ज्येष्ठ नागरिक प्रतिष्ठान प्रवद्र्धन कार्यक्रम
बिदुर– नुवाकोटको देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई प्रवद्र्धन गर्ने अभियान सन्चालन गरिएको छ । यसका लागि सरोकारवाला निकाय क्रियाशील भएका छन् । प्रतिष्ठानलाई विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले बिदुर नगरपालिका ५ स्थित प्रतिष्ठानमा विशेष सामूहिक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । आजीवन सदस्यहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

एक दशकदेखि सन्चालित सो प्रतिष्ठानलाई प्रवद्र्धन गर्ने, सञ्चालन गर्ने, प्रतिष्ठानलाई नियमित रुपमा सञ्चालन गर्नेलगायतका सामाजिक विषयमा सरोकारवालाहरुवीच अन्र्तत्रक्रिया गरिएको हो । सहभागीहरुवाट रचनात्मक सुझावसमेत सङ्कलन गरिएको छ । सहभागीहरुले मुठीदानको कार्यक्रम पनि अगाडि ल्याएका छन् । सोही कार्यक्रममा प्रतिष्ठानको आजीवन सदस्य बनेका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

आजीवन सदस्यहरु रामप्रसाद भण्डारी, उपेन्द्रप्रसाद अधिकारी, छत्रबहादुर थापा, प्रकाश न्यौपाने, प्रवचन थापा, कृष्णप्रसाद पुडासैनी, बिमला अधिकारी नेपाललाई सम्मान पत्र प्रदान गरिएको छ । यसका साथै लिखु गापा १ की सानुमैया राजभण्डारीले सो प्रतिष्ठानको अक्षयकोष वृद्धि र आश्रममा रहेका बृद्ध बाआमाहरूको आवश्यक खाद्यान्न लत्ता कपडा लगायतका प्रतिष्ठानमा आवश्यक सामग्रीका लागि नगद १५ हजार रुपैया प्रदान गरी उक्त आजीवन सदस्यता ग्रहण गरेकी छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, बिदुर नपाकी उपमेयर प्रभा वोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, अन्य जनप्रतिनिधि, समाजसेवी, प्रतिष्ठानका आजीवन सदस्यहरू, सहयोगी, दाताहरू, शिक्षाप्रेमी, राजनीतिज्ञ, बुद्धिजीवीलगायतले प्रतिष्ठानलाई राष्ट्रियस्तरको रुपमा प्रवद्र्धन गरिने प्रतिवद्धता जनाएका छन् । यसैवीच, नुवाकोटको पिपलटारका सामाजिक अगुवा तथा बिदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपानले प्रतिष्ठानलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।

प्रतिष्ठानका सदस्यसममेत रहेका न्यौपानेले व्यक्तिगत रुपमा नगद ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् । वडाध्यक्ष न्यौपानेले व्यक्तिगत रुपमा आफ्नो तलवभत्तावापत प्राप्त रकम आर्थिक सहयोग गरेका हुन् । देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले उक्त रकम प्रतिष्ठानको प्रवद्र्धनका लागि खर्च गर्ने ज्येष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

























































