साततले दरवार परिसरको सडक स्तरोन्नती

– गुणस्तरियताको निर्देशन
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ २, शनिबार २३:५७

बिदुर – नुवाकोटको प्रसिद्ध साततले दरबार परिसरको सडक स्तरोन्नती गरिएको छ । यसवाट धार्मिक, ऐतिहासिक सम्पदाको संरक्षणमा मद्धत पुगेको छ । बिदुर नगरपालिका २ स्थित साततले दरबार परिसरसहित दरबार क्षेत्रका विभिन्न स्थानका साघुँरा र जीर्ण रहेका सडकको स्तरोन्नती एंव सुदृढिकरण कार्य गरिएको छ ।

उक्त कार्यको मेयर राजन श्रेष्ठसहितको प्राविधिक टोलीबाट स्थलगत अवलोकन एंव निरीक्षण गरिएको छ । चिनियाँ पक्ष (चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज) मार्फत नुवाकोट दरबार क्षेत्रको विभिन्न तीन स्थानमा कुल तीन करोड रुपैया बढी लागतमा सडकको स्तरोन्नतीको कार्य भइरहेको छ । साततले तथा तलेजु भवानीको मन्दिरसहित उक्त स्थानको धार्मिक, साँस्कृतिक तथा पुरातात्विक संरचनाको पुर्ननिर्माण गर्न आएको चिनियाँ पक्षलाई विदुर नपाका मेयर राजन श्रेष्ठको विशेष आग्रहमा गर्न लगाइएको सडक स्तरोन्नतीले विभिन्न सम्पदाको संरक्षणका लागि मद्धत पुगेको छ ।

सोही कार्यलाई सहज रुपमा अघि बढाउन स्थानीयबासीसंग आवश्यक सहजिकरण गर्दै चिनियाँ पक्षलाई साततले दरबार, तलेजु भवानीको मन्दिरसहितको संरचनाको निर्माण र थप अन्य कार्यमा समेत योगदान गर्न आवश्यक समन्वय भइरहेको मेयर श्रेष्ठले वताए । यसका साथै, नुवाकोटको विदुर नपा–२ मा रहेका धार्मिक एंव पुरातात्विक सम्पदा मालिका थान परिसरमा फाल्चा निर्माण गरिने भएको छ ।

यसका लागि मेयर राजन श्रेष्ठसहित जनप्रतिनिधि, स्थानीयबासीबाट स्थलगत अवलोकन एंव निरीक्षण गरिएको छ । नुवाकोट टाकुरोमा रहेको मालिका थानको ऐतिहासिक महत्वलाई प्रचारप्रसारमा सहयोग गर्ने उद्देष्यले चालु आर्थिक वर्षभित्रै कुल १० लाख रुपैयाको लागतमा परम्परागत मौलिकपन झल्कने फाल्चा निर्माण गर्न लागिएको हो । आगामी वर्ष उक्त ऐतिहासिक स्थलमा जीर्ण भई लोप हुने अबस्थामा रहेको गढी (किल्ला)को पुर्ननिर्माण गर्ने लक्ष्य रहेको मेयर श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको