अध्यक्ष डिसीले गरे समापन
लोकखवर मनोरन्जन संवाददाता
२०८३ बैशाख २४, बिहीबार २३:२५

बिदुर – प्रतिभाको पहिचान तथा सम्वद्र्धनको उद्धेश्यले चलचित्र विकास बोर्डको सहकार्यमा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा सञ्चालित अभिनय प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । तालिमको वोर्डका अध्यक्ष डिसीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरे ।

उनले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउंदै गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस प्रकारको प्रशिक्षणले कलाकारको पहिचान, प्रवद्र्धन र क्षमता अभिवृद्धिमा टेवा पुग्ने विस्वास व्यक्त गरे । सहभागीहरुलाई वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले अभिनय सम्वन्धि प्रशिक्षण दिएका हुन् । पोखराको नदीपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको सो तालिम सात दिनसम्म सन्चालन भएको थियो ।

समापन कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’, वरिष्ठ कलाकार माओत्से गुरुंङ, जिफानका सल्लाहकार कृष्णकुमार गुरुंङ, जिफानका वरिष्ठ उपाध्यक्ष अर्जुन गुरुङ, महासचिव लब्सन गुरुङलगायतले कलाकारिताको महत्वका सम्वन्धमा धाराणा राखेका थिए । निकट भविष्यमा नदीपुर पोखरामा उद्घाटन हुन लागेको हसंध्वनी; एक्टर्स स्टुडियोको विशेष सहयोगमा भएको सो प्रशिक्षणमा २१ प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यशालामा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’ले कार्यशाला सफलतापूर्वक सम्पन्न हुनु गुरुङ चलचित्र क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको बताए ।

उनले आगामी दिनमा पनि जिफानले चलचित्रकर्मीहरूको सीप विकास, प्रशिक्षण र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविस्वास, व्यावसायिक दृष्टिकोण र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताए । चालु वर्षलाई चलचित्र विकास वोर्डले दक्षता अभिवृद्धि वर्षको रुपमा लिएको छ ।


सर्वाधिक रुचाइएको